मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दीपक भट्ट
२०७५ पौष ३ मंगलबार ०६:२५:००
Read Time : > 1 मिनेट
प्रदेश

गाउँपालिकाको कार्यक्रम जनप्रतिनिधिबाटै बहिष्कार

९ वटै वडाका अध्यक्ष र पालिकाका ६ सदस्य विज्ञप्ति नै निकालेर विरोधमा

Read Time : > 1 मिनेट
दीपक भट्ट
२०७५ पौष ३ मंगलबार ०६:२५:००

खाँडादेवी गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन कार्यक्रम वडाध्यक्षहरूले बहिष्कार गरेका छन् । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङको व्यवहार हुकुमी, तानाशाह र अपारदर्शी भएको भन्दै कार्यक्रम बहिष्कार गरेको उनीहरूले जनाएका छन् ।

प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिकाका सबै वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरूसमेतले बहिष्कार गरेको वडा ३ का अध्यक्ष पुष्कर कार्कीले जानकारी दिए । खाँडादेवीले १ करोड १० लाखमा नयाँ भवन बनाएको हो । 

प्रक्रिया पुर्‍याएरै काम गरेको छु : अध्यक्ष तामाङ
गाउँपालिकाका अध्यक्ष प्रेम तामाङले भने आफूले प्रक्रिया पुर्‍याएरै काम गरेको दाबी गरेका छन् । वडाध्यक्षहरूले भनेजस्तो नभई सबै प्रक्रियागत ढंगले नै काम गरेको उनको तर्क छ । उनले पदाधिकारी तथा कर्मचारी आवास निर्माणमा इन्द्रसिंह लामाको अध्यक्षतामा उपभोक्ता समिति बनाई निर्माण गरिएको दाबी गरे । यसअघि वडाले गर्नुपर्ने पाँच लाखभन्दा माथिका योजनाहरू टेन्डरबाट गर्ने आफ्नो प्रस्तावलाई अस्वीकार गरेको र त्यसैका कारणले गर्दा उनीहरू आफूहरूविरुद्ध लागेकाले कार्यक्रममा उपस्थिति नभएको हुन सक्ने तामाङले बताए ।

छुट्टै कार्यक्रम गरेर बहिष्कारबारे प्रस्टोक्ति 
वडाध्यक्ष र सदस्यहरूले विज्ञप्ति नै जारी गरेर असहमति जनाएका छन् । भवन उद्घाटन कार्यक्रममा सहभागी हुन हिँडेका मन्त्री ढुंगेललाई वडाध्यक्षहरूले पकरबासको गोगनपानीमा रोकेर आफूहरू उपस्थित हुन नसक्नुको कारणबारे जानकारी गराएका थिए । अध्यक्ष तामाङको व्यवहारमा आमूल परिर्वतन आवश्यक रहेको र सबै काम पारदर्शी हुनुपर्ने भन्दै उनीहरूले त्यसको पहल गर्न मन्त्री ढुंगेलसमक्ष आग्रह गरेको पालिकाका प्रवक्तासमेत रहेका कार्कीले बताए । 

उनले आफ्नै गाउँपालिकाको कार्यालय उद्घाटनजस्तो गरिमामय कार्यक्रमबारे आफूलाई थाहा नै नदिएको भन्दै आश्चर्य प्रकट गरे । उनले भने, ‘मन्त्री आएर उद्घाटन गर्ने कार्यक्रमको बारेमा आफूहरूलाई अध्यक्षले थाहा नदिएको र पालिकामा समेत छलफल नै नगरी कार्यक्रम गरिएकाले ९ वटै वडाका अध्यक्ष र ६ जना कार्यपालिकाका सदस्यसमेत सल्लाह गरेर कार्यक्रममा गएनौँ, तर प्रमुख अतिथिलाई भने हामी सबैले गोगनपानीमा मञ्च नै बनाएर स्वागत गरी कार्यक्रम गर्‍यौँ ।’  

अध्यक्ष तामाङले पालिकाको कार्यालयसँगै रहेको गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी आवासका लागि ९९ लाखमा निर्माण भएको भवनसमेत विनाटेन्डर र विनाउपभोक्ता समिति निर्माण गराएको उनीहरूको आरोप छ ।