मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
काठमाडौं नयाँ बसपार्कमा उपत्यकाबाट बाहिर जान गाडी कुर्दै यात्रुको भिड । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
२०७६ चैत ८ शनिबार ०९:३०:००
Read Time : > 2 मिनेट
अर्थ

कोरोना त्रासले सुनसान बन्दै राजधानी, तीन दिनमा तीन लाखले छाडे काठमाडौं

मानिसको बाक्लो चहलपहल हुने व्यापारिक क्षेत्र, सपिङ हल, सिनेमा हल, खुला बजार खालीजस्तै

Read Time : > 2 मिनेट
२०७६ चैत ८ शनिबार ०९:३०:००

पढाइका लागि काठमाडौं बसेकी झापाकी सपना ताजपुरिया शुक्रबार बिहानै कलंकी बसपार्कमा भेटिइन् । कोरोना भाइरसको संक्रमण रोकथाम र सतर्कताका लागि सरकारले क्याम्पसको पठनपाठन र परीक्षासमेत स्थगित गरेपछि सपना घर फर्किएकी हुन् । ‘यहाँ डेरामा एक्लै बस्नुपर्छ, उता घरबाट बाबाले यतै आइज भन्नुभयो, यहाँभन्दा उतै सुरक्षित हुन्छ भन्ने लागेर घर फर्किँदै छु,’ उनले भनिन् । सपना त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा एमएड अध्ययनरत छिन् । सपनाजस्तै, दोलखाका नरेश थापा पनि बिहीबारै घर फर्किए । काठमाडौंमा परिवारसहित बसेका उनी शिक्षण पेसा गर्छन् । तर, विद्यालय नै बन्द भएपछि उनी परिवारसहित गाउँ फर्किएका हुन् । 

सरकारले महामारीका रूपमा विश्वव्यापी फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र पूर्वसतर्कताका लागि शैक्षिक संस्था बन्द गरी भिडभाडमा नजान भनेपछि काठमाडौंमा बसेकाहरू धमाधम गाउँ फर्किन थालेका छन् । दैनिक हजारौँको संख्यामा मानिसहरू बाहिरिन थालेपछि राजधानी काठमाडौं सुनसानजस्तै बन्न थालेको छ । विद्यालय, विश्वविद्यालय, सार्वजनिक सभासम्मेलन, सिनेमा हल बन्द गर्न, २५ जनाभन्दा बढी भिडभाड नगर्न र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन सरकारले आग्रह गरेको छ । सरकारको यो आग्रहपछि काठमाडौं उपत्यकामा मानिसहरूको आवतजावत पातलिँदै गएको हो ।

काठमाडौंमा भन्दा गाउँमा सुरक्षित हुने भन्दै पढाइका लागि डेरा गरी बसेका विद्यार्थी, शिक्षण पेसासँग सम्बन्धित, विभिन्न काममा आबद्ध र साना व्यवसायीहरूसमेत धमाधम गाउँ फर्किन थालेका हुन् । ट्राफिक प्रहरीका अनुसार पछिल्ला तीन दिनमा ३ लाख २ हजार २ सय काठमाडौंबाट बाहिरिएका छन् । शुक्रबार साँझ ६ बजेसम्म ९८ हजार ५ सय १७ जना बाहिरिए । काठमाडौं भित्रिनेको संख्या १८ हजार ९ सय छ । बिहीबार १ लाख ८ हजार ४ सय ५८ राजधानीबाट बाहिरिएका थिए भने १८ हजार ५ सय ५४ जना भित्रिएका थिए । बुधबार ९५ हजार २ सय ४७ बाहिरिँदा १७ हजार ४ सय ४१ जना काठमाडौं भित्रिएका थिए । 

  • सधैँ व्यस्त हुने काठमाडौंको रत्नपार्क शुक्रबार दिउँसो सुनसान देखिएको छ । तस्बिर : संजित परियार/नयाँ पत्रिका

सहर सुनसान, बसपार्कमा घुइँचो

कोरोनाको संक्रमण फैलिन सक्ने भएकाले सरकारले २५ जनाभन्दा धेरै मानिसहरू भिडभाड नगर्न भनेको छ । तर, शुक्रबार राजधानीका बसपार्कमा सयौँ यात्रुहरू टिकटका लागि लाइनमा बसेका थिए । सार्वजनिक गाडीमा सिट नपाएर कतिपयले मुढामा बसेर यात्रा गरेका छन् । बसपार्कमा मानिसको घुइँचो भए पनि सहर भने सुनसान बनेको छ । बाक्लो चहलपहल हुने व्यापारिक क्षेत्र, सपिङ हल, सिनेमा हल, खुला बजार क्षेत्रहरू सुनसान बनेका छन् । बिहानदेखि रातिसम्म व्यस्त हुने सिभिल मल, सिटी सेन्टर, असन, लबिम मल, छाया सेन्टर, विशाल बजार, केएल टावर, वर्ल्ड ट्रेड सेन्टर, बिजी मल, कान्तिपुर मल, आइप्लेक्स मललगायत ठूला सपिङ सेन्टर र मलहरू खाली देखिएका थिए । पसलहरू खुला थिए, तर किनमेल गर्ने ग्राहकको संख्या अत्यन्तै न्यून थियो । 

खाद्यान्न, ग्यासलगायतका केही सीमित पसलबाहेक अन्य पसल सुनसान देखिए । न्युरोड, सुन्धारा, बानेश्वर, कोटेश्वर, चाबहिल, पुतलीसडक, बौद्धलगायतका व्यस्त चोकमा पनि सर्वसाधारणको उपस्थिति पातलो थियो । सर्वसाधारण घरबाहिर ननिस्किएका कारण सडक, सार्वजनिक स्थल, संघसंस्था र सरकारी कार्यालय दसैँको बिदाजस्तै देखिन्थे । ‘सडकमा निजी मात्रै होइन, सार्वजनिक सवारीसाधनको संख्या पनि घटेको छ, सधैँ भिडभाड हुने ठाउँमा पनि मानिसहरू कम देखिए,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी जीवनकुमार श्रेष्ठले भने । 

सरकारी निर्देशन टेरेनन् सार्वजनिक गाडीले 

सरकारले सिट क्षमताभन्दा बढी यात्रु नबोक्न निर्देशन गरे पनि सार्वजनिक यातायातका साधनमा यात्रुहरू कोचिएर यात्रा गर्न बाध्य भएका छन् । सडकमा सार्वजनिक सवारीसाधनको संख्या नै घटेपछि यात्रुहरू उभिएर यात्रा गर्न बाध्य बनेका हुन् । छिटपुटबाहेक सार्वजनिक गाडीमा ज्वरो नाप्ने, मास्क लगाउने र स्यानिटाइजरको समेत प्रयोग भएको छैन । सरकारले सार्वजनिक यातायातका साधन चढ्नुअघि स्यानिटाइजर अनिवार्य प्रयोग गर्न भनेको छ । तर, सरकारी निर्णय कार्यान्वयन भए नभएकोबारे अनुगमन र निरीक्षण गर्ने निकाय नै छैन । व्यवसायीले सरकारी निर्देशनपछि सडकमा यात्रुको संख्या कम भएकाले आफूहरूलाई घाटा हुने भन्दै सवारीसाधनको संख्या घटाउँदै लगेका छन् । सरकारले सार्वजनिक सवारीसाधनले दैनिक सफा गरी अनिवार्य जीवाणुरहित बनाउनुपर्नेसमेत भनेको थियो । तर, शुक्रबार गुडेका सार्वजनिक सवारीसाधनमा व्यवसायीले त्यस्तो सतर्कता अपनाएको देखिएन । माइक्रो, टेम्पोजस्ता सवारीसाधनमा यात्रुहरू खचाखच देखिन्थे ।