मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ चैत ६ बिहीबार १४:३०:००
Read Time : > 1 मिनेट
अर्थ

द्वन्द्वकालमा पनि सुनसान नभएको ठमेल कोरोनाले ठप्पै

Read Time : > 1 मिनेट
२०७६ चैत ६ बिहीबार १४:३०:००

सामान्य दिन हुँदो हो त अहिले ठमेलमा पर्यटकीय चाप बढ्ने समय हो । मार्च महिनादेखि नेपालमा युरोप, अमेरिकातिरका पर्यटकको चलहपहल सुरु हुने गर्छ । त्यसमा पनि हवाइसेवामार्फत नेपाल आउने ८० प्रतिशत पर्यटक सीधै ठमेल पुग्छन् । 

ट्राभल एजेन्सीदेखि आवश्यक अधिकांश सुविधा उपलब्ध हुने भएकाले पर्यटककf लागि ‘ट्रान्जिट’जस्तै हो ठमेल । ट्रेकिङका लागि नेपाल आउने अधिकांश पर्यटकसँगै पर्वतारोहीले ठमेलका होटेल भरिभराउ हुने समय हो यो । ठमेलमा उपलब्ध नेपाली हस्तकला र खास्टाका सामग्री खरिद गर्नमा पर्यटक व्यस्त हुने समय पनि हो यो । तर, अहिले ठमेल सुनसान छ । 

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष एवं ठमेलकै स्थानीय बासिन्दा राजुमान डंगोलले ठमेलको अहिलेको अवस्था द्वन्द्वकालमा ०६२-०६३ सालताका कर्फ्यू लाग्दाकाे वेलाजस्तै भएको बताउँछन् । ‘यत्तिको सुनसान र सन्नाटाको स्थिति द्वन्द्वकालमा पनि थिएन,’ डंगोलले भने । यद्यपि, ठमेलको रात्रिकालीन व्यवसायमा भने फरक नपरेको उनको कथन छ । 

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण ट्रेकिङ फस्टाउने सिजन सुरू भइसक्दा पनि ठमेलका व्यापारी दिनभरि पसलमा मोबाइलमै झुलेर बस्नुपरेको स्थिति छ । कारण, पर्यटक आवगमन ठप्प । अधिकांश व्यापारी मोबाइल चलाउन र घाम ताप्नमै व्यस्त छन् हिजोआज ठमेलमा । 

अझै पनि साँझ बिहान केही पर्यटक भने देखिने गरेको डंगोल बताउँछन् । डंगोलका अनुसार यहाँ भएकै पर्यटकहरू पनि ‘सपिङ’मा त्यत्ति खर्च गरिरहेका छैनन् । किनभने उनीहरूलाई चाँडै होइन ढिलो फर्किनुपर्ने बाध्यता छ । यो स्थिति ठमेल व्यवसायीका लागि कठिन परीक्षा बनेर उभिएको छ । डंगोल भन्छन्, ‘ठमेलले यतिवेला ठूलो तनावको सामना गरिरहेको छ ।’ 

पर्यटक अभावमा फुर्सदिला बनेर मोबाइल चलाएरै दिन बिताउनेमध्येका कपडा पसल सञ्चालक सतिश श्रेष्ठ गत वर्ष यो सिजनमा ६० देखि ७० हजारको व्यापार भएको सम्झन्छन् । 

‘अहिले पर्यटक फिटिक्कै छैनन् भन्दा पनि हुन्छ,’ उनले विरक्तिंदै भने । तीन महिना यस्तै स्थिति रहे ठमेल पूर्ण रूपमा ठप्प हुने अवस्था आउने बताउँछन् उनी । ठमेलमा सामान्य सटरको भाडादर ७० हजारबाट सुरू हुन्छ । तर, अहिलेको व्यापारलाई हेर्ने हो भने भाडा तिर्नेसमेत हम्मे पर्ने स्थिति छ । 

कोरोनाको प्रकोप चीनमा मात्रै हुँदा अधिकांश एयरलाइन्सले हवाइ सेवा बन्द गरेका थिए । त्यतिवेला नै नेपाल आउने भनेर बुकिङ गरेका ६५ प्रतिशत पर्यटकले निर्णय रद्द गरेका थिए । जसकारण यहीँ भएका पर्यटक मात्र ठमेलमा छन् । नयाँ आउनेको मात्रा शून्य नै छ । 

पर्यटक नआएर व्यहोर्नुपरेको समस्या एक ठाउँमा छ । अर्को, भ्रमण वर्ष २०२० प्रवर्धनका लागि केही व्यवसायीले सरकारबाट १३ देखि १५ प्रतिशत ब्याजदरमा ऋण पनि लिएका थिए । तर, अब त्यो अनुपातको ब्याज तिर्न सक्ने आम्दानी छैन । यसले व्यवसायीलाई थप मारमा पारेको छ । ब्याजदर ३ प्रतिशतसम्ममा झारिदिए पनि केही राहत हुन सक्ने बताउँछन् डंगोल । 

चीनबाट सुरु भएको कोरोना भाइरसको महामारीले विश्वकै अर्थतन्त्रमा प्रभाव पारेको छ । विश्वको अर्थतन्त्रमा २०२० मा कोरोनाको कारण दश खर्ब घाटा वेहोर्ने अनुमान युएन ट्रेड एजेन्सीले गरेको छ । अमेरिकाले पनि संकटकाल घोषणा गरिसकेको छ । कैयन देशका नागरिक घरबाटै काम गर्न थालेका छन् । 

हुन त नेपालमा कसैलाई कोरोना देखिएको पुष्टि भएको छैन । संक्रमित भएका एकजना व्यक्ति निको भएर घर फर्किसकेका छन् ।