मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ६ बिहीबार ०७:३६:००
Read Time : > 1 मिनेट
अर्थ

उद्योग वाणिज्य महासंघको चुनाव एक महिना धकेलियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ६ बिहीबार ०७:३६:००

नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभा तथा अधिवेशन एक महिना पर धकेलिने भएको छ । यही २८ र २९ चैतमा तोकिएको महासंघको साधारणसभा कोरोना भाइरसको महामारीका कारण जेठको पहिलो साता गर्ने तयारी भएको छ ।  बिहीबार बस्ने महासंघको पदाधिकारी बैठकले चुनाव सार्ने निर्णय लिने महासंघकी अध्यक्ष भवानी राणाले बताइन् । ‘चुनाव जेठको ८ देखि १० गते गर्ने मोटामोटी सहमति भइसकेको छ,’ उनले भनिन्, ‘बिहीबारको बैठकले निर्णय गर्नेछ ।’ 

यसअघि कोरानाको महामारी नियन्त्रण, न्यूनीकरण तथा व्यवस्थापनमा जुट्नुपर्ने निजी क्षेत्र चुनावमा रुमल्लिएको भन्दै आलोचना भएको थियो । जसले गर्दा महासंघलाई चुनाव सार्न सरोकारवालाले दबाब पनि दिँदै आएका थिए । महामारी त्रास फैलँदै गएपछि चुनाव सार्ने निर्णयमा पुगेको उनले बताइन् । 

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले धार्मिक तथा सांस्कृतिक कार्यक्रम स्थगित गर्न र २५ जनाभन्दा धेरै भेला नहुन निर्देशन दिएको छ । समितिको सो निर्णयपछि चुनाव सार्न महासंघ बाध्य भएको हो । तर, सरकारी निर्णय आउनुअघि नै नागरिक तथा सामाजिक दायित्व बोध गर्दै चुनाव सार्ने सहमति गरिसकेको उनले बताइन् । 

यस्तो अवस्थामा ७७ जिल्लाकै १५ सय प्रतिनिधि सहभागी हुने साधारणसभा रोक्नुको विकल्प नरहेको महासंघका एक अधिकारीले बताए । ‘यत्रो ठूलो सहभागिता हुने साधारणसभा रोक्नुको विकल्प थिएन, अहिलेको प्राथमिकता चुनाव र साधारणसभाभन्दा पनि महामारीको प्रभाव न्यूनीकरण तथा व्यवस्थापन हो,’ उनले भने, ‘जब हामी रहन्छौँ, तब मात्रै महासंघ रहन्छ, त्यसैले स्थगित गर्ने भएका हौँ ।’

सरकारलाई मास्क र सुरक्षा सामग्री

नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि सरकारलाई मास्क तथा व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरेको छ । सर्वसाधारणको स्वास्थ्य सुरक्षा र उपचार कार्यमा सहयोग पुर्‍याउन महासंघले १० हजार थान मास्क र २ सय ५० सेट व्यक्तिगत सुरक्षा उपकरण सरकारलाई दिएको हो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा महासंघ अध्यक्ष भवानी राणाले उद्योगमन्त्री लेखराज भट्टलाई ती सामग्री हस्तान्तरण गरिन् । अहिलेको जटिल परिस्थितिमा जनताको स्वास्थ्य सुरक्षाका लागि सरकारले अगाडि बढाएका कार्यक्रममा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मास्क तथा व्यक्तिगत स्वास्थ्य सुरक्षा उपकरण हस्तान्तरण गरेको उनले बताइन् । सहयोग कार्यलाई थालनी गरेको र यसलाई निरन्तरता दिँदै जाने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।