मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तत्कालिन राजा वीरेन्द्रको निजी निवासको रूपमा रहेको श्रीसदन
२०७६ चैत ५ बुधबार १३:५८:००
Read Time : > 1 मिनेट
फिचर

राजा वीरेन्द्रको निजी निवास र हेलिकोप्टर १ वैशाखदेखि अवलोकन खुला 

Read Time : > 1 मिनेट
२०७६ चैत ५ बुधबार १३:५८:००

दरबार हत्याकाण्ड हुनुअघिसम्म राजा वीरेन्द्रले प्रयोग गर्दै आएको निजी घर १ वैशाख ०७७ देखि सर्वसाधारणले पनि अवलोकन गर्न पाउने भएका छन् ।

हालसम्म तत्कालीन राजाहरूले कार्यालयको रूपमा प्रयोग गर्दै आएको नारायणहिटी दरबार मात्र अवलोकनका लागि खुला गरिएकोमा नयाँ वर्षदेखि राजा वीरेन्द्रको निजी निवास ‘श्रीसदन’ पनि खुला गर्न लागिएको हो । 

मूल भागको रूपमा रहेको नारायणहिटी राजदरबारलाई संग्रहालयको रूप दिई १५ फागुन ०६५ देखि सर्वसाधारणका निम्ति खुला गरिएको थियो । तर, नारायणहिटी दरबारबाट उत्तरी कुनामा रहेकाे टुकुचा खोलाछेउकाे राजा वीरेन्द्रको निजी निवास भने सार्वजनिक गरिएको थिएन । 

नारायणहिटीभित्रको त्रिभुवन सदनमा १९ जेठ ०५८ मा दरबार हत्याकाण्ड भएको थियो । त्रिभुवन सदन तत्कालीन युवराज दीपेन्द्रको निवासको रूपमा रहेको थियो । ०४९ जेठसम्म युवराज दीपेन्द्र पनि श्रीसदनमै बसोवास गर्थे । तर, ०४९ असारमा २१ वर्ष पुगेपछि दरबारको चलनअनुसार उनी त्रिभुवन सदनमा बसोवास गर्न थालेका थिए । 

राजा वीरेन्द्रको निजी निवासको रूपमा रहेको श्रीसदनमा भने उनका अलावा बडामहारानी ऐश्वर्य, छोरी अधिराजकुमारी श्रुति र छोरा अधिराजकुमार नीराजन रहने गरेका थिए । श्रुति र नीराजनले प्रयोग गरेका कोठा श्रीसदन खुला गरिएलगत्तै सर्वसाधारणले अवलोकन गर्न पाउनेछन् । 

नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार १ वैशाखबाट श्रीसदन मात्र खुला गरिनेछैन, राजा वीरेन्द्रले प्रयोग गर्ने गरेको हेलिकोप्टर, बग्गीलगायत सवारीसाधनसमेत सर्वसाधारणले अवलोकन गर्न पाउनेछन् । ‘वीरेन्द्रले प्रयोग गर्नुभएका केही सामग्री सेनासँग सुरक्षित छन्,’ दाहालले नयाँ पत्रिकासँग भने, ‘सेनासँग समन्वय गरी ती सामग्री अवलोकनका लागि राख्नेछौँ ।’

दाहालका अनुुसार दरबार हत्याकाण्डका सम्पूर्ण विवरणलाई समेत सर्वसाधारणले हेर्न पाउने गरी अन्य तयारीसमेत गरिँदै छ । संस्कृति मन्त्रालयमातहत रहेको संग्रहालय सञ्चालनका लागि सरकारले दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति गठन गरेसँगै संग्रहालयका थप भाग र सामग्री प्रदर्शनीमा राख्न लागिएको हो । 

गणतन्त्र स्थापनाका लागि भएका संघर्षमा ज्यान गुमाएकाहरूको सम्झनामा नारायणहिटी परिसरकै पूर्वतिरको भागमा गणतन्त्र पार्कसमेत निर्माण भएको छ । ‘श्रीसदन’ सर्वसाधारणका लागि खुला गरिएकै दिन सोही पार्कसमेत अवलोकनका लागि खुला गरिनेछ । सो पार्कमा विभिन्न समयमा सहिद भएकाहरूको तस्बिरलगायतका सामग्री प्रदर्शनीमा राखिनेछन् ।