१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ चैत ९ आइतबार १५:५४:००
Read Time : > 1 मिनेट
ब्लग

बेलायत : ज्येष्ठ नेपाली नागरिक जोखिममा छन् 

Read Time : > 1 मिनेट
२०७६ चैत ९ आइतबार १५:५४:००

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म १३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । चीन, दक्षिण कोरिया, इरान, इटाली, स्पेन, फ्रान्स, बेलायत, पोर्चुगल, अमेरिकालगायतका देश धेरै प्रभावित बनेका छन् । कुवेत, माल्दिभ्स, कतारलगायतका मुलुक पनि कोरोनाबाट प्रभावित बनेका छन् । यी देशमा लाखौँ नेपाली नागरिक छन्, जो यतिवेला कोरोना संक्रमणको त्रासमा छन् । त्यहाँ रहेका नेपालीको अवस्था कस्तो छ ? पूरै देश र सहरले यो विपतकाे सामना कसरी गरिरहेका छन् ? नेपालीले के–कस्ता समस्या व्यहोरिरहेका छन् र नेपाल सरकारसँग उनीहरूको अपेक्षा के छ ? यी विषयमा कोरोना प्रभावित देशमा रहेका नेपाली नागरिकले नयाँ पत्रिकाकर्मी दीपक अधिकारीसँग आफ्नो सन्देश सुनाएका छन् ।
____________________________

यहाँ सबै त्रासमा छन् । नेपालीहरू अलि बढी नै चिन्तित देखिन्छन् । नेपालीहरूको ठूलो संख्या ब्रिटिस आर्मीबाट रिटायर्ड भएकाको छ । यहाँ रहेका तीन लाख नेपालीमध्ये ६० प्रतिशत ६५ वर्षमाथिका छन् । त्यसैले कोरोना संक्रमणको जोखिम बढी देखिन्छ । हाम्रो स्वास्थ्य अवस्था पनि ब्रिटिस नागरिकको भन्दा कमजोर छ । हामी नेपाली सरकारका सुझाब पूर्ण रूपमा पालना गर्दैनौँ । 

सरकारले ७० भन्दा माथिका नागरिकलाई बाहिर नजान आह्वान गरेको छ । २० तारिखदेखि सामाजिक गतिविधि बन्द भएका छन् । रेस्टुरेन्ट, पब बन्द छन् । यहाँ, प्रोफेसनल काम गर्नेहरू कम छन् । म दुई सातादेखि घरबाटै काम गरिरहेको छु । अझै दुई महिना काम गर्ने योजना छ । तर, धेरै नेपाली रेस्टुरेन्ट व्यवसाय र केयर वर्करका रूपमा कार्यरत छन् । रेस्टुरेन्ट बन्द भए पनि केयर वर्करले बिदा पाउने कुरा भएन । त्यसैले उनीहरू संक्रमणको जोखिममा छन् । 

पूरै लन्डन लक्ड डाउन छैन । तर, पार्कमा तीनजना पनि जम्मा हुन निषेध गरिएको छ । यहाँ रहेका धेरै नेपाली ज्येष्ठ नागरिकहरू १५-२० जनाको समूह बनाएर पार्कमा जम्मा हुने गर्थे । अहिले घरमै बस्नु परेकाले समय बिताउन गाह्रो परेको छ । तैपनि नेपाल फर्कने चाहना कसैमा देखिँदैन । नेपालमा कोरोना फैलिँदैन भन्ने विश्वास कसैलाई छैन । फैलियो भने उपचार पाइँदैन, बरु यहाँ उपचारको सुविधा छ । स्वास्थ्य बिमा छ । उपचार निःशुल्क छ । 

रेस्टुरेन्ट व्यवसाय चौपट भएको छ । जागिर गुमाउनेहरू धेरै छन् । रेस्टुरेन्ट, पब कम्तीमा ६ महिना बन्द हुन सक्छन् भनिएको छ । सरकारले जागिर गुमाउने र साना रेस्टुरेन्ट व्यवसायीलाई तीन महिनाका लागि २५ हजार पाउन्ड क्षतिपूर्तिको घोषणा गरेको छ । त्यसैले तीन महिनासम्म त कसैलाई पनि समस्या नहोला । 

त्यसपछि पनि समस्या लम्बियो भने ठूलो असर पर्नेछ । सुपर मार्केटमा खाद्यान्नको अभाव हुन थालेको छ । खाद्यान्नका स्टोर खाली भइसकेका छन् । विशेषगरी, नेपालीहरूको बाक्लो बसोवास रहेको स्थानका खाद्यान्न स्टोरमा चामल, दाल, नुनको अभाव छ । यस्तो त्रासको अवस्थामा दूतावासले अभिभावकीय भूमिका निभाउन सकेको छैन । 

 

नेपाल सरकारले जारी गरेका सूचना सम्प्रेषण गर्नेबाहेक यहाँको दूतावासले अरू केही गरेको छैन । आफ्ना नागरिकलाई सुविधा दिन यहाँको सरकारले ब्याजदर घटाएको छ । बैंकले पनि तीन महिना किस्ता तिर्न नपर्ने सहुलियत दिएका छन् । संकट लम्बियो भने यहाँको किस्ता तिर्न नेपालका घरखेत बेचेर गैरकानुनी बाटोबाट पैसा भित्र्याउनुपर्ने अवस्था आउनेछ ।