१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १० सोमबार ११:३९:००
Read Time : > 1 मिनेट
सेयर बजार

सेयर कारोबार बन्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १० सोमबार ११:३९:००

कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगिन धितोपत्र बजार सोमबारदेखि बन्द हुने भएको छ । धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाका अनुसार ५ कारोबार दिन पूर्ण रूपमा बन्द हुनेछ । 

शेयर कारोबार आइतबारदेखि नै बन्द गर्ने भनिए पनि नेप्सेले बजार सुचारु गरेको थियो । आइतबारको कारोबारमा धितोपत्र बजारको सूचक नेप्से १८ दशमलव २० अंकले घटेको छ । पाँच घन्टा भएको कारोबारमा खरिदकर्ता तथा विक्रेताको चाप एकदमै न्यून देखिन्थ्यो । सेयर ब्रोकर संघले भने आइतबार बन्द गरिने भनिए पनि कारोबार भएकामा आपत्ति जनाएको छ । त्यसैगरी संयुक्त लगानीकर्ता संघ पनि भिड जम्मा हुने गरी सेयर करोबार खुला गरेकामा नेप्सेसँग रुष्ट भएको छ । नेप्सेले कारोना भाइरस संक्रमणप्रति संवेदनशीलता नदेखाएकोप्रति ती संघहरूको आपत्ति छ । 

यता, नेप्सले भने सरकारले बन्द गर्न स्पष्ट निर्देशन नदिएकाले कारोबार खुला गरेको बताएको छ । ‘धितोपत्र बोर्डले सेयर बजार बन्द गर्न निर्देशन दिएको छैन,’ नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्याकारी अधिकृत (सिइओ) चन्द्र सिंह साउदले भने, ‘बन्द गरेको भए पनि किन बन्द गरेको भनेर प्रश्न आउँथ्यो ।’ 

बोर्डको सञ्चालक समिति र नेप्सेको सञ्चालक समितिको बैठकले धितोपत्रको नियमावलीमा भएको व्यवस्थाअनुसार कारोबार सुचारु गर्ने निर्णय गरेको साउदले जानकारी दिए । बोर्डको धितोपत्र सूचीकरण तथा कारोबार नियमावलीको दफा २१ मा ‘प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबुबाहिरको परिस्थिति आइपरे धितोपत्र बजारलाई बोर्डले जानकारी गराई कारोबार प्रणालीको सञ्चालन निश्चित समयका लागि बन्द गर्ने’ उल्लेख छ । 
 
लगानीकर्ता र नेप्सेबीच चर्काचर्की
कारोबार सुचारु गरेको विषयमा लगानीकर्ता र नेप्सेबीच चर्काचर्की भएको थियो । ब्रोकर संघले आइतबार बिहान विज्ञप्ति निकाल्दै कारोबार नहुने जानकारी गराएको थियो । तर, नेप्से कारोबार सुचारु गरेपछि लगानीकर्ता र नेप्सेका पदाधिकारीबीच विवाद भएको हो । त्यसपछि अर्थ मन्त्रालयले नेप्से र धितोपत्र बोर्डलाई बोलाएको थियो । 

अर्थमन्त्री डा. युवराज खतिवडाले सेयरबजार सुचारु गर्ने÷नगर्ने निर्णय लिन बोर्डलाई निर्देशन दिएका छन् ।