मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
किरण दहाल काठमाडाैं
२०७६ चैत ८ शनिबार ०८:२०:००
Read Time : > 3 मिनेट
पालिका अपडेट

प्रधानमन्त्रीको सम्बोधन  : अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने घोषणा

Read Time : > 3 मिनेट
किरण दहाल, काठमाडाैं
२०७६ चैत ८ शनिबार ०८:२०:००

आइतबारदेखि सबै अन्तर्राष्ट्रिय उडान र सोमबारदेखि लामो दूरीको सार्वजनिक यातायात बन्द गरिने

कोरोना महामारीको जोखिमबाट ढुक्क हुने अवस्था नरहेको भन्दै सरकारले थप उच्च सतर्कताका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले अन्तर्राष्ट्रिय उडान, सार्वजनिक यातायात र अत्यावश्यकबाहेकका सेवा बन्दको घोषणा गरेका हुन् । 

प्रधानमन्त्रीका अनुसार नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडान ९ देखि १८ चैतसम्मका लागि स्थगित गरिनेछन् । सीमा–नाका भने यथास्थितिमा सञ्चालन गर्दै अनिवार्य स्वास्थ्य जाँचलाई व्यवस्थित बनाउने उनले बताए । यसका लागि छिमेकी मित्रराष्ट्रसँग आवश्यक समन्वय गरिने प्रधानमन्त्रीले बताएका छन् । 

देशभित्र चल्ने लामो दूरीका सबै प्रकारका सवारीसाधनमा १० चैतदेखि सञ्चालनमा रोक लगाइएको छ । त्यस्तै, बढी भिडभाड हुने फिल्महल तथा विद्यालय र विश्वविद्यालयका पठनपाठन तथा परीक्षा स्थगित गरिएको प्रधानमन्त्रीको सम्बोधनमा छ । 

अत्यावश्यक सेवामा सञ्चार, स्वास्थ्य, खानेपानी, खाद्यान्न तथा पेट्रोलियमलगायत मालसामान ढुवानी, विद्युत्, प्रिन्ट तथा छापाखाना, होटेल तथा रेस्टुरेन्ट, फोहोर संकलन तथा ढुवानी, बैंकिङ र बिमालगायत पर्छन् । 

प्रधानमन्त्रीले सबै सरकारी कर्मचारी र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका कर्मचारीले यथावत् रूपमा आ–आफ्नो कार्यालयमा उपस्थित भई नियमित काम गर्ने पनि बताए । सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक पर्ने निजीसहित सबै प्रकारका सवारीसाधन आवश्यकताअनुसार सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवा प्रदान गर्न सम्बन्धित कर्मचारी र सेवाप्रदायकलाई प्रोत्साहित गर्ने बताए । 

सरकारले निजी क्षेत्रसमेतको सहयोगमा खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य सामग्रीको नियमित आपूर्ति हुने व्यवस्था मिलाएको प्रधानमन्त्रीको भनाइ छ । ‘तर, अप्ठ्यारो समयको फाइदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी तथा कालोबजारी गर्ने, खाद्यवस्तुमा मिसावट गर्नेजस्ता आपराधिक काममा कोही संलग्न भएको पाइएमा प्रचलित कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्ने स्पष्ट पार्छु,’ उनले भने । 

प्रधानमन्त्री ओलीले कोरोना महामारी विश्वका अधिकांश मुलुकमा पुग्दासम्म नेपालमा प्रत्यक्ष प्रभाव नदेखिनु सुखद भए पनि ढुक्क हुने अवस्था नभएको बताए । महामारीसँग जुध्न आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिंगो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ । विश्वका अधिकांश मुलुक यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन् । सुखद पक्ष, अहिलेसम्म यस संक्रमणको प्रत्यक्ष प्रभाव हाम्रो देश नेपालमा देखिएको छैन । तर, हामी पनि यस जोखिमबाट ढुक्क हुने अवस्थामा भने छैनौँ,’ प्रधानमन्त्रीले भने, ‘हामीले केही समयका लागि आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरुरी भएको छ । यसले जनजीवनमा केही असहजता ल्याउन सक्छ, हाम्रा आनीबानी र दैनिक व्यवहारलाई असर पार्न सक्छ । तर, सम्भावित संक्रमणलाई परास्त गर्न हामीसँग यसबाहेक अर्को विकल्प पनि छैन ।’

देशमा संक्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र संक्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले सुरुदेखि नै विशेष तयारी गर्दै आएको प्रधानमन्त्रीले बताए । उनले संक्रमित मुलुकबाट नेपाल आएका सबैलाई १४ दिन घरमा क्वारेन्टाइनमा बस्न आग्रह पनि गरेका छन् । ‘संक्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्न, आफ्नो परिवारलाई बचाउन र समुदायलाई संक्रमणबाट जोगाउन कम्तीमा १४ दिन घरमा क्वारेन्टाइनमा बस्नुपर्छ । सबै दिदीबहिनी तथा दाजुभाइले यस अप्ठ्यारो घडीमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु,’ प्रधानमन्त्रीले सम्बोधनमा भने ।

प्रधानमन्त्री ओलीले संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए । ‘देशभरका अस्पतालहरूबाट सेवा प्रदान गर्ने, पर्याप्त औषधि र उपकरणको प्रबन्ध गर्ने, आवश्यक जनशक्तिको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ । यस कार्यमा प्रत्यक्ष रूपमा संलग्न रहने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायलगायत जनशक्तिलाई उचित प्रोत्साहनसहित उच्च मनोबलका साथ परिचालन गर्ने व्यवस्था मिलाइएको छ,’ प्रधानमन्त्रीको भनाइ छ । 

प्रधानमन्त्री ओलीले महामारीबाट बच्न सरकारले छिमेकीसहित सबै अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गरेर अगाढि बढ्ने पनि बताएका छन् । ‘यस महामारीसँग जुध्न हाम्रा छिमेकीहरू, क्षेत्रीय मित्रहरू र अन्तर्राष्ट्रिय समुदायसँग पारस्परिक सद्भाव र सहयोगका साथ अघि बढ्न हामी प्रतिबद्ध छौँ,’ प्रधानमन्त्रीले भने । 

ओलीले विदेशमा रहेका नेपालीलाई त्यहाँस्थित नेपाली कूटनीतिक नियोगमा सम्पर्कमा बस्न आग्रह गरेका छन् । ‘मुलुकबाहिर ठूलो संख्यामा नेपाली दिदीबहिनी तथा दाजुभाइहरू हुनुहुन्छ । तपाईंहरूलाई मुलुक फर्किन केही असुविधा परेको मेरो जानकारीमा छ । यस घडीमा, नआत्तिन र चिन्तित नहुन आग्रह गर्दै आवश्यक पर्दा आपूm रहेको देशको कूटनीतिक नियोगमा सम्पर्क राख्नु हुन आग्रह गर्दछु,’ उनले भने, ‘हाम्रा नियोगहरूले तपाईंहरूका समस्या हल गर्न सक्दो सहयोग गर्ने जानकारी गराउँछु ।’

प्रधानमन्त्री ओलीले इच्छाशक्ति, उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारी रोक्न, पराजित गर्न र अघि बढ्न निर्णायक भूमिका खेल्ने विश्वास लिएका छन् । ‘मिर्गौला प्रत्यारोपण र उपचारपछिको शीघ्र स्वास्थ्यलाभमा यहाँहरूले मेरो इच्छाशक्ति र उच्च मनोबल प्रमुख कारक रहेको चर्चा गर्दै आउनुभएको मैले सुनेको छु । यस घडीमा मुलुकले हामी सबैको दृढ इच्छाशक्ति र उच्च मनोबलको माग गरेको छ । हाम्रो इच्छाशक्ति, उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न, पराजित गर्न र अघि बढ्न निर्णायक भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु,’ प्रधानमन्त्रीले भने । 

उनले कोरोना महामारीविरुद्ध खर्च गरिने कोषमा सरकारले १० करोड रुपैयाँ योगदान गर्ने घोषणा पनि गरेका छन् । ‘म अस्पतालबाट डिस्चार्ज भएलगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीको पहलमा आयोजित दक्षिण एसियाली राष्ट्रहरूका सरकार तथा राष्ट्रप्रमुखहरूको भिडियो कन्फरेन्समा मैले पनि सम्बोधन गरेको थिएँ । कोरोना भाइरस महामारीविरुद्ध खर्च गरिने भारतीय प्रधानमन्त्रीले आह्वान गर्नुभएको संयुक्त कोषमा नेपालले पनि योगदान गर्ने प्रतिबद्धता जनाएको थिएँ । सार्क राष्ट्रमा यथोचित सहयोग गर्न सकियोस् भन्ने उद्देश्यले यस कोषमा १० करोड रुपैयाँ योगदान गर्नेे जानकारी गराउँछु,’ प्रधानमन्त्रीले भने । 

प्रधानमन्त्रीले विश्वव्यापी महामारीले समग्र अर्थ–व्यवस्थामा पारेको असरका सम्बन्धमा अर्थ मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको पनि बताए । अर्थ–व्यवस्थामा परेको र पर्न सक्ने प्रभावको विश्लेषण गरी अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिटै उपयुक्त कार्यक्रम ल्याउने पनि बताए ।