१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
इयान जोनसन
२०७६ चैत ६ बिहीबार १०:५७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

चीनको अनुभवबाट विश्वले किन सिकेन ?

Read Time : > 2 मिनेट
इयान जोनसन
२०७६ चैत ६ बिहीबार १०:५७:००

चीनमा जनवरीको अन्तिमबाट ‘लकडाउन’ लागू हुँदा सम्पूर्ण देश कुनै विश्वव्यापी स्वास्थ्य संकटबीचमाझ गुज्रिरहेको भान पथ्र्यो । लकडाउनको सबैभन्दा कठोर समयमा म बेइजिङमा थिएँ । दुई हप्ताअघि, म आफ्नो कर्मभूमि बेइजिङबाट आफ्नो गृहसहर लन्डनका लागि उड्नुअघि विमानस्थलको प्रक्रियाले समेत उस्तै अनुभूति गराउँथ्यो– विमानस्थलमा अनिवार्य दुईपटक तापमान परीक्षण गराउनुपथ्र्यो । साथमा एक इलेक्ट्रोनिक स्वास्थ्य–कागजात पनि पेस गर्नुपथ्र्यो । त्यस डकुमेन्टमा मेरो इमेल ठेगाना र दुई फोन नम्बर उल्लेख गरिएको थियो । तर, यता लन्डनमा भने अवस्थामा बिल्कुल फरक थियो ।

विमान अवतरणअघि वायुसेवाले हामीलाई एउटा सामान्य पाना दियो, जसमा केही बिरामी देखिएमा ‘नेसनल हेल्थ सर्भिस’लाई सम्पर्क गर्न सुझाब दिइएको यो । अवतरणपछि न कुनै तापमान जाँच भयो, न कुनै स्वास्थ्यसम्बन्धी तथ्य नै टिपोट भयो । यसको अर्थ हामीमध्ये कोही कोभिड-१९को बिरामी हुन्थ्यौँ भने ऊविना पहिचान आफ्नो घर जाने अवस्था थियो ।  

पछिल्लो केही हप्तामै कोरोना भाइरसले युरोप र अमेरिकालार्ई पनि अत्याउन सुरु गरेको छ । चीनमा कोरोनाभाइरस विस्तार कम हुन थालेकै समयमा यी क्षेत्रमा कोरोना भाइरसको तीव्र विस्तार हुन थाल्यो । युरोपमा इटली सबैभन्दा बढी प्रभावित भएको छ । हाल त्यहाँ ‘लकडाउन’ लागू गरिएको छ । इटलीका छेउछाउका देश मात्र होइन, अन्य भागमा प्रकोपले उग्र रूप लिन थालेको छ । सेयर बजार धरमराउन थालेका छन् । विश्व स्वास्थ्य संगठनले प्रकोपलाई प्यान्डेमिक घोषणा गरिसकेको छ । सायद तपाईंले यो लेख पढिरहँदासम्म लन्डनजस्ता सहरका विमानस्थलमा स्वास्थ्य जाँच अनिवार्य भइसक्नेछ ।  यो सबबीच अमेरिका र युरोपका सरकारले भाइरसको विस्तारलाई नियन्त्रण गर्ने अवसर गुमाए । 

चीनले प्रकोपको विनाशकारी मोडबाट बाहिरिएर चीनले आफ्नो अनुभवलाई उदाहरणीयको रूपमा प्रस्तुत गर्न थालेको छ । उसले इरान र इटलीलाई चिकित्सकीय सामग्री तथा अन्य सुझाब दिएर सहयोग दिन सुरु गरेको छ । 

जब चीन कोरोना भाइरस संक्रमणबाट प्रभावित भइरहेको थियो, धेरै देशले आफू चीनबाट टाढा भएकाले भाइरस आफूसम्म नआउनेजस्तो मानसिकता देखाए । सुरुमा भाइरसबारे जानकारी गराउने चिकित्सकमाथि चिनियाँ धरपकडले रोग अनियन्त्रित भएको भन्ने कथ्य पश्चिमा राष्ट्रमाझ पछिसम्म व्यापक थियो । चीनले जनवरीमा कठोर लकडाउन र क्वारेन्टाइन गर्ने निर्णय गर्दा पश्चिमका केही मूलधारका मिडियाले उक्त कदमलाई अनावश्यक रूपमा कठोर बताइरहेका थिए । 

एक मिडियाले त १० दिनमा निर्माण भएको चिनियाँ अस्पताललाई हिटलरको ‘अटोवान’ निर्माणसँग तुलना ग-यो । र, जब चिनियाँ सरकारले संक्रमित व्यक्तिलाई परिवारबाट अलग्याउन क्वारेन्टाइन आवास प्रयोग सुरु ग-यो, पश्चिममा तिनलाई राज्यआतंकका रूपमा चित्रित गरिँदै थियो । तर, अहिले प्रकोपको विनाशकारी मोडबाट बाहिरिएर चीनले आफ्नो अनुभवलाई उदाहरणीयको रूपमा प्रस्तुत गर्न थालेको छ । उसले इरान र इटलीलाई चिकित्सकीय सामग्री तथा अन्य सुझाब दिएर सहयोग दिन सुरु गरेको छ । 

चिनियाँ अधिकारीले डिसेम्बरको अन्त्य र जनवरी सुरुतिर समस्यालाई ढाकछोप गरेको मैले पनि महसुस गरेको हुँ । तर, चीनका सम्पूर्ण निर्णय सर्वसत्तावादी सोचका कारण लिइएका थिए भन्नु मूर्खतापूर्ण हुन्छ । चीनका सबै कमीकमजोरी उसको राजनीतिक प्रणालीको कारणले भएका थिएनन् । केही नीति सार्वजनिक हितलाई ख्याल गरेर लिइएका थिए । 

उदाहरणका लागि, जनवरी सुरुमा चिनियाँ अधिकारीले सन्निकट महामारीको जोखिमलाई बेवास्ता गरेपछि आलोचना गर्नुअघि, त्यो समय एकजनाको पनि मृत्यु नभएको तथ्यमा पनि ध्यान दिनुपर्छ । बरु पछिका समय अमेरिका र अन्य सम्पन्न राष्ट्रले चालेको कदमलाई गैरजिम्मेवार मान्न सकिन्छ । चीनमा मर्नेको संख्या हजार नाघिसक्दा, अमेरिकी राष्ट्रपतिसमेत त्यहाँको संस्थापनको एक पक्षले जोखिमलाई न्यूनीकण गरिरह्यो । उता, जर्मनीले उसको प्रकोप क्षेत्रमै खेलकुद प्रतियोगिता आयोजना ग-यो । 

एसियाली राष्ट्र जापानले संक्रमित क्रुज जहाजबाट मानिसलाई विना परीक्षण देश भित्र्याउने निर्णय पनि त्यस्तै गैरजिम्मेवार मान्न सकिन्छ । यी देश अहिले विगतको कदमको व्याख्या गर्ने प्रयास गरिरहेका छन्, तर त्यसको लागि हप्तौँ ढिलो भइसक्यो । सुरुमा चीनका नेता आत्तिएकै हुन्, तर पछि तिनले अधिकांश लोकतान्त्रिक रूपमा निर्वाचित नेताले आजसम्म गरेकोभन्दा निर्णायक कदम चाले । चिनियाँ नेताले मतदाताको सामना गर्नु नपर्ला, तर ती वैधानिकतामा धेरै सचेत रहन्छन् । वैधानिकता तिनको उच्च प्रदर्शनबाट हासिल हुन्छ । त्यसैले त चिनियाँ सरकारले जनतामा आफ्ना कठोर कदम अत्यावश्यक छ भन्ने बुझाउन धेरै मिहिनेत गरेको देखिएको थियो । 

‘लकडाउन’को सबैभन्दा कठोर अवधिमा म चीनमा थिएँ । मैले कुराकानी गरेका धेरैले कोरोना भाइरसविरुद्ध सरकारी कठोरताप्रति दिक्दारी व्यक्त गरेका थिए । तथापि तीमध्ये धेरैले सरकारी कदमलाई समर्थन देखिन्थ्यो । विमानस्थलमा तापक्रम जाँच गर्नु, सामाजिक दूरी लागू गर्नु वा सबैलाई निःशुल्क कोभिड–१९को स्वास्थ्य सेवा प्रदान गर्नुमा त्यस्तो अधिनायकवादी कुरा देखिँदैन पनि । 

चीन मात्र होइन, केही खुला समाज पनि लडखडाएनन् । सिंगापुर, ताइवान र दक्षिण कोरियाका कोरोना भाइरसविरोधी कदमले सकारात्मक नतिजा दिएको छ । सम्भवतः ती देश प्रकोपको नजिक भएको त्यहाँको सरकारले गम्भीरताका साथ कदम चाले । तर, अन्यत्रका धेरै देशले चीनमा भइरहेको घटनाक्रमले आफूलाई छुँदैन जसरी हप्तौँसम्म हेरेर मात्र बसिरहे ।

(इयान जोनसन बेइजिङनिवासी बेलायती लेखक हुन् । उनी विगत २० वर्षदेखि चीनमा बसिरहेका छन् ।) 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य