कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सावधानी अपनाउन सरकारले विद्यालय तहदेखि विश्वविद्यालयसम्म पठनपाठन बन्द गर्ने र सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित नोबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय अनुगमन समितिले गरेको निर्णयअनुसार विद्यालय, सिटिइभिटीदेखि विश्वविद्यालयसम्मका पठनपाठन बन्द र परीक्षा स्थगित भएको हो ।
शिक्षासचिव महेशप्रसाद दाहालले सरकारको निर्णयअनुसार सबै तहको पठनपाठन, माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) तथा विश्वविद्यालयले सञ्चालन गरिरहेका र गर्न लागेका परीक्षा स्थगित भएको बताएका हुन् । बिहीबारदेखि एसइर्ई परीक्षा सञ्चालन गर्ने तयारी थियो ।
केही घन्टाअघि मात्र स्थगित भयो एसइई
बिहीबारबाट सुरु हुने एसइर्ई परीक्षा केही घन्टाअघि मात्रै स्थगित गर्ने निर्णय भएको हो । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित समितिले सबै तयारी पूरा भएको र टाढाका विद्यार्थी परीक्षा केन्द्रमा पुगिसकेको अवस्थामा एसइई परीक्षा स्थगित गरेको हो ।
कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि सरकारले केही घन्टाअघि यस्तो निर्णय गरेको हो । यस वर्षको एसइईका लागि देशभरि एक हजार नौ सय ९५ परीक्षा केन्द्र कायम गरिएको थियो । परीक्षामा कुल चार लाख ८२ हजार दुई सय १९ विद्यार्थी सहभागी हुँदै थिए ।
विद्यालय तहमा पढ्ने उमेर समूहका ७० लाख बालबालिका आगामी तीन साता घरमै बस्ने भएका छन् । १ देखि ९ कक्षासम्मको वार्षिक परीक्षा बुधबार सकिएपछि कोरोना संक्रमणबाट जोगिन सरकारको आग्रहअनुसार बालबालिका तीन सातासम्म घरमै रहने भएका हुन् ।
कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि विद्यालयको वार्षिक परीक्षा नै अघि सारेर विद्यालयका सबै कार्यक्रम स्थगित गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसको त्रास रहेको अवस्थामा परीक्षा सकेका बालबालिकालाई अर्को शैक्षिक सत्र सुरु नभएसम्म घरमै रहन मंगलबार अपिल गरेका थिए ।
बुधबार उच्चस्तरीय समितिले समेत चैत मसान्तसम्म विद्यालय तथा क्याम्पसहरूमा पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो । कक्षा १ देखि नौ सम्मको वार्षिक परीक्षा बुधबार सकिएपछि इसिडीदेखि १० कक्षासम्मका बालबालिका तीन सातासम्म घरमै रहने भएका हुन् ।
शिक्षामन्त्रीले अस्पतालमा थाहा पाए एसइई स्थगितको निर्णय
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले समेत एसइई स्थगित भएको निर्णय अस्पतालमा जानकारी पाएका थिए । शिक्षामन्त्री पोखरेलले वीर अस्पतालमा थेरापी गर्दै गरेको समयमा उपप्रधानमन्त्री ईश्वर पोखरेलबाट बुधबार साँझ एसइई रोक्ने निर्णय भएको खबर पाएका थिए । दिउँसो एसइई नरोक्ने तर सबै पठनपाठन बन्द गर्ने निर्णय भएको थियो । त्यसलाई सम्पादन गरी माइनट गर्दा एसइई स्थगित गर्ने निर्णय बनाइएको छ ।
उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्रीबाट एसइई रोक्न भनेकाले यस्तो निर्णय गरेको सुनाएका थिए । दिउँसोको बैठकमा शिक्षामन्त्री पोखरेलले सबै तयारी पूरा भएको, दुर्गम क्षेत्रबाट ऋण खोजेर परीक्षा दिनसमेत आएको र यतिवेला स्थगित हुँदा एक वर्ष खेर जाने भएकाले रोक्न उचित नहुने बताएका थिए । नेकपाको सचिवालयमा समेत एसइई रोक्न दबाब आएकाले उपप्रधानमन्त्री पोखरेलले यस्तो निर्णय गरेको शिक्षाका अधिकारीको दाबी छ ।
त्रिविका उपकुलपति बाँस्कोटा भन्छन्- बिहीबारको परीक्षा हुन्छ, त्यसपछि निर्णय गर्छौँ
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले विश्वविद्यालयले पूर्वनिर्धारित गरेको बिहीबारको परीक्षा सञ्चालन हुने बताएका छन् । उपकुलपति बाँस्कोटाले भने, ‘बिहीबारको परीक्षा हुन्छ, त्यसपछि के गर्ने बैठक बसेर निर्णय गर्छौँ ।’ सरकारले विश्वविद्यालयका परीक्षासमेत बन्द गर्ने निर्णय गरे पनि विश्वविद्यालय स्वायत्त संस्था भएकाले आफ्नो निर्णय गर्ने बताए ।
त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा
त्रिविमा अहिले विभिन्न तह र संकायका परीक्षा सञ्चालन भइरहेको छ । व्यवस्थापन संकायको स्नातकोत्तर तह दोस्रो र चौथो सेमेस्टरको परीक्षा सञ्चालन भइरहेको छ । एमए दोस्रो सेमेस्टरको ९ चैत र चौथो सेमेस्टरको ७ चैतदेखि परीक्षा सञ्चालनको तयारी थियो । एमफिललगायतका कार्यक्रममा परीक्षा भइरहेको थियो ।