१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ चैत ५ बुधबार ०६:३५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

७० लाख बालबालिका अब तीन साता घरमै

कोरोनाको त्रासले विद्यालयमा कुनै गतिविधि नगर्न आग्रह, तीन सातापछि अवस्था हेरेर अर्को निर्णय हुने

Read Time : > 2 मिनेट
२०७६ चैत ५ बुधबार ०६:३५:००

विद्यालय पढ्ने उमेर समूहका ७० लाख बालबालिका आगामी तीन साता घरमै बस्ने भएका छन् । १ देखि नौ कक्षासम्मको वार्षिक परीक्षा बुधबार सकिएपछि कोरोना संक्रमणबाट जोखिन सरकारको आग्रहअनुसार बालबालिका तीन सातासम्म घरमै रहने भएका हुन् । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसको त्रास रहेको अवस्थामा परीक्षा सकेका बालबालिकालाई अर्को शैक्षिक सत्र सुरु नभएसम्म घरमै रहन मंगलबार अपिल गरेका हुन् । उनले विद्यालयमा सांस्कृतिक कार्यक्रम, अभिभावक दिवस, नतिजा सार्वजनिक, प्रवेश परीक्षा वा भर्नाका नाममा भिडभाड वा भेला नगर्नसमेत आग्रह गरेका छन् । 

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना संक्रमण फैलिने जोखिम भएका कारण वार्षिक परीक्षा अगाडि सारेको बताए । उनले भने, ‘विद्यालयमा भिडभाड गर्ने, विभिन्न गतिविधि गर्ने र जोखिम बढाइरहने हो भने परीक्षा अघि सारेको कुनै अर्थ हुँदैन ।’ उनले इसिडी (प्रारम्भिक बाल विकास)देखि विद्यालय जाने उमेर समूहका ७० लाख बालबालिका अध्ययनरत रहेको बताए । विद्यालयमा प्रशासनिक अत्यावश्यक कामबाहेक अरू गतिविधि गर्न नहुने बताए ।

उनले तीन सातापछि अवस्था हेरेर अर्को निर्णय हुने बताए । विद्यार्थी अन्यत्र जाने डरले कतिपय निजी विद्यालयले विद्यार्थीलाई रोक्न विभिन्न कार्यक्रम राखेका छन् । परीक्षापछि पनि विद्यार्थीहरू विद्यालयमा आइरहून् भनेर उनीहरूले नृत्य, संगीतलगायतका कक्षा, अभिभावक दिवसजस्ता कार्यक्रम तय गरेका छन् ।

एसइईमा सावधानी अपनाउन आग्रह
६ चैतबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सावधानी अपनाउन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आग्रह गरेका छन् । मन्त्री पोखरेलले परीक्षा सञ्चालनका सबै तयारी पूरा भएको र विद्यार्थीसमेत केन्द्रमा पुगिसकेकाले सबैले सावधानी अपनाउन अपिल गरेका छन् । यस वर्षको एसइईका लागि देशभरमा एक हजार नौ सय ९५ परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षामा कुल चार लाख ८२ हजार दुई सय १९ विद्यार्थी सहभागी हुँदै छन् । हरेक परीक्षा केन्द्रमा हेल्थ डेक्स र आइसोलेसन कक्षको समेत व्यवस्था छ ।

सरकारको अपिल  निजी विद्यालयले मान्नैपर्छ :  टीकाराम पुरी, अध्यक्ष प्याब्सन

कोरोना भाइरस संसारभर फैलिएकाले यो समय संवेदनशील हो । राज्यले गरेको अपिल सबैले मान्नुपर्छ । यो समयमा कुनै गतिविधि नगर्नु नै विद्यालय, बालबालिका र आमनेपालीको हितमा छ । त्यसैले, सबैले कार्यान्वयन गर्नुपर्छ, सरकारलाई सहयोग गर्नुपर्छ । यसको विकल्प छैन । यदि, सरकारले नियम निर्देशन नमाने विडम्बना हुन्छ । त्यस्ता विद्यालयलाई कारबाही गर्न सक्छ । सबैभन्दा ठूलो विषय स्वास्थ्य हो, यसमा सजगता अपनाउन प्याब्सनले पनि अपिल गर्छ  । 

विदेशमा रहेका विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ दिने

विदेशी शैक्षिक संस्थामा अध्ययन गरिरहेका नेपाली विद्यार्थीलाई शिक्षा मन्त्रालयले ‘नो अब्जेक्सन लेटर’ (एनओसी) दिने भएको छ । नियमित रूपमा अध्ययन गरिरहेका विद्यार्थीलाई नेपालबाट अभिभावकले रकम पठाउन सक्ने व्यवस्था गर्न बुधबारदेखि मन्त्रालयले एनओसी दिन लागेको हो । 

कोरोना भाइरस नियन्त्रणसम्बन्धी काम गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित नोबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय अनुगमन समितिले विदेशमा रहेका विद्यार्थीलाई बसाइ र शैक्षिक शुल्क तिर्नका लागि रकम पठाउन मिल्नेगरी एनओसी दिने निर्णय गरेपछि शिक्षा मन्त्रालय तयार भएको हो । 

विश्वव्यापी रूपमा कोरोना भाइरस संक्रमण बढेपछि समितिले विदेश अध्ययनका लागि नो अब्जेक्सन लेटर नदिने निर्णय गरेको थियो । संक्रमण फैलिएका र उच्च जोखिम रहेका देशमा २० फागुनबाट एनओसी दिन बन्द भएको थियो । त्यसपछि पनि २३ फागुनसम्म पाँच देशमा अध्ययनका लागि एनओसी लगेका थिए । २४ फागुनबाट एनओसी दिन पूर्ण रूपमा बन्द छ ।
 
३३ हजारले लगे एनओसी, सबैभन्दा बढी अस्ट्रेलिया

वैदेशिक अध्ययन अनुमति शाखाका अधिकृत बैकुण्ठ आचार्यका अनुसार विदेश अध्ययनका लागि चालू आर्थिक वर्षमा शिक्षा मन्त्रालयबाट ३२ हजार सात सय १७ विद्यार्थीले एनओसी लगेका छन् । यस अवधिमा सबैभन्दा बढी १० हजार ५२ विद्यार्थीले अस्ट्रेलिया अध्ययनका लागि एनओसी लगेका छन् ।

यसैगरी, दोस्रो आकर्षण रहेको जापान अध्ययनका लागि ६ हजार ७२ र तेस्रोमा साइप्रस अध्ययनका लागि दुई हजार चार सय ७८ ले एनओसी लगेका छन् । यो अवधिमा ६८ देशमा अध्ययनका लागि एनओसी लगेका छन् । दक्षिण कोरियाका लागि एक हजार सात सय ८० जनाले एनओसी लगेको उनले बताए ।