Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७६ चैत ७ शुक्रबार १०:५४:००
Read Time : > 1 मिनेट
सप्तरंग

कला क्षेत्रमा कोरोना सतर्कता

Read Time : > 1 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७६ चैत ७ शुक्रबार १०:५४:००

विश्व स्वास्थ्य संगठनका अनुसार एक सय ७० मुलुकका दुई लाख २८ हजार तीन सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म नौ हजार तीन सय ५७ जनाको मृत्यु भइसकेको छ । नेपालमा पनि यस भाइरसको त्रास उस्तै छ । सरकारले अधिकांश अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ । २५ जनाभन्दा बढी जम्मा हुन नपाइने घोषणा गरेको छ । विश्वविद्यालय र विद्यालय बन्द भएका छन् । कोरोनाको प्रभावबाट नेपाली चलचित्र उद्योग पनि अछुतो छैन । ६ चैतदेखि सिनेमा हल बन्द भएका छन् । यसअघि नै तय भएको प्रदर्शन मिति चलचित्र निर्माण पक्षले पर सारेका छन् । पूर्वनिर्धारित सांगीतिक कन्सर्ट पनि रोकिएका छन् ।

कलाकार सृजना सुब्बा आफ्नो चार महिनाको बच्चासँग घरमै बसिरहेकी छिन् । अनामनगरस्थित मण्डला थिएटरसम्म जान सकेकी छैनन्, उनी । भन्छिन्, ‘सानो बच्चा छ, भाइरसभन्दा त्यसको त्रास फैलिएको छ, बाहिर निस्कन आँटै आउँदैन ।’ कोरोनाको हल्लाले मनोवैज्ञानिक तनाव सिर्जना गरेको उनी बताउँछिन् । सरसफाइमा नेपालको तुलनामा धेरै अगाडि रहेका र गर्मी सुरु भइसकेका मुलुकमा पनि कोरोना फैलिएको कुराले उनी उच्च सतर्कताको आवश्यकता औँल्याउँछिन् ।

कोरोनाकै कारणले गायक तथा अभिनेता यशकुमारको जापानको कन्सर्ट रोकिएको छ । नेपालभित्रका पनि विभिन्न कार्यक्रम रोकिएका छन् । संसारभर आर्थिक विकासको होड चलिरहेको समयमा जनस्वास्थ्यमा गम्भीर प्रभाव पार्ने कोरोना भाइरसको प्रकोप फैलिनुलाई चिन्ताको विषय मान्छन्, उनी । उनले घरमा स्यानिटाइजर, साबुनपानीले हात धुने, तातो पानी पिउनेजस्ता पूर्वसावधानीका विधि अपनाएका छन् । भन्छन्, ‘आँखाअगाडि प्रत्यक्ष कुनै घटना नभएसम्म विश्वास नगर्ने हामी नेपालीको खराब बानी छ, जसले हामीलाई जोखिममा राखेको छ ।’ कलाकार सीताराम कट्टेल भर्खरै चलचित्र ‘सेन्टी भाइरस’को हिसाबकिताब गरेर पत्नी कुञ्जना घिमिरेसँगै चितवन फर्किएका छन् ।

छोरीलाई काठमाडौंमै दिदी–भिनाजुकहाँ राखेका छन् । काठमाडौंमै सुरक्षित हुने ठानेर छोरीलाई यतै छाडेको सीताराम बताउँछन् । कोरोना हल्लाको प्रभाव उनीहरूले बनाइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालामा पनि परेको छ । अवलोकनकर्तासँगको भेटघाट बन्द गरेका छन् । कामदारदेखि प्राविधिकसम्म गरी करिब दुई सयजनामा रुघाखोकीसम्म नलागेको कुराले उनी अलि ढुक्क छन् । भन्छन्, ‘हामी सबै सचेत छौँ, एकदम ख्याल गरिरहेका छौँ ।’ रंगशाला निर्माणार्थ सहयोग भने आइरहेको छ । सहयोगीहरूसँग फोनमै कुराकानी गर्छन्, उनी । बैंकखातामा सहयोग रकम संकलन भइरहेको छ । रंगशाला निर्माणस्थलमा बिहानै तातो पानी खाने नियम छ । कामदार र प्राविधिक बस्ने क्याम्पमा पनि निगरानी भइरहेको छ । सीताराम भन्छन्, ‘सुरुदेखि नै स्वास्थ्य सामग्री राखेर सबैको नियमित जाँच गरिरहेका छौँ ।’

पछि धकेलियो रिलिज डेट
५ चैतमा सरकारले ६ चैतदेखि लागू हुने गरी फिल्महल बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सम्पूर्ण मनोरञ्जनस्थल बन्द गर्ने निर्णय गरेको हो । हलसञ्चालकहरूले विज्ञप्ति जारी गर्दै सरकारी निर्णयको स्वागत गरेका छन् । सरकारी निर्णयसँगै ६ चैतदेखि सिंगल र मल्टिप्लेक्स पूर्ण रूपमा बन्द भएका छन् । त्यसका कारण चैत र वैशाखमा प्रदर्शन मिति तोकेका फिल्महरूको रिलिज पछि सरेको छ । ‘म यस्तो गीत गाउँछु–२’, ‘नीरफूल’ र ‘लक्का जवान’का निर्माण पक्षले प्रदर्शन स्थगित गरेका छन् । २८ चैतमा रिलिज मिति तोकिएको ‘प्रेमगीत–३’ र ‘चपली हाइट–३’को प्रदर्शन पनि पछाडि धकेलिएको छ ।