मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
उज्वल काफ्ले काठमाडाैं
२०७६ चैत १० सोमबार १०:००:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

कोरोना सतर्कता : भिडभाड घटाउँदै अस्पताल

Read Time : > 1 मिनेट
२०७६ चैत १० सोमबार १०:००:००

सधैँ भिडभाडयुक्त रहने वीर अस्पतालको गेटबाट भित्र प्रवेश गर्दा भित्ताहरूमा यत्रतत्र कोभिड–१९बारे जानकारीयुक्त पम्प्लेट टाँसिएको देखिन्छ । अस्पताल परिसरमा नेपाली सेनाका जवान र निलो गाउनमा नर्सहरू ‘थर्मल गन’ हातमा लिएर बिरामी र आफन्तको ज्वरो नाप्न व्यस्त देखिन्छन् । अस्पताल परिसरमै रुघाखोकी र ज्वरो परीक्षणका लागि अलग्गै कक्ष बनाइएको छ । अस्पताल प्रवेश गर्ने र निस्किने गेटहरूमा कोरोना भाइरसविरुद्धको तयारी राम्रै देखिन्छ ।

बहिरंग विभाग (ओपिडी)तर्फ पनि अस्पतालले ज्वरो र रुघाखोकी परीक्षणका लागि अलग्गै कक्ष बनाएको छ । ‘सामान्य र नियमित जाँच तथा तत्काल गरिहाल्नु नपर्ने प्रकृतिका अप्रेसन पछाडि सारिएको छ,’ अस्पतालका निर्देशक केदारप्रसाद सेन्चुरी भन्छन्, ‘अत्यावश्यक अवस्था र कोभिड-१९ को शंका लागेमा सुरक्षित रूपमा अस्पतालसम्म आउन आग्रह गरेका छौँ ।’

अस्पतालका चिकित्सक, नर्स र कर्मचारीका लागि मास्क र सेनेटाइजर व्यवस्थापन गरिएको छ । तर, अझै आवश्यक मात्रामा यस्ता स्वास्थ्य सामग्रीहरू वितरण गर्न नसकिएको डा. सेन्चुरी स्वीकार्छन् । ‘हालसम्म कोभिड–१९ का बिरामी देखिएका छैनन्,’ उनी भन्छन्, ‘तर, पूर्वतयारीमा सचेत भएर लागिपरेका छौँ ।’ वीर अस्पतालसँगै रहेको राष्ट्रिय ट्रमा सेन्टरको दृश्य भने केही फरक छ । अस्पताल व्यवस्थापनले प्रवेश गेटमै सेनेटाइजर र साबुनसहित धारा राखेको छ । तर, अस्पताल आउने बिरामी र आफन्तलाई तिनको प्रयोगका लागि आग्रह गर्ने कुनै कर्मचारी तैनाथ छैनन् । ट्रमा सेन्टरमा ‘थर्मल गन’को प्रयोग देखिँदैन । जबकि, ट्रमामा पनि वीर अस्पतालजस्तै सर्वसाधारण र बिरामीको घुइँचो देखिन्छ ।

चिकित्सक, नर्स र कर्मचारीका लागि भने मास्क र सेनेटाइजर उपलब्ध छन् । ट्रमा सेन्टरका आपतकालीन व्यवस्थापन समिति सचिव डा. सिद्धार्थ ढुंगानाका अनुसार आइतबारदेखि पाँचौँ तला, आइसियू र आकस्मिककक्षमा आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको छ । ‘संक्रमण देखिएमा बिरामीलाई आइसोलेसन वार्डमा राखिनेछ,’ डा. ढुंगाना भन्छन् । उनका अनुसार कोरोनाको शंका भएका बिरामीलाई आइसोलेसनकक्षमा ‘स्क्रिनिङ’ गरी तत्काल वीर अस्पताल पठाउने तयारी छ । पछिल्ला दिनमा दैनिक ट्रमा सेन्टर आउने बिरामी संख्या आधा कम भएको डा. ढुंगाना बताउँछन् । उनी भन्छन्, ‘दैनिक तीन सय हाराहारी बिरामी आउँथे, अहिले त्यो संख्या करिब डेढ सय मात्र छ ।’

पाटन अस्पतालको मुख्य गेटबाट प्रवेश गर्दा पनि कोभिड–१९बारे सचेतना जगाउने पर्चा, पम्प्लेट देखिन्छन् । अस्पताल परिसरमा साबुनपानीले हात धुने व्यवस्था गरिएको छ । हात नधोई प्रवेश गर्न खोज्नेहरूलाई अस्पतालका गार्डले प्रवेश दिँदैनन् । ‘कोभिड–१९ संक्रमणको शंका लागेमा तत्काल आइसोलेसनमा राखेर टेकु पठाउने तयारी गरेका छौँ,’ अस्पतालका निर्देशक विष्णुप्रसाद शर्मा भन्छन् । उनका अनुसार अस्पतालका चिकित्सक, नर्स र कर्मचारीलाई कोरोना संक्रमित बिरामी देखिए कसरी ‘ह्यान्डिल’ गर्ने भन्ने तालिम दिइसकिएको छ । चिकित्सक, नर्स र कर्मचारीलाई नियमित पन्जा, मास्क वितरण गर्ने गरिएको छ । बजारमा डिस्पोजेबल मास्क पाउन छाडेपछि अस्पताल आफैँले कपडाको मास्क तयार पारेर वितरण गर्दै आएको छ । कपडाको मास्क पनि रिसाइकल गरेर पुनः प्रयोग गर्ने गरिएको शर्मा बताउँछन् । तर, संवेदनशील इलाकामा भने सर्जिकल मास्क नै प्रयोग भइरहेको छ । उनका अनुसार अस्पतालले हालसम्म पाँचवटा आइसोलेसन वार्ड तयार पारेको छ ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले अत्यावश्यक बिरामीको जाँच र उपचारलाई मुख्य प्राथमिकता दिएको छ । बहिरंग विभाग (ओपिडी)मा पनि अत्यावश्यक बिरामीलाई मात्र जाँच्ने गरिएको छ । ‘सामान्य बिरामीलाई हेरेका छैनौँ,’ अस्पतालका निर्देशक प्रेमकृष्ण खड्का भन्छन् । सोही कारण अस्पतालमा भिडभाड घटेको उनको भनाइ छ । कोभिड–१९का बिरामी देखिइहाले उनीहरूलाई सम्हाल्ने तरिकाबारे चिकित्सक र नर्सहरूलाई दैनिक तालिम दिइने गरेको खड्का बताउँछन् । उनका अनुसार अस्पताल परिसरमा ठाउँ–ठाउँमा सेनेटाइजर राखिएको छ । र, हात धुनका लागि पानीको व्यवस्था मिलाउने सम्बन्धमा छलफल भइरहेको छ । तर, पानी अभावका कारण तत्काल व्यवस्था मिलाउन समस्या भएको उनको भनाइ छ ।