मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ चैत १० सोमबार १३:०६:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

कोरोना भाइरसविरुद्ध ७० किसिमका औषधि परीक्षण हुँदै

मलेरियाको उपचारमा प्रयोग हुने क्लोरोक्वाइन पनि प्रभावकारी

Read Time : > 1 मिनेट
२०७६ चैत १० सोमबार १३:०६:००

कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने करिब ७० किसिमका औषधि वैज्ञानिकले छुट्याएका छन् । आइतबार राति एक अनुसन्धानकर्ता टोलीले ती औषधि सार्वजनिक गरेका हुन् ।

पहिलादेखि नै अन्य रोगहरूविरुद्ध प्रयोग हुँदै आएका केही औषधि पनि कोभिड–१९ उपचारमा प्रभावकारी हुने भन्दै परीक्षणका लागि छुट्याइएको छ । यसअन्तर्गत मलेरियाको उपचारमा प्रयोग हुँदै आएको क्लोरोक्वाइन पनि राखिएको छ।

कोरोना भाइरसको जिनमा अध्ययन गरिरहेका सयाैँ अनुसन्धानकर्ताहरूको टोलीले ७० किसिमका औषधिको लिस्ट तयार पारेका हाे। यो अध्ययन बायोआरएक्सआइभीमा प्रकाशित भएको छ।

फोक्सोमा संक्रमण गराउन कोरोना भाइरसले फोक्सोभित्रका कोषमा आफ्नो जिन प्रवेश गराउँछ। ती जिनले कोरोना भाइरसकै गुण बोकेका हुन्छन्। त्यसपछि कोषले ‘भाइरल प्रोटिन’को उत्पादन गर्न थाल्छ। भाइरल प्रोटिनले लाखौँ भाइरस उत्पादन हुन मद्दत गर्छ।

प्रकाशित अध्ययनमा वैज्ञानिकहरूले २६ कोरोना भाइरसबाट २९ वटा जिनको अध्ययन गरेका छन् । जुन जिन भाइरल प्रोटिनको उत्पादनमा प्रयोग हुन्छ । कोरोना भाइरसले मानव शरीरमा पाइने तीन सय ३२ प्रोटिनलाई लक्षित गरेको अध्ययनले देखाएको छ।

केही भाइरल प्रोटिन (भाइरसको प्रोटिन अथवा भाइरस) ले मानव शरिरको एउटा प्रोटिनलाई मात्रै हानि गर्छ भने अन्य धेरै भाइरल प्रोटिनले मानव शरीरका दर्जनौँ प्रोटिनलाई क्षति गर्छ । तर, कोरोना भाइरस दर्जनभन्दा पनि बढी प्रोटिनमा असर गरेको पाइएको छ।

भाइरल प्रोटिन मानव शरीरको प्रोटिनमा टाँसिएर त्यहाँबाट थप लाखौँ भाइरस उत्पादन गर्छ। अनुसन्धानकर्ता टोलीले भाइरस प्रवेश गर्ने त्यहीँ प्रोटिनमा टाँसिने औषधिको खोजी गरेका हुन्।

अन्ततः खाद्य र औषधि प्रशासनमार्फत अनुमोदित भएका २४ किसिमका औषधि वैज्ञानिकहरूले पत्ता लगाएका हुन् । ती औषधिमा क्यान्सर, पार्किन्सन र हाइपरट्यान्सको उपचारका लागि प्रयोग गरिने औषधिसमेत रहेका छन्। 

मलेरियाको उपचारमा प्रयोग हुने क्लोरोक्वाइनको प्रभावकारिता पनि राम्रो हुन सक्ने अनुसन्धानकर्ताको निष्कर्ष छ । क्लोरोक्वाइनले मलेरिया रोग लाउने एक कोषीय परजीवीलाई नष्ट गर्छ।

भाइरसले मानव शरीरमा पाइने ‘सिग्मा–१ रिसेप्टर’ प्रोटिनलाई पनि लक्षित गर्छ । क्लोरोक्वाइन मानव शरीरको ‘सिग्मा–१ रिसेप्टर’ प्रोटिनमा नै टाँसिने औषधि हो। त्यसकारण यो औषधि प्रभावकारी हुन सक्ने अनुसन्धानकर्ताले जनाएका हुन्।

पछिल्लो हप्ता क्लोरोक्वाइनको प्रभावकारिताबारे समाचार प्रकाशन हुँदै आइरहेका थिए। यसले केही सम्भावना बोकेको देखिएको छ। प्रभावकारी देखिएका औषधिहरु पूर्ण सुरक्षित रूपमा परीक्षणको अवस्थामा छन् ।
-एजेन्सी