मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विप्लव प्रतीक
२०७६ चैत ४ मंगलबार ०९:२१:००
Read Time : > 1 मिनेट
सप्तरंग

बाबुको यादमा जन्मेको गीत

गीतको कथा

Read Time : > 1 मिनेट
२०७६ चैत ४ मंगलबार ०९:२१:००

‘हर रात सपनीमा ऐँठन हुन्छ
गाउँमा सायद पहिरो गयो कि’

दीप श्रेष्ठको स्वरमा गुन्जिरहने यो गीतले श्रोताको मनलाई तरंगित बनाइदिन्छ । गाउँबाट सहर पसेकाहरूलाई त यो गीत सुनेपछि परिवार र घरको सम्झनाले सताउँछ । ०४५ सालतिर काठमाडौं उपत्यकामा अहिलेजस्तो सहरीकरण थिएन, गाउँले माहोल नै थियो । काठमाडौंका रैथाने विप्लव प्रतीक पुल्चोकको पक्की घरमा बस्थे, उनका बाबु भने जयवागेश्वरीमा माटोले बनेको पुरानो घरमा एक्लै बस्थे । बाबु–छोरा छुट्टिनुको कारण पारिवारिक कलह थिएन । उनका बाबुलाई पुरानै घर प्यारो लाग्थ्यो । र, उनी त्यसैमा रमाएका थिए ।

पानी र चट्याङ पर्दा एक्लै बसेका बाबुको सम्झनामा रुझ्न थाल्थे, विप्लव । त्यतिवेला अहिलेजस्तो सञ्चारका साधनको उपलब्धता कहाँ ! भोलिपल्ट बाबुले पढाउने विद्यालयमा फोन गरेर स्वर सुनेपछि मात्र उनको मन सम्हालिन्थ्यो । त्यही समयमा विप्लव चितवन पुगेका थिए । आँखाअघिल्तिर एकाएक नारायणी नदी उर्लियो । र, आसपासका बस्तीमा बितण्डा मच्चायो । विप्लवलाई भने काठमाडौंमा रहेका बाबु र पुरानो माटोको घरको सम्झनाले सतायो । र, कविहृदय पोखियो– ‘हर रात सपनीमा ऐँठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि ।’

कवि विप्लव प्रतीकको आँखाअघिल्तिर नारायणी नदीले आसपासका बस्तीमा वितण्डा मच्चायो । उनलाई काठमाडौंमा रहेका बाबुको सम्झना आयो । र, कविहृदय पोखियो– ‘हर रात सपनीमा ऐँठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि ।’

नारायणी किनारमा तयार भएको गीतको स्थायीलाई खल्तीमा बोकेर काठमाडौं फर्किए, उनी । अनि, बाबुको सन्चो–बिसन्चो बुझिसकेपछि बाँकी लाइन पूरा गरे । तर, बाबु जीवित छँदै गीत सुनाउने हेक्का भएन, उनलाई । ०५३ सालमा उनका बाबुले संसार छाडे । ‘बा जीवित छँदा त्यो गीत उहाँलाई सुनाउने ध्यानै भएन, अहिले सम्झिँदा भक्कानो छुट्छ,’ उनी भन्छन् । त्यो गीत उनले गायक दीप श्रेष्ठलाई ०४८ सालतिरै दिएका थिए ।

बाबु बितेको तीन वर्षपछि अर्थात् ०५६ सालमा तत्कालीन ‘सिम्फोनिक’ स्टुडियोमा दीप श्रेष्ठको संगीत र स्वरमा गीत रेकर्ड भयो । रेकर्डिस्ट थिए, दीप तुलाधर । यो गीतले विप्लव र दीप दुवैलाई राम्रो चर्चा दिलायो । हिट्स एफएम अवार्डमा चार विधामा मनोनयन र तीन विधामा पुरस्कृत भयो, गीत ।

गीत रिलिज हुनुअघि दीप श्रेष्ठले योगेश्वर अमात्यलाई सुनाए । चक्रपथको फेरो मार्दै गीत सुनेपछि अमात्यले दीपलाई सोेधे, ‘कुन गाउँको मान्छेले लेखेको ?’ दीपलाई योगेश्वरको जवाफ, ‘काठमाडौंकै विप्लव प्रतीक भन्ने गाउँलेले ।’ विप्लवलाई अमात्यले नचिन्ने कुरै थिएन । विप्लवलाई गीतकार बनायो, यस गीतले । उनी भन्छन्, ‘मलाई त्यसवेला कवि बनेर चिनिने इच्छा थियो, तर चिनिएँ गीतकारका रूपमा ।’