Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ११ मंगलबार ०७:४२:००
Read Time : > 1 मिनेट
सेयर बजार

विश्व सेयर बजार खुलै, तर नेप्से बन्द अनलाइनमा जाने उत्तम विकल्प 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ११ मंगलबार ०७:४२:००

संसारमै त्रास फैलाएको कोरोनाले विश्वका सबै सेयर बजार बन्द नभए पनि नेपाली सेयर बजार भने सोमबारदेखि पाँच दिन बन्द भएको छ । कोरोनाबाट अति प्रभावित चीन, इटाली, दक्षिण कोरियालगायत मुलुकको सेयर बजार अहिलेसम्म पनि बन्द गरिएको छैन । भाइरसको संक्रमण फैलिएको अवस्थामा फिलिपिन्स स्टक एक्सचेन्जले अवधि घटाएर भए पनि कारोबार गरेको छ । त्यस्तै, नेपालको छिमेकी सेयर बजार भारतको एनएसई निफ्टी र बिएसई सेन्सेक्स, चीनको सांघाई स्टक एक्सचेन्जमा पनि कारोबार भइरहेको छ । अमेरिकको डाउजोन्स, सिंगापुर स्टक एक्सचेन्ज, साउथ कोरियाको स्टकमार्केट, युरोप स्टक एक्सचेन्ज र जापानको टोकियो स्टक एक्सचेन्जमा कारोबार भइरहेको छ । 

श्रीलंंकाको कोलम्बो स्टक एक्सचेन्जले कर्फ्यु लागेपछि २३ र २४ मार्चमा कर्मचारी कार्यालय आउन नसकेका कारण सेयर कारोबार बन्द गरेको छ । यीबाहेक सबै देशका स्टक एक्सचेन्ज खुलेका छन् । 

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक सबै सेवा बन्द रहने घोषणा गरेका थिए । सरकारको यो निर्णयसँगै आइतबार नेप्सेले सेयर कारोबार गराउँछ कि गराउँदैन भन्नेमा बहस चलेको थियो । 

आइतबार ब्रोकर कार्यालय बन्द हुँदा अनलाइन प्रणालीबाट सेयर कारोबार भएको थियो । तर, पाँचवटै लगानीकर्ता संघका पदाधिकारीले सबै लगानीकर्ताले अनलाइन प्रयोग नगरेका कारण बजारमा चलखेल हुन सक्ने भन्दै नेप्सेमा कारोबार बन्द गर्न माग गरेका थिए । केही लगानीकर्ताले भने सेयर बजार जोखिम लिन सक्नेहरूका लागि भएकाले जोखिम बहन गर्नका लागि भए पनि कारोबार बन्द गर्न नहुने बताएका छन् । 

संयुक्त लगानीकर्ता संघ सेयर बजार अत्यावश्यक सेवामा नपरेका कारण पूर्ण रूपमा बन्द गर्न अर्थ मन्त्रालयसम्म पुगेका थिए । नेप्से र नेपाल धितोपत्र बोर्डलाई अर्थ मन्त्रायलले सेयर बजार खुलाउने कि बन्द गर्ने विषयमा छलफल गर्न बोलाएको थियो । छलफलपछि नेपाल धितोपत्र बोर्डले कोरोनाको त्रासमा लगानीकर्ता तथा सदस्य दलालको धितोपत्र कारोबारमा सहभागिता घटेपछि जोखिमलाई न्यूनीकरण गर्न कारोबार बन्द गरेको विज्ञप्ति जारी गरेको हो । 

धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९० मा बोर्डको विशेष अधिकारअन्तर्गत लगानीकर्ताको हितलाई ध्यानमा राखी बोर्डले धितोपत्र बजारसँग परामर्श गरी धितोपत्र बजार बन्द गर्न सक्ने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ । नेपाल धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरीले नेपालको बजार अझै पनि पूर्ण अनलाइन नभइसकेको कारण पाँच दिन बन्द गरेको बताए । उनका अनुसार बोर्डको ऐनअनुसार पनि पाँच दिन बन्द गर्न सकिन्छ । उनले भने, ‘विदेशमा सबै अनलाइन कारोबार हुने भएकाले बजार खुलेको हो । हाम्रो बजारमा सेयर सेटलमेन्ट र राफसाफको काम अनलाइनबाट भए पनि खरिदका लागि पूर्ण अनलाइन छैन ।’ 

तर, अहिले सेयर बजारलाई पूर्ण अनलाइन कारोबार बनाउने उपयुक्त अवसर नेप्सेसँग रहेको सेयर लगानीकर्ता बताउँछन् । अनलाइनबाट कारोबार हुने हो भने धेरैजनाले यो सुविधा लिने थिए र अनलाइन प्रणालीबाट कारोबार पनि बढ्ने थियो । नेप्सेका सिइओ चन्द्रसिंह साउदले भने, ‘नेप्सेमा कारोबार हुने सेयर भनेको नागरिकको सम्पत्ति हो, एक सातामै कोरोना संक्रमणको सम्भावना नसकिन पनि सक्छ, विकल्प अपनाएर नागरिकको सम्पत्ति बन्धक नहुने तथा सम्भावित कोरोना महामारीको संक्रमणबाट पनि जोगिने उपायमा छलफल गरिरहेका छौं ।’