१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मिलन दाहाल काठमाडाैं
२०७६ चैत ६ बिहीबार १३:००:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

परीक्षा तथा नियमित कक्षा स्थगित गर्ने विश्वविद्यालयको निर्णय 

Read Time : > 1 मिनेट
मिलन दाहाल, काठमाडाैं
२०७६ चैत ६ बिहीबार १३:००:००

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले विश्वविद्यालयका सबै परीक्षा र नियमित कक्षाहरू चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । 

सबै परीक्षाालगायत पठनपाठन बन्द गर्ने,  विश्वविद्यालयलाई कुनै पनि क्रियाकलाप चैत मसान्तसम्म नगर्ने र नगराउने निर्णय भएकाे त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्काेटाले जानकारी दिए । 

सरकारले विश्वविद्यालयका परीक्षासमेत बन्द गर्ने निर्णय गरे पनि विश्वविद्यालय स्वायत्त संस्था भएकाले आफ्नो निर्णय आफैँ गर्न पाउने अधिकार छ । साेहीअनुसार निर्णय भएकाे बाँस्काेटाले बताए ।  

त्रिविमा विभिन्न तह र संकायका परीक्षा सञ्चालन भइरहेको थियो । व्यवस्थापन संकायको स्नातकोत्तर तह दोस्रो र चौथो सेमेस्टरको जारी परीक्षा पनि याे निर्णयसँगै शुक्रबारदेखि राेकिने भएकाे छ । ९ चैत र चौथो सेमेस्टरको ७ चैतदेखि हुने भनेर सार्वजनिक गरिएकाे परीक्षा–तालिका पनि याे निर्णयपछि स्थगित भएकाे छ । 

त्रिवि कार्यकारी परिषद्को बैठकले चैत ७ गते बाट लागु हुने गरी चैत मसान्तसम्म विश्वविद्यालयका सबै तहका परीक्षा, नियमित पठनपाठन तथा विश्वविद्यालयमा हुने कार्यक्रमहरु बन्द गर्न निर्देशन दिएको हो । 

शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई चैत मसान्तसम्म दिइएको विदा अर्काे वर्षको हिउँदे र बर्खे विदामा मिलान गर्ने विश्वविद्यालयले जनाएको छ । चैत ७ बाट लागु हुने गरी विश्वविद्यालयका सबै परीक्षा र पठनपाठन बन्द गरीएको बाँस्कोटाले बताए । 

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अन्तर्वाता र परीक्षा सम्बन्धमा आयोगले सूचना प्रकाशित गरी जानकारी गराउने त्रिवि कार्यकारी परिषद्ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विश्वविद्यालयका नियमित प्रशासनिक कामहरु भने यथावत रहने भएका छन् ।  

संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले २५ जना भन्दा बढी संख्यामा भेला नहुन आग्रह गरेको हुदाँ सोहीअनुसार क्याम्पसका छात्राबासहरुमा आवश्यक व्यबस्था मिलाउन पनि सम्बन्धित क्याम्पसहरुलाई निर्देशन दिइएको छ । 

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बुधवार एसइई, सिटिभिटी र विश्वविद्यालय सबै तहका परीक्षा स्थगित गर्न निर्देशन दिएको थियो ।