१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ चैत ७ शुक्रबार ०९:२९:००
Read Time : > 9 मिनेट
दृष्टिकोण

विद्यार्थी पिट्ने शिक्षकलाई जेल हालौँ

पढेन भनेर दिइने सजायपछि विद्यार्थी पढाइमा झन् कमजोर बन्दै जान्छन्, पिटेर विद्यार्थी सुध्रिँदैनन् भने हामी किन पिटिरहेका छौँ ?

Read Time : > 9 मिनेट
२०७६ चैत ७ शुक्रबार ०९:२९:००

विगतमा सुनेका, पढेका, देखेका अनि भोगेका घटना आँखामा घुम्दै छन् । केही दिनअघि समाचार आयो, ‘शिक्षिकाले कम प्राप्तांक ल्याउने ३४ विद्यार्थीको हात चिर्न लगाइन् ।’ शिक्षिका भन्छिन्, ‘मैले त थोरै काट्न भनेँ, विद्यार्थीले धेरै काटेछन् ।’ केही महिनाअघि भीमदत्त नगरपालिकाबाट आएको अर्को समाचार झन् भयानक थियो, ‘शिक्षकको कुटाइबाट घाइते विद्यार्थीको मृत्यु ।’ त्योभन्दा अलिअगाडिको अर्को घटना, रोल्पाको एउटा स्कुलमा लक्ष्मी पुनले ढिला आएको, कपाल पालेको अनि नङमा पालिस लगाएको भनेर चिर्पटले हान्दा १४ विद्यार्थी घाइते, पाँचको हात भाँचियो ।
  
नवलपरासीमा एउटा विद्यार्थी दसैँ बिदाको एक दिनअघि शिक्षकद्वारा शौचालयमा थुनिएछन् । घर जानेवेला बिर्सिएकाले दसैँ बिदाको अवधिभर शौचालयमै थुनिएर ती विद्यार्थीको मृत्यु भएको थियो । कान्तिपुर दैनिकमा करिब १५ वर्षअघि छापिएको यो समाचार सम्झिँदा अझै स्तब्ध भइन्छ । आवासीय विद्यालयका एकजना संस्थापक सदस्य एवं शिक्षकले एक कक्षाका १८ जना विद्यार्थीलाई हिसाब कण्ठ नगरेकोमा चर्पीको दिसा चटाएको घटना हिजोझैँ लाग्छ ।

 केही वर्षअघि बनेपाको एउटा स्कुलमा मासिक शुल्क नतिरेको निहुँमा विद्यार्थीलाई परीक्षाको प्रवेश पत्र दिइएन नै परीक्षा हलमा कुराएर परीक्षा सकिएपछि प्रिन्सिपलले कार्यकक्षको टेबुलमाथि उभ्याएर बाँसको भाटाले खुट्टामा हिर्काएपछि ती विद्यार्थीले विष सेवन गरेर आत्महत्या गरेका थिए । विद्यालयभित्रै गुपचुप पारी बाहिर नल्याइएका यस्ता कुकर्म कति होलान् कति । यी घटना शिक्षकले विद्यार्थीलाई दिएको सजाय होइनन्, अपराध हुन् । शिक्षाको मन्दिरभित्र गरिएका पाप हुन् । अनि यी पीडक शिक्षकको भेषमा अपराधी हुन् । अपराधलाई सामान्य रूपमा लिनुहुँदैन । संस्कार सिकाउने ठाउँमै यस्तो अपराध गरिन्छ भने यसले शिक्षाको हत्या गर्छ । तसर्थ, विद्यार्थीलाई यातना दिनेलाई कडा सजाय हुनुपर्छ, जेलमै जाक्न पछि पर्नुहुँदैन ।

कथा अनि व्यथा

लठ्ठीले हातमा पिट्ने, चड्कन-मुक्का हान्ने वा अरू शारीरिक अनि मानसिक यातना दिने प्रवृत्ति हाम्रोजस्तो शिक्षा प्रणालीमा अनुशासनको नाममा अँगालिँदै आएका अभ्यास हुन् । अहिले संसारभर नै विद्यार्थीलाई कसरी उसको आत्मसम्मानमा ठेस नपुगी पढाउने भन्ने बहस भइरहँदा हामी भने विद्यार्थीलाई पिट्नुहुँदैन भनेर वकालत गर्नुपर्ने अवस्थामा छौँ । युनिसेफको रिपोर्टअनुसार हाम्रा विद्यालयमा झन्डै ८२ प्रतिशत बालबालिका दुव्र्यवहार र यातनाको सिकार हुने गर्छन् । यातनाकै कारण १४ प्रतिशत बालबालिकाले विद्यालय छाड्ने गरेको अध्ययनले देखाएको छ  । 

गत वर्षसम्म संसारका १२८ देशले शारीरिक यातना दिनुलाई अपराध मानेका छन्, जसमध्ये युरोपका सबै देश, अधिकांश दक्षिण अमेरिका अनि पूर्वी एसियाका देश पर्छन्, तर अझै पनि लगभग ६५ देशले विद्यालयमा शारीरिक यातनालाई स्विकारेका छन् ।

यसको अवस्था बुझ्न मेरै भोगाइ पनि काफी छ । चार कक्षामा पढ्दा अखिल सर भन्ने हुनुहुन्थ्यो । हेडसरको आफन्त रे भन्ने सुनेका थियौँ । म दुई कक्षाबाट फड्को मारेर चार कक्षामा उक्लिएको थिएँ । सर जहिले पनि कक्षामा आउनुहुन्थ्यो अनि प्रश्न सोध्नुहुन्थ्यो । उत्तर दिन नसक्दा, सरले हानेको चड्कन अझै पनि मेरो कानमा गुन्जिन्छन् । घरमा बुबालाई सुनाएमा उहाँले स्कुलमा गएर झगडा गर्दिए शिक्षकबाट थप कुटाइ खाने डरले भन्न पनि सक्दिनथेँ । सर देख्नेबित्तिकै डरले थुरथुर भइन्थ्यो, म मात्र होइन सबै साथीहरू । अझ पाइन्ट खोलिदिन्छु भन्दै बेल्ट समातेर घिसारेको आज पनि मस्तिष्कबाट मेटिएको छैन ।

साथीहरूका अगाडि नांगै हुनुपर्ने लाजले म हायलकायल हुन्थेँ । सरले केटी साथीहरूलाई पनि पिट्थे । सबै सम्झेर राति निद्रामा पनि डराउँथेँ । कक्षा कोठाको ढोका थुनेर हामीमाथि गरिएका ती अत्याचार आज पनि मन–मस्तिष्कमा ताजै छन् । स्कुले जीवनका अधिकांश कुरा भुलिए पनि ती घटनाका याद ताजै छन् । मेरो बुबा पनि उहाँले स्कुल छाडेको कथा सुनाउनुहुन्छ । उहाँ गाउँको स्कुलमा पढ्नुहुन्थ्यो । एक दिन अच्युत मास्टरले सोधेको प्रश्नको उत्तर दिन नसक्दा तोरीको फूल देख्ने गरेर चड्कन खानुभएको रहेछ । त्यसपछि बुबा स्कुल जानै छाड्नुभएछ । बुबाको समयदेखि मेरो छोराछोरीको समयसम्म आइपुग्दा पनि हाम्रा कक्षा विद्यार्थीमैत्री हुन सकेका छैनन् ।  

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयअन्तर्गतको केन्द्रीय बालकल्याण बोर्डले प्रकाशित गरेको एउटा प्रतिवेदनले हिंसात्मक सजाय निजी स्कुल अनि प्लस टुमा बढी हुने देखाएको थियो । विद्यालयले विद्यार्थीको प्रतिभा चिन्ने प्रयास गर्दैनन् । बरु कुनवेला विद्यार्थीले गल्ती गर्ला र जरिवाना तिराउँला भनेर ताक्छन् अनि अनुशासन कायम गर्ने निहुँमा टोले गुन्डालाई ‘डिसिप्लिन इन्चार्ज’ (डिआई) राख्छन् र अनुशासन सिकाएको भ्रममा रमाउँछन् । ज्ञान सिकाइने मन्दिरमा शक्तिको प्रयोग गर्नुपर्ने कस्तो शिक्षाको भरमा हामी भोलिको पुस्ता निर्माण गर्दै छौँ ?

दबाब दिँदा विद्यार्थी शिक्षाको नजिक होइन, झन् टाढा हुन्छन् । डिस्कोमा राखिने बाउन्सरलाई विद्यालयमा ‘डिआई’ राख्नु भनेको विद्यार्थीलाई तर्साउनु हो, अनुशासनमा राख्नु होइन । यो त फिल्ममा हिरोलाई पिट्न गुन्डालाई सुपारी दिएझैँ सोच हो । विद्यार्थीमा समस्या छैन भनेको होइन । शिक्षकलाई पिट्न तम्सिहाल्ने, कक्षामा हुलहुज्जत गर्ने अनि स्कुल-कलेजमा गाँजा नै बोकेर आउने विद्यार्थीसँग पनि हामी परिचित छौँ, तिनलाई भोगेका छौँ । तर, स्कुलले अपनाएको उपाय वास्तविक समाधान होइन, थप समस्या हो । ‘डिआई’को रूपमा टोले गुन्डा होइन, मनोवैज्ञानिक वा व्यवहार सुधार गर्न सक्ने प्रशिक्षकको आवश्यकता हो । 

विश्व अनि इतिहास

सन् १९१७को बोल्सेभिक क्रान्तिपछि विद्यार्थीलाई दिइने शारीरिक यातना कम्युनिस्ट दर्शनको विपरीत छ भनेर सोभियत युनियनले खारेज ग-यो । शारीरिक यातनालाई पुँजीवादकै अवशेषको रूपमा चित्रण गर्न थालिएपछि बेलायत, चीन, कोरियाजस्ता मुलुकले विद्यार्थीलाई पिट्न निषेध गर्ने कानुन निर्माण गरे । शिक्षकलाई विद्यार्थीका अभिभावकजत्तिकै मान्यता दिइन्थ्यो । त्यसैले शिक्षकले पिट्न पाउँछन् भन्ने मान्यता स्थापित थियो । अर्थात्, नियम मिच्दा शिक्षकले पिट्न पाउने कुरा चलेकै थियो । गत वर्षसम्म संसारका एक सय २८ देशले शारीरिक यातना दिनुलाई अपराध मानेका छन् । जसमध्ये युरोपका सबै देश, अधिकांश दक्षिण अमेरिका अनि पूर्वी एसियाका देश पर्छन् । तर, अझै पनि लगभग ६५ देशले स्कुलमा शारीरिक यातनालाई स्विकारेका छन् । जसमा अमेरिकाका केही भाग, अस्ट्रेलियाका केही राज्य, अफ्रिकी अनि एसियाका केही देश पर्छन् ।

चीनमा १९४९को कम्युनिस्ट क्रान्तिपछि शारीरिक हिंसा निरुत्साहित गरियो । १९८६को शिक्षा नीतिले कानुन नै बनाएर प्रतिबन्ध ग¥यो । शिक्षामा उत्कृष्ट मानिएको फिनल्यान्डले पनि १९१४मै सार्वजनिक विद्यालयमा विद्यार्थीलाई पिट्न वा यातना दिन प्रतिबन्ध लगाएको थियो । पछि, १९८४ बाट स्कुल, घर कहीँ पनि विद्यार्थीलाई पिट्न नपाउने कडा कानुन ल्यायो । हाम्रो शिक्षा धेरै हदसम्म भारतबाट प्रभावित छ । भारतमा यो समस्या गहिरो छ । अहिले पनि विद्यार्थी पिट्ने काम हुँदै छ । दिल्ली उच्चअदालतले सन् २००० मै दिल्लीमा विद्यार्थी हिंसालाई प्रतिबन्ध लगाइसकेको भए पनि अधिकांश प्रदेशमा यो कडाइका साथ कार्यान्वयन गरिएको छैन । दुःखको कुरा, गिजुभाइजस्ता उदार र क्रान्तिकारी शिक्षा प्रणालीका प्रणेताले जन्म लिएको भारतमा विद्यार्थीलाई यातना दिइने समस्या अझै विकराल नै छ ।

पोल्यान्ड विद्यार्थीमाथि यातनालाई अपराध ठह-याउने संसारकै पहिलो मुलुक हो । सन् १७८३मै पोल्यान्डले शारीरिक हिंसालाई प्रतिबन्ध गरेको थियो । तत्कालीन समयका चर्चित दार्शनिक जोन लकले विद्यार्थीलाई यातना दिने कुराको विरोध गर्थे । उनकै प्रभावले त्यहाँका कानुन निर्मातालाई प्रेरित ग-यो र शारीरिक हिंसा प्रतिबन्धित भयो । सिंगापुरमा भने पुरुषलाई अहिले पनि लठ्ठीले हान्न पाउने कानुन छ । अनुशासनका लागि हलुका बाँसले बढीमा ६ चोटिसम्म हान्न पाउने प्रचलन छ । बेलायतमा भने सरकारी कोषबाट चल्ने विद्यालयमा सन् १९८६ पछि प्रतिबन्ध लगाइयो भने सन् १९९८ अनि त्यसपछि चरणबद्ध रूपमा सबैतिर प्रतिबन्धित गरियो । अमेरिकामा भने यसबारे संघीय कानुन छैन । ३२ राज्यमा सरकारी विद्यालयमा पिट्न पाइँदैन, १८ राज्यमा पिट्न पाइन्छ । पिट्ने मात्र होइन, विद्यार्थीलाई स्कुलबाट निष्कासन गर्न पाउने वा नपाउनेमा विवाद छ । ‘प्लान इन्टरनेसनल’ले गरेको एउटा अध्ययनमा वर्ग, जात वा लिंगका आधारमा अहिले पनि कक्षामा विभेद हुने अनि पिछडिएका वर्गले यस्ता शारीरिक अनि मानसिक यातना बढी खेप्नुपर्ने तथ्य देखिएको थियो ।

कानुनले के भन्छ ?

विद्यार्थीलाई शारीरिक वा मानसिक दण्ड दिनु अन्तर्राष्ट्रिय जगत् र नेपाल सरकारले अपनाएको नीतिविरुद्ध हो । कानुनले विद्यार्थी पिट्न दिँदैन । तैपनि हाम्रो शिक्षकको चेतनाको स्तर, समाज अनि फितलो कानुनका कारण विद्यार्थी चरम यातना भोग्न बाध्य छन् । शिक्षकले यातना दिनुको एउटा कारण विगतको हाम्रो सामाजिक बुझाइ पनि हो । अहिले पनि स्कुल अनि कलेजमा ‘विद्यार्थीलाई सुधारिदिनुप-यो, बरु हात–खुट्टा भाँचिए मै उपचार गर्छु’ भन्दै अभिभावक नै विद्यालय आइपुग्छन् । शिक्षकले गाली गरे, पिटे आफ्नो बच्चाले पढ्ने विश्वास राख्ने अभिभावक यत्रतत्र छन् । हाम्रो यो बुझाइ कतिसम्म गहिरो थियो भने ०४८को बालबालिका ऐनले त शिक्षकलाई सामान्य तवरले पिट्न छुट नै दिएको थियो । ऐनले भनेको थियो, ‘बाबुआमा, परिवारका सदस्य, संरक्षक वा शिक्षकले बालकको हितका लागि हप्काएको या सामान्य पिटाइ गरेकोमा यस दफाको उल्लंघन गरेको मानिने छैन ।’

युनिसेफको रिपोर्टअनुसार हाम्रा विद्यालयमा झन्डै ८२ प्रतिशत बालबालिका दुव्र्यवहार र यातनाको सिकार हुने गर्छन्, यातनाकै कारण १४ प्रतिशत बालबालिकाले विद्यालय छाड्ने गरेको अध्ययनले देखाएको छ ।

राष्ट्रसंघीय महासन्धिको मर्मअनुरूप सर्वोच्च अदालतले ०६१ साल पुस २२ गते सरकारका नाममा जारी गरेको ‘बालबालिकाविरुद्ध भइरहेका र हुन सक्ने शारीरिक घात एवं अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय वा दुव्र्यवहारलाई रोक्न उपयुक्त र प्रभावकारी उपाय अवलम्बन गर्नू’ भन्ने निर्देशनात्मक आदेशले ०४८को बालबालिका ऐनले पिट्न दिएको छुटलाई खारेज गरिदिएको थियो ।

अहिले, बालबालिकासम्बन्धी ऐन ०७५ले विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्नेलाई ५० हजार रुपैयाँ जरिवाना र एक वर्ष जेल सजायसम्मको व्यवस्था छ । त्यस्तै, यातना दिनेलाई पाँच वर्षसम्म जेल र एक लाख रुपैयाँ जरिवाना हुने कानुन छ । अब, विद्यार्थी पिट्ने शिक्षकलाई जेल हालेर कानुनको पालना गराउन जरुरी छ । संविधानको धारा ३९ले ‘बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन’ भनेको छ  । कानुन बलियो छ, तर कार्यान्वयन फितलो छ ।

विद्यार्थी किन पिटिन्छन् ?

विद्यार्थीले पिटाइ खाने कारण विद्यार्थी वा उनीहरूको पढाइ हुँदै होइन । अधिकांश अवस्थामा शिक्षकको बुझाइ, हेराइ, गराइ नै विद्यार्थीले पिटाइ खाने कारण हुन् । आजसम्म तपाईंले अरूको फाइदा होस् भनेर त्यही मानिसलाई पिट्नुभएको छ ? वा रिसाउनुभएको छ ? छैन । तपाईंका हरेक क्रोध र हिंसात्मक व्यवहार प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तपाईंकै नाफा वा घाटाको जोड–घटाउमा जेलिएका हुन्छन् । तसर्थ, शिक्षकका आफ्नै कमजोरी, अक्षमता अनि व्यवहार नै विद्यार्थीमाथि हुने दुव्र्यवहारका प्रमुख कारण हुन् । 

विद्यार्थीलाई शिक्षकले गृहकार्य नगर्दा, स्कुल ढिलो आउँदा, पोसाक सफा नहुँदा, हल्ला गर्दा, अक्षर फोहोर हुँदा, परीक्षामा असफल हु“दा पिट्ने गर्छन् । शिक्षकले समाधान खोज्न होइन, आफ्नो रिस पोख्न वा आफ्नो भावना अभिव्यक्त गर्नका निम्ति पिट्छन् । कति शिक्षकमा ‘हामीले पिटाइ खाएरै पढेका थियौँ, अलिअलि त पिट्नै प-यो नि’ भन्ने सोचाइ छ । ‘हातेमालो’को अध्ययनअनुसार ९२ प्रतिशत शिक्षकले आफू विद्यार्थी छँदा शारीरिक सजाय पाएको उल्लेख गरेका छन् । तसर्थ, विद्यार्थीले पिटाइ खानुको पहिलो कारण शिक्षक आफैँ हुन् । उठबस गर्न लगाउने, कुखुरा बनाई अप्ठ्यारो अवस्थामा राख्ने, कान निमोठ्ने, कपाल भुत्ल्याउने, टाउको भित्तामा बजार्ने, डस्टरले पिट्ने आदि यातनाको त व्याख्या गरिसाध्यै छैन । हाम्रो शिक्षामा शारीरिक मात्र होइन, मानसिक यातनाको कथा झन् ठूलो छ । शिक्षकबाटै तँ मूर्ख, तँ केही जान्दैनस्, तँ काम नलाग्ने, अल्छी, तैँले त पछि आलु खान्छस्, तैँले भोलि मागेर पनि खान सक्दैनस् भनेर जुन मानसिक हिंसा गरिन्छ, त्यसले विद्यार्थीलाई झन् पीडित बनाउँछ ।

दोस्रो कारण, सिक्ने वातावरणको अभाव हो । आज एउटा विद्यार्थी दिनको ८–९ घन्टा स्कुलमा बिताएर फेरि घर गएर घन्टौँ गृहकार्य गर्न बाध्य छ । पर्याप्त सुत्न पाउँदैन । बसमा कोचिएर होस् वा टाढा स्कुल हुँदा घन्टौँ हिँडेर स्कुल जान बाध्य छ । विद्यालय पुग्न पूरै सहरको चक्कर लगाउनुपर्दा विद्यार्थी गलिसकेको हुन्छ । शिक्षक अनि अभिभावकका लागि ‘गइदिएको’ परिस्थितिमा उसले कसरी राम्रो गर्न सक्छ ? गृहकार्य नगर्नुको कारण के होला ? ढिलो विद्यालय आउनुको कारण के होला ? लुगा फोहोर हुनाको कारण के होला ? राम्रो अंक हासिल गर्न नसक्ने कारण के होला ? शिक्षकको दायित्व यी विद्यार्थीका समस्याका कारण खोज्ने हो कि, पिट्ने मौका खोज्ने हो ? 

खाना खान छिरेको मान्छे होटेलबाट खाना नखाई खाना फालेर हिँड्छ भने दोष कसको हो ? त्यो मान्छेको कि होटेलको ? विद्यार्थी कक्षामा ध्यान दिँदैन भने कक्षाले उसलाई तानिरहेको छैन । समस्या अरू पनि हुन सक्छन् । विद्यार्थी बिरामी हुन सक्छ । समकक्षीभन्दा होचो भएका कारण कालोपाटी नदेखेको हुन सक्छ । साथीभन्दा परीक्षामा पछि पर्दा हारेको महसुस गरेको हुन सक्छ । घरको समस्याले पढाइमा ध्यान नगइरहेको हुन सक्छ । घरमा आमा–बुबाको झगडा छ वा घरमा दुई छाक टार्न समस्या छ भने विद्यार्थी कक्षामा ध्यान दिएर कसरी पढ्न सक्छ ? यस्ता परिस्थितिबाट गुज्रिरहेका विद्यार्थीलाई पिट्नु अपराध हो । विद्यार्थीलाई सम्हालेर, बुझेर, समानुभूति गराएर कक्षामा बाँध्न नसक्नु शिक्षकको कमजोरी हो ।

सामाजिक विवाद, शैक्षिक वातावरणको कमी, जातजातिबीच विभेद, अनिश्चित भविष्यजस्ता समस्याले विद्यार्थीलाई कम उत्प्रेरित गरिरहेका हुन्छन् । घर र समुदायमा फरक–फरक भाषा बोल्ने बालबालिकाका लागि विद्यालयमा पढाइने भाषाले सिकाइमा समस्या सिर्जना गरिरहेको हुन्छ । असजिलो बस्ने ठाउँ अनि कक्षा कोठामा अपर्याप्त उज्यालो आदिले पनि विद्यार्थी सुस्त हुने गर्छन् । कडा शारीरिक वा मानसिक सजाय दिन उद्यत शिक्षक, वा विद्यालय प्रशासनबाटै लिंग, जात, धर्म वा अपांगता एवम् आर्थिक अवस्थाका कारण विभेदजस्ता क्रियाकलापले विद्यार्थी हतोत्साहित भइरहेका हुन सक्छन् । छात्रामा साथीबाट, शिक्षकबाट वा आफन्तबाट यौनदुव्र्यवहारका कारण पनि पढाइमा रुचि नभइरहेको हुन सक्छ । कहिलेकाहीँ हर्मोनको परिवर्तनले पनि पढाइमा असर पार्न सक्छ । यसले विपरीत लिंगीप्रति रुचि बढाउन सक्छ, आत्मसम्मानमा कमी ल्याउन सक्छ । यस्ता कुरा हाम्रा शिक्षक अनि शिक्षण संस्था प्रशासनले बुझेर सहानुभूति राख्न सक्नुपर्छ । यति पनि बुझ्न नसके शिक्षण संस्था जीवन्त रहन सक्दैनन् । 

तेस्रो कारण भनेको अभिभावक अनि विद्यालय आफैँ हो । आफ्नै छोराछोरीलाई आफूले चाहेजस्तो नगर्दा वा गर्न नसक्दा आफँै विद्यालय गएर पिटेर भए पनि तह लगाउन आग्रह गर्ने अभिभावक नै समस्या हुन् । अभिभावकको यही ढाडसमा शिक्षकले विद्यार्थीलाई पिट्छन् । अनि व्यापारिक शिक्षाको युगमा, स्कुलले समयमा शुल्क नतिर्ने विद्यार्थीलाई दिने शारीरिक अनि मानसिक यातनाको नकारात्मक प्रभाव पर्छ नै । अभिभावकले समयमा फी तिर्न नसकेका कारण विद्यार्थीलाई परीक्षा हलबाहिर उभ्याउनु वा परीक्षाबाट वञ्चित गर्नुभन्दा ठूलो यातना के हुन्छ ? साथीहरूको अगाडि आएर शुल्क नतिरेको भन्दै उभ्याएर प्रश्न सोध्नु उक्त उमेरमा उक्त विद्यार्थीका निम्ति निकै ठूलो हिनताबोधक क्रियाकलाप हो ।

विद्यार्थीमा कस्तो प्रभाव पर्छ ?

बालबालिकालाई पिटेर होइन, माया गरेर, बुझाएर पढाउनुपर्छ भन्ने चेतनाको विकास अपरिहार्य छ । यातनाबाट विद्यार्थीले आफूलाई असुरक्षित, अपहेलित र असहाय ठान्ने गर्छन् । उनीहरूमा बदलाको भावना पलाउने, आत्मविश्वासमा कमी आउने, पढाइमा अरुचि पैदा हुने, निद्रा नलाग्ने, एकाग्रतामा कमी आउने, सपनामा बर्बराउने, झर्किने, परिवारलाई पनि चासो नदिनेजस्ता समस्या देखिने गरेको छ । यातनाले विद्यार्थीलाई अंगभंग हुनेदेखि आत्महत्यासमेत गर्न बाध्य बनाउँछ । सरकारले ‘भयरहित शिक्षा’को अवधारणा अगाडि सारिसकेको त छ, तर व्यवहारमा लागू हुन सकेको छैन । ज्ञानको मन्दिरमा बलको प्रयोग बर्जित हुनुपर्छ । विद्यार्थीलाई नपिट्ने मात्र होइन, उनीहरूको आत्मसम्मानको पनि शिक्षकले ख्याल गर्नु जरुरी छ । असल शिक्षक ती हुन्, जसले विद्यार्थीको क्षमता अनि मनोविज्ञान बुझेर पढाउन सक्छन् । 

अझै पनि हाम्रा कतिपय शिक्षकले हातको छडी छाड्न सकेका छैनन् । कतिपय शिक्षक अझै प्रेमले होइन, डरले सिकाउन सकिन्छ भन्ने मान्यता राख्छन् । दण्डले बालबालिका सुधार्न सकिने भ्रममै छन् । विद्यार्थीसँग कडा मिजासका साथ प्रस्तुत हुन सकेकोमा गर्व गर्ने यी शिक्षकलाई हामीले अन्तिमपटक तालिम दिने, त्यसपछि विस्थापन गर्ने वा अझै नसुध्रिए सजाय दिनपछि पर्नुहुन्न । बारम्बार यातना भोग्दा विद्यार्थीलाई स्कुल जान मन नलाग्ने, पखाला लाग्ने, टाउको दुख्ने, हिम्मत गर्न नसक्ने, टोलाउने आदि हुने गर्छ । ‘ड्रप आउट’को पछाडि पनि यही शारीरिक र मानसिक यातना नै लुकेको छ । बालमस्तिष्क अति संवेदनशील हुन्छ । कुटाइका कारण उनीहरू झनै आक्रामक बन्ने गर्छन् ।

थेरेसे हेस्केथले गरेको अध्ययनअनुसार, ‘विद्यार्थीहरू शिक्षकसँग निकै डराउँछन् । करिब दुईतिहाइ विद्यार्थी शिक्षकबाट सजाय पाउने डरले त्रसित हुन्छन् । रोगविज्ञानका आधारमा कुरा गर्दा एकतिहाइ विद्यार्थीले कम्तीमा हप्तामा एकपटक आफूलाई टाउको दुख्ने अथवा पेट दुख्ने समस्या देखापरेको जानकारी दिएका छन् ।’ ‘द गार्डियन’का अनुसार, कुनै बालक लौराले पिटिने डर बोकी विद्यालय जान्छ भने ऊ मानसिक समस्याले ग्रसित हुन सक्छ र उसको सम्पूर्ण वयस्क जीवन प्रभावित हुन सक्छ । साथै, शिक्षकद्वारा दिइएको कठोर सजायकै कारण ऊ लागुपदार्थको प्रयोग गर्ने वा अपराधकर्ममा उद्यत हुन सक्छ । 

निष्कर्ष,

अनुशासन भनेको आत्मनियन्त्रण पो हो । यति पनि नबुझ्ने शिक्षकले विद्यार्थीको हित गर्न सक्दैनन् । शिक्षक विद्यार्थीको पहिलो आदर्श हो । शिक्षकको आचार, विचार र व्यवहारको बालबालिकाले निरन्तर अनुसरण गरिरहेका हुन्छन् । बालबालिकाले जे सिक्छन्, त्यही गर्छन् । तसर्थ, विद्यार्थीमा स्कुलमै हिंसाको बिउ रोप्न सिकाउनुहुँदैन । यसले समाजलाई नै आपराधिक बनाइदिन्छ । विद्यार्थीको मस्तिष्कमा अपराध त ठूलो मान्छेले गर्ने भन्ने भ्रम पर्न जान्छ । तसर्थ, समाचार पनि पिट्ने शिक्षकको मात्र होइन, अब्बल शिक्षकको पनि आउन जरुरी छ । हाम्रो मिडिया, शिक्षा मन्त्रालय अनि सरकारले उत्कृष्ट शिक्षकलाई विभिन्न फोरममा पुरस्कृत गर्न जरुरी छ । 

अमेरिकामा बालचिकित्सकको एकेडेमीको अध्ययनअनुसार विद्यार्थीको शैक्षिक सुधार अनि सजायको उल्टो सम्बन्ध हुन्छ । विद्यार्थीले जति सजाय पाउँछन्, त्यति नै उनीहरू शैक्षिक रूपमा कमजोर बन्दै जान्छन् । अर्थात्, पढेन भनेर दिइने सजायपछि विद्यार्थी पढाइमा झन् कमजोर बन्दै जान्छन् । भनेपछि, विद्यार्थी पिटेर सुध्रिँदैनन् भने हामी किन पिटिरहेका छौँ ?

बरु जति शारीरिक अनि मानसिक यातना विद्यार्थीलाई दिइन्छ, त्यति नै विद्यार्थी उत्तेजित हुने, हिंस्रक व्यवहार गर्ने, कक्षामा ध्यान नदिने, कक्षामा नआउने, डिप्रेसनमा जाने, आत्मविश्वास घट्दै जाने, स्कुल फोबिया हुने, आफूमा विश्वास घट्ने, अनि शिक्षकलाई आदर गर्न छाड्ने गर्छन् भने कति त तिरष्कृत भएको सम्झेर असामाजिक क्रियाकलापमा पनि लाग्ने गर्छन् । तसर्थ, हामी सबैले अब फेरि आफैँलाई सोध्ने वेला आएको छ– के हामीले दिन खोजेको शिक्षा यही हो ? बालबालिकालाई पिटेर ल्याउन खोजेको परिणाम यही हो ? शिक्षक भएर तपाईं यही छाप छाडेर मर्न चाहनुहुन्छ ? अनुशासन पिटेर होइन, आत्मानुशासन जगाएर आउँछ । गाह्रो होला, तर हामीले लाद्न खोज्ने कडा अनुशासनको विकल्प आत्मानुशासन हो । 

(लेखक विवेकशील नेपाली दलका अध्यक्ष हुन्)