१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ९ आइतबार ०६:१९:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

भारतसँगको नाका के हुन्छ ?

अर्थमन्त्री भन्छन्– चाँडै निर्णय हुन्छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ९ आइतबार ०६:१९:००

भारतसँगको सीमानाकाबाट दैनिक हजारौँ मानिसको आवत–जावत चलिरहेको छ । भारतबाट नेपाल भित्रिने बढी छन् । तर, नाकामा हेल्थ डेस्क प्रभावकारी छैनन् । संक्रमण फैलिसकेको भारतबाट भित्रिनेको नाकामा स्वास्थ्य जाँच प्रभावकारी नहुँदा नेपालमा जोखिम बढेको छ । 

नेपालले भारतसँग जोडिएको करिब १८ सय किलोमिटर सीमानाकामा आवत–जावत थप नियन्त्रित गर्ने र भारतसँग समन्वय गरेर नाका बन्द गर्नेसमेतको गृहकार्य गरेको छ । तत्काललाई भने आवत–जावतलाई सीमित नाकामा सीमित राख्न लागिएको छ । शनिबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना नियन्त्रण समन्वय समितको बैठकमा यसबारे छलफल भएको थियो । 

बैठकपछि अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भने, ‘भारतसँग हाम्रा सन्धि–सम्झौताका कारण एकपक्षीय रूपमा सीमा बन्द गर्न गाह्रो छ । हामी भारतसँग कूटनीतिक रूपमा समन्वय गरिरहेका छौँ । सीमित नाका प्रयोग गर्ने गरी नाका तोक्ने गृहकार्य गर्दै छौँ । खुला र बस्ती तथा घर जोडिएको सीमा भएका कारण पूर्ण रूपमा घोषित बन्द गर्न नसकिने तर स्वास्थ्य सुविधा स्तरोन्नति गर्दै र चरणबद्ध रूपमा नियन्त्रणका उपायसहित सीमा बन्द गर्ने तयारीबारे छलफल भएको थियो ।’ 

प्रधानमन्त्री केपी ओलीले शुक्रबार गरेको सम्बोधनमा  कडाइपूर्वक चेकजाँच गर्ने उल्लेख गरेका थिए । ‘सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्यजाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइनेछ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरूसँग आवश्यक समन्वय गरिनेछ,’ ओलीको भनाइ थियो । यसबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरबीच शुक्रबार छलफल भएको थियो । भारतले रानीगन्ज, रक्सौल, सुनौली र वनवासा नाकाबाट मात्रै आवत–जावत गर्न दिने सार्वजनिक गरेको थियो । नेपालले रुपेढिया र जोगबनी नाकालाई पनि आवत–जावत गर्न दिने गरी बाँकी सीमा बन्द गर्न सकिने धारणा भारतसँग राखेको थियो । यसबारे चाँडै निर्णय लिइने अर्थमन्त्री डा. खतिवडाले बताए ।

भारतसँग सीमानाकाबाट नेपाल आउनेको स्वास्थ्यजाँचको समन्वय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले गरेको छ । सीमानाकामा नेपाली सेनाका मात्रै ४१ स्वास्थ्य युनिट खटिएका छन् । भारत सरकारले तोकेका रानीगन्ज, रक्सौल, सुनौली र वनवासा नाकामा स्वास्थ्य मन्त्रालयले हेल्थ डेस्कको व्यवस्था गरेको छ । हरेक नाकामा तीनदेखि पाँचजनासम्म स्वास्थ्यकर्मी खटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताए । 

स्वास्थ्य निर्देशनालय, प्रदेश २ ले रक्सौल सीमानाकामा तीनदेखि पाँचजनासम्म स्वास्थ्यकर्मी खटाएको छ । कर्णालीबाहेकका प्रदेशले सीमानाकामा स्वास्थ्यकर्मी खटाएका छन् । प्रदेश ५ अन्तर्गतका कोइलावास, जमुनाहा, फुतहा जमुनी, कण्ठडपुर, सुरजपुर र मधुवनसहितका नाकामा स्वास्थ्यकर्मी खटाइएको छ । सुदूरपश्चिम प्रदेशअन्तर्गत भारतसँग जोडिएका ११ नाकामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्यजाँचको व्यवस्था गरिएको छ ।