१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ चैत ४ मंगलबार १४:३४:००
Read Time : > 1 मिनेट
समाचार

चिनियाँ शैलीमा भरतपुरमा कोरोना विशेष अस्पताल बन्दै, ७२ घण्टापछि सञ्चालनमा ल्याइने

Read Time : > 1 मिनेट
२०७६ चैत ४ मंगलबार १४:३४:००

विश्वव्यापी महामारीको रूप लिइरहेको कोभिड–२०१९ बाट हुनसक्ने संक्रमितको उपचारका लागि भरतपुर महानगरपालिकाले कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याउने भएको छ ।

महानगर प्रमुख रेणु दाहालको संयोजकत्वमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण पूर्वतयारीका लागि गठन गरिएको कार्यदलले चितवन उद्योग संघ भरतपुरको परिसरमा रहेको प्रदर्शनी केन्द्रलाई भरतपुर कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको हो । ७२ घण्टापछि पूर्णरूपमा सञ्चालनमा ल्याइने बताइएको सो अस्पतालमा १० आइसीयू, १० हाइ डिपेन्डेन्ट युनिट र ५० वटा जेनरल गरी कुल ७० वटा बेड रहने छन् ।

अस्पताल पूर्णरूपले तयार हुन आवश्यक पर्ने उपकरण तथा सामग्री भने महानगरपालिका, उद्योग संघ, उद्योग वाणिज्य संघलगायतले उपलब्ध गराउने बताइएको छ । महानगरका विभिन्न अस्पतालहरूमा स्क्रिनिङ गराउँदा कोरोना भाइरसको आशंका गरिएका बिरामीहरूलाई थप उपचारका लागि कोरोना विशेष अस्पतालमा पठाइने बताइएको छ । 

सबै अस्पताललाई आफ्नै आइसोलेसन वार्ड खडा गरी उपचार प्रदान गर्न पनि कार्यदलले निर्देशन दिएको छ । कोरोना संक्रमित व्यक्तिको उपचारका क्रममा सहजता होस् भन्नका लागि कार्यदलले चिकित्सकहरूको पनि कार्यविभाजन गरेको छ । 

कार्यदलका अनुसार चिकित्सकद्वय डा. भोजराज अधिकारी र अनिलविक्रम कार्कीले कोरोना विशेष अस्पतालमा ओपिडी विभाग हेर्नेछन् भने जनरल वार्डको जिम्मा डा. विजयचन्द्र आचार्यलाई दिइएको छ । 

हाइ डिपेन्डेन्ट युनिटमा भने पुरानो मेडिकल कलेज र एसोसिएसन अफ प्राइभेट हस्पिटल अफ नेपालका चिकित्सकहरूले बिरामीको उपचार गर्ने छन् । कार्यदलका अनुसार चितवन मेडिकल कलेज शिक्षण अस्पताल आइसियू कक्षका बिरामीहरूको उपचारमा खटिनेछन् । अस्पतालमा आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन भने भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले गर्नेछन् । 

भरतपुर विमानस्थल हुँदै आवत–जावत गर्ने यात्रुहरू तथा विभिन्न स्थानीय तहका वडाका मानिसहरूको स्क्रिनिङ टेष्ट गर्ने जिम्मा जिल्ला स्वस्थ्य कार्यालयलाई दिइएको छ । 

कोरोना भाइरसको नमुना परीक्षण टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा मात्रै हुने गरेकोमा भरतपुरमै नमुना परीक्षण गर्न मिल्ने व्यवस्था मिलाइदिन कार्यदलका संयोजकसमेत रहेकी मेयर दाहालले आग्रह गरेकी छिन् ।