मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ चैत ९ आइतबार ०६:३६:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

के छ खबर परदेशीको ?

Read Time : > 3 मिनेट
२०७६ चैत ९ आइतबार ०६:३६:००

भारतमा १५ लाख र तेस्रो मुलुकमा ३५ लाख नेपाली छन्, परदेसिएका नेपाली उच्च शिक्षा र रोजगारीमा सक्रिय मात्र छैनन्, वर्षमा नौ खर्ब रेमिट्यान्स पठाएर जन्मभूमिको अर्थतन्त्र धानेका छन्, यो अभूतपूर्व विपत्मा तिनको अवस्था के छ ? देशले सोध्ने वेला भएको छ

विश्वका १८६ देश पुगिसकेको कोरोना भाइरसले विश्वलाई चिन्तित बनाएको छ । नेपालमा अहिलेसम्म यो रोगको संक्रमण देखिएको छैन । तर, विदेशमा संक्रमण फैलिँदा त्यहाँ रहेका नेपालीको स्वास्थ्यको विषयमा देशमा चिन्ता बढेको छ । परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गैरआवासीय नेपाली संघ (एनआरएनए)को तथ्यांकअनुसार भारतमा १५ लाख र तेस्रो मुलुकमा ३५ लाख नेपाली छन् । परदेसिएका नेपाली उच्च शिक्षा र रोजगारीमा सक्रिय मात्र छैनन्, वर्षमा नौ खर्ब रेमिट्यान्स पठाएर जन्मभूमिको अर्थतन्त्र धानेका छन् । गत आर्थिक वर्ष उनीहरूले आठ खर्ब ७९ अर्ब रेमिट्यान्स पठाएका थिए । यो अभूतपूर्व विपत्मा तिनको अवस्था के छ ? देशले सोध्ने वेला भएको छ ।  

विदेशमा हालसम्म चार नेपालीलाई कोरोना पोजेटिभ देखिएको छ । अस्ट्रेलिया र बहराइनमा एक–एक तथा संयुक्त अरब इमिरेट्स (युएई)मा दुईजनामा देखिएको हो । परराष्ट्र मन्त्रालयका अनुसार अस्ट्रेलियामा संक्रमित भएका उपचारपछि डिस्चार्ज भइसकेका छन् । बहराइनमा संक्रमितलाई त्यहाँको सरकारले आइसोलेसनमा राखेर उपचार गरेको छ । युएईमा पनि २० र २३ वर्षका दुई नेपाली युवाको उपचार भइरहेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले नयाँ पत्रिकासँग भने, ‘यीबाहेक अरू देशमा नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको जानकारी नेपाल सरकारलाई प्राप्त भएको छैन ।’ 

पछिल्ला दिन कोरोना संक्रमणले युरोपको इटाली सबैभन्दा बढी प्रभावित भएको छ । इटालीमा करिब पाँच हजार नेपाली छन् । तर, त्यहाँ नेपाली सुरक्षित रहेको पौड्यालले बताए । एनआरएनएका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हेमन्त दवाडीका अनुसार इटालीको उत्तरी भेगका मिलान र लम्बाडी सहरमा नेपालीको बसोवास छ । कोरोना भाइरसको संक्रमण पनि त्यही क्षेत्रमा बढी देखिएको छ । अधिकांश नेपाली होटेल, रेस्टुरेन्ट क्षेत्रमा कार्यरत छन् । तर, युरोपमा नेपालीको बसोवास निश्चित भेगमा मात्र सीमित नरहेको दवाडीले बताए । ‘एउटा ठाउँमा भनेर गएका नेपाली युरोपका अर्को ठाउँमा बसेर काम वा व्यापार व्यवसाय गरेका छन् । तर, जहाँ रहे पनि एनआरएनएको समन्वयमै छन्,’  उनले भने । 

बेल्जियममा पनि अहिलेसम्म नेपालीमा संक्रमण नदेखिएको रिपोर्ट छ । युरोपियन युनियन एवं बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले बेल्जियममा अहिलेसम्म नेपालीमा संक्रमण नदेखिएको बताए । ‘दूतावास नेपालीको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको पाइएको उनले बताए । परराष्ट्र मन्त्रालयको युरोप–अमेरिका डिभिजनले त्यहाँका नेपाली समुदाय र सम्बद्ध सरकारसँग समन्वय गर्न दूतावासहरूलाई निर्देशन दिएको छ ।

सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउँदै आफ्ना नागरिकलाई हाल भएकै स्थानमा रहन भनेको छ । प्रधानमन्त्री केपी ओलीले आवश्यक परे सम्बन्धित मुलुकको दूतावाससँग सम्पर्क गर्न आह्वान गरिसकेका छन् । परराष्ट्रको मध्य–पश्चिम एसिया तथा अफ्रिका डिभिजनसम्बद्ध अधिकारीका अनुसार भिसाको म्याद सकिएर अप्ठ्यारोमा परेको गुनासो आएको छैन । 

खाडी मुलुकमा कार्यरत नेपालीलाई सम्बन्धित कम्पनीले नै सरकारी नीति कार्यान्वयन गर्न सहयोग गरिरहेका छन् । समस्यामा देखिएमा नेपालीलाई सम्बन्धित सरकारसँग समन्वय गरेर सहयोग गर्न परराष्ट्र मन्त्रालयले दूतावासहरूलाई निर्देशन दिएको छ । उडान प्रतिबन्ध लागेको अवस्थामा नेपालीले सम्बन्धित देशमा सुरक्षित रूपमा बस्नुपर्नेबाहेक अरू विकल्प नभएको परराष्ट्रका अधिकारीको भनाइ छ । 

अमेरिका र अस्ट्रेलियामा नेपाली विद्यार्थी समस्यामा पर्न सक्ने सरकारको बुझाइ छ । भिसा अवधि सकिएकाको हकमा समस्या नपर्ने गरी व्यवस्थापन गर्न लागेको अस्ट्रेलियाको क्यानबेरास्थित नेपाली दूतावासका उपनियोग प्रमुख दुर्पदा सापकोटाले बताइन् । ‘हामीले सम्बन्धित सरकारी अधिकारीहरूसँग कुराकानी गरेका छौँ । उनीहरूले भिसा अवधि सकिएकाका लागि पनि अवधि लम्ब्याइदिन्छौँ भनेर आश्वस्त पारेका छन् । नेपालीलाई समस्या हुँदैन भन्नेमा विश्वस्त छौँ,’ सापकोटाले भनिन्, ‘नेपाली विद्यार्थीले स्वदेश फर्किने इच्छा व्यक्त गर्दै दूतावासमा सम्पर्क गरेको तर त्यो संख्या न्यून रहेको पनि सापकोटाको भनाइ छ । उनले थपिन्, ‘अहिलेसम्म यहाँको नेपाली समुदाय सुरक्षित छ ।’ 

वैदेशिक रोजगार विभागका अनुसार चीन, इटाली, जापान, दक्षिण कोरिया, फ्रान्सका लागि पछिल्लो चार वर्षमा १७ हजार नेपालीले श्रम स्वीकृति लिएका छन् । चीनका लागि एक हजार एक सय ६६, दक्षिण कोरियाका लागि चार सय १२, इरानका लागि २३ र इटालीका लागि एक सय १८ ले श्रम स्वीकृति लिएका छन् । त्यस्तै, जापानका लागि ११ हजार एक सय दुई, फ्रान्स ९०, अमेरिका एक हजार चार सय ४९, हङकङ आठ सय १७, थाइल्यान्ड एक सय ३४, अस्ट्रेलिया चार सय ५१ र फिलिपिन्सका लागि १७ जनाले श्रम स्वीकृति लिएका छन् । 

कोभिड–१९ बाट शनिबार साँझसम्म विश्वभर मृत्यु हुनेको संख्या ११ हजार आठ सय नाघेको छ । कुल संक्रमित दुई लाख ८६ हजारमध्ये ९३ हजार ६ सय निको भएका छन् । वल्र्ड ओ मिटर्स डट इन्फोका अनुसार कुल संक्रमित संख्याको चार प्रतिशतको मृत्यु भएको छ, ९६ प्रतिशत निको भएका छन् । 

कहाँ कति नेपाली ?

  • जापानः १ लाख
  • दक्षिण कोरिया : ४२ हजार
  • हङकङ : १५ हजार
  • अस्ट्रेलिया : १ लाख
  • सिंगापुर : ५ हजार
  • मलेसिया : ७ लाख
  • थाइल्यान्ड : ५ हजार
  • माल्दिभ्स : ५ हजार
  • चीन : ८ हजार
  • भारत : १५ लाख
  • पाकिस्तान : २ सय
  • अफगानिस्तान : ३ हजार
  • इरान : २५ जना
  • साउदी अरेबिया : ३ लाख
  • इराक : १५ हजार
  • कतार : ३ लाख ५१ हजार
  • बहराइन : ३५ हजार
  • कुवेत : ७० हजार
  • युएई : ४ लाख
  • ओमान : १७ हजार
  • इजरायल : १२ हजार
  • इटाली : ५ हजार 
  • पोर्चुगल : १० हजार
  • स्पेन : २० हजार
  • फ्रान्स : ५ हजार
  • बेल्जियम : १० हजार
  • जर्मनी : २० हजार
  • लक्जम्वर्ग : २२ सय
  • नेदरल्यान्ड : २ हजार
  • नर्वे : १ हजार
  • स्विडेन : १ हजार
  • डेनमार्क : २५ सय
  • अस्ट्रिया : १५ सय
  • बेलायत : १ लाख ५० हजार
  • अमेरिका : २ लाख
  • क्यानडा : १५ हजार

(परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र एनआरएनएको सहयोगमा तयार तथ्यांक)

ज्याक माको सहयोग घोषणा
चीनको अलिबाबा कम्पनीका मालिक ज्याक माले नेपाल, अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, मालदिभ्स, मंगोलिया, म्यानमार, पाकिस्तान र श्रीलंकाका लागि मास्क, टेस्ट किट्स र थर्मोमिटर दिने घोषणा गरेका छन् । यी देशका लागि १८ लाख थान मास्क, दुई लाख १० हजार किट्स र ३६ हजार प्रोटेक्टिभ स्विट्स दने घोषणा शनिबार ट्विटमार्फत गरेका हुन् । उनले ट्विटरमा लेखेका छन्, ‘चाँडै नै यो वितरण सजिलो छैन, तर हामी प्रतिबद्ध छौँ ।’