मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सायमा आरिफ
२०७६ चैत ५ बुधबार ०९:५२:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

न्युजिल्यान्ड गोलीकाण्डको प्रमुख कारण ‘श्वेत सर्वोच्चता’

न्युजिल्यान्डमा मुसलमानहरू आज जुन पीडाबाट गुज्रिरहेका छन्, त्यो हिजो तान्गाता वेनुवाजस्ता यस भूमिका आदिवासीले भोगेका थिए

Read Time : > 1 मिनेट
सायमा आरिफ
२०७६ चैत ५ बुधबार ०९:५२:००

गत वर्ष यही समय, म यहाँ न्युजिल्यान्डमा रहेका शरणार्थीसम्बन्धी कानुनी परामर्शदाताका रूपमा कार्यरत थिएँ । क्राइस्ट चर्चस्थित दुई मस्जिदमा श्वेत नश्लवादीले आक्रमण गरेको बिहान न्युजिल्यान्डमा आश्रित सिरियाली शरणार्थीको विषयमा प्रेस सम्मेलनमा बोल्नुपर्ने मेरो समयतालिका थियो ।  १५ मार्च सिरिया गृहयुद्ध सुरु भएको वार्षिकी पनि हो । क्यामेराअगाडि मुसलमान सम्प्रदायबारे त्यतिवेला मैले बोलेको कुरा अझै ताजै छ– हामी त्यतिबिघ्न त्रासित छैनौँ । हामीसँग कुराकानी गर्न आउन सक्नुहुन्छ । हाम्रो मस्जिदमा आउनुहोस्, हेर्नुहोस् । 

तत्कालै, हामीमाझ अकल्पनीय घटना घट्यो । सन् २०१० र २०११ को भूकम्पको त्रासदीबाट सहर बिस्तारै तग्रिँदै थियो, शुक्रबारको नमाज पाठ गरिरहेका मुसलमानमाथि मस्जिदभित्रै बर्बर आक्रमण गरियो, ५१ मुसलमान मारिए, ४९ घाइते भए । घटनाबारे पहिलो जानकारी साथीले एसएमएसमार्फत दिएका थिए । मात्र तीन शब्द लेखेको थिए, ‘आई एम सरी’ । सुरुमा मलाई लाग्यो पक्कै सिरियामा अर्को बम विस्फोट भयो होला । पछि, मैले घटनाको वास्तविक भिडियो हेरिरहँदा म दिग्भ्रमित भइरहेको थिएँ, यो कुनै भिडियो गेम हो, वास्तविकता होइन । किनकि यो न्युजिल्याड हो र यस्ता घटना यहाँ घट्दैनन् ।

‘धन्न हामी अमेरिकामा छैनौँ, अस्टे«लियामा छैनौँ ।’ न्युजिल्यान्डमा हामीले बारम्बार सुन्दै आएको वाक्य हो यो । तर, यो योजनाबद्ध आततायी आक्रमणपश्चात मलाई बोध भयो, यो त मात्र समयको कुरा हो । ढिलो—चाँडो जहीँकहीँ यस्तो हुन सक्छ । न्युजिल्यान्डमा मुस्लिमको जनसंख्या एक प्रतिशत मात्र छ । मुसलमानको ग्रन्थले भन्छ– समान आस्था राख्नेहरू एउटा शरीर हो, एउटा सानो अंगमा चोट लाग्दा, सिंगो शरीरलाई पीडा हुन्छ । मलाई त्यस दिन यस्तो पीडाबोध भएको थियो ।

जातिवादी विचारबाट सुसज्जित आपराधिक विचार लिएको एक्लो व्यक्तिले मस्जिदका त्यत्रा मानिस मार्नु अकस्मात् घटेको घटना थिएन 

आक्रमणको दुई महिनापछि गत मार्चमा ती मस्जिद गएँ, जहाँका आक्रमणकारीको आममाफीको अपिलमाथि सुनुवाइ हुँदै थियो । म र अर्को मुस्लिम वकिल समुदायको समर्थनमा त्यहाँ उपस्थित थियौँ । आक्रमणको निसानामा पारिएको एउटा मस्जिद अल–नुरअघि म रोकिएँ । मलाई लाग्यो, म अझै पनि ताजा रगतको गन्ध सुँघिरहेकी छु । म त्यहाँ भएको भागदौड कल्पिन सक्थेँ । घाइतेलाई आश्रयस्थलतिर कुदाउँदै गरेको दृश्य देख्न सक्थेँ । किनकि, एक किसिमको रोदन, क्रन्दन र आक्रोस त्यहाँको हावामा अझै पनि मडारिइरहेको थियो । जातिवादी विचारबाट सुसज्जित आपराधिक विचार लिएको एक्लो व्यक्तिले मस्जिदका त्यत्रा मानिसलाई मारेको थियो । तर, त्यो अकस्मात् घटेको घटाना थिएन । लामो समयदेखि यसको मलजल भइरहेको थियो । 

यो गोलीकाण्डको दुई महिनापहिले पार्किङमा एकजना मानिस मेरो छेउमा आएको थियो र भनेको थियो– धेरैलाई तिमी यहाँ बसेको मन परेको छैन । मलाई औँल्याएर विद्यार्थीको समूह चिच्याउँदै गएको थियो– हेर, हेर आतंकवादी ! म र हिजाब पहिरिएर हिँडिरहेकी मेरी साथीलाई आफ्नो हातको चोरऔँलाले पेस्तोलको स्वरूप बनाएर तेस्र्याउँदै एउटा मानिसले हाम्रो कन्चटमा गोली ठोकेको अभिनय गरेको थियो । न्युजिल्यान्डका जुनसुकैै मुसलमानलाई सोध्नुहोस्, ऊबाट यस्ता धेरै अनुभव सुन्न पाउनुहुनेछ । मुस्लिम मात्र होइन, अन्य देशवासीले पनि यस्तो अनुभव गरेको बताउनेछन् । तिनले पनि भन्न सक्छन् । 

यो औपनिवेशीकरणको रगतमा डुबेको भूमि हो । हामी यहाँ शताब्दीऔँदेखि श्वेत सम्प्रभुताको दासत्वमा जिजीविषा खोजिरहेका छौँ, आफ्नो समुदाय निर्माण गरिरहेका छौँ । न्युजिल्यान्डका मुसलमानहरू आज जुन पीडाबाट गुज्रिरहेका छन्, त्यो हिजो तान्गाता वेनुवाजस्ता यस भूमिका आदिवासीले भोगेका थिए । शताब्दीऔँदेखि आजसम्म पनि उनीहरूले त्यही पीडा भोगिरहेका छन् । ठ्याक्कै एक वर्ष भयो, क्राइस्ट चर्च गोलीकाण्ड घटेको । यस्तो घटना फेरि पनि घट्न सक्छ, अमेरिका या अस्ट्रेलियामा मात्र होइन, जहीँकहीँ घट्न सक्छ । 

(आरिफ न्युजिल्यान्ड मानवअधिकार आयोगकी सल्लाहकार हुन्) अलजजिरा डटकमबाट