मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
प्रभात भट्टराई
२०७६ चैत ४ मंगलबार ०८:५४:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

ट्रम्पविरुद्ध डेमोक्रेटिक ऊर्जा

अश्वेतको मात्र होइन, हिस्पानिक र श्वेत डेमोक्रेटको पनि अहिलेका लागि एउटै एजेन्डा छ– ट्रम्पको बहिर्गमन

Read Time : > 4 मिनेट
प्रभात भट्टराई
२०७६ चैत ४ मंगलबार ०८:५४:००

डोनाल्ड ट्रम्पको तीन वर्षअघिको विजय डेमोक्रेटिक पार्टीका जो–कोहीका लागि ठूलो झड्का थियो । सबै मत सर्वेक्षणले हिलारी क्लिन्टनको जित ठोकुवा गरिरहेका वेला मिचिगन, पेन्सिलभेनिया र विस्कनसन राज्यमा साढे ७७ हजार मतान्तरको अग्रतासँगै ट्रम्प विजयी भए । प्रत्येक राज्यले जनसंख्याका आधारमा पाउने इलेक्टोरल कलेज प्रणालीका कारण देशभरमा ३० लाख भोटले पछि परे पनि तीन सय चार इलेक्टोरल मत पाउँदै ट्रम्प राष्ट्रपति निर्वाचित भएका थिए । अमेरिकी संविधानअनुसार राष्ट्रपति चुनिन दुई सय ७० इलेक्टोरल मत आवश्यक पर्छ ।

ट्रम्पप्रति डेमोक्रेटिक मतदाताको रिस चालु प्राइमरी निर्वाचनमा पोखिन थालेको छ । २४ राज्य र केही टापुमा निर्वाचन सम्पन्न हुँदा डेमोक्रेटिक मतदातामा नयाँ उत्साह र एकता देखिएको छ । अहिलेसम्मको निर्वाचनबाट पूर्वउपराष्ट्रपति जो बाइडेन आउँदो नोभेम्बरमा डेमोक्रेटिक पार्टीको उम्मेदवार हुने लगभग तय भएको छ । उनले १५ राज्यमा जितिसकेका छन् भने मतगणना जारी रहेको वासिंग्टनमा उनको अग्रता छ । बाइडेनलाई टक्कर दिइरहेका सिनेटर बर्नी स्यान्डर्सले ६ राज्य जितेका छन् भने मतगणना जारी रहेको क्यालिफोर्नियामा अग्रतामा छन् ।

सन् २०१६मा डेमोक्रेटिक पार्टी संस्थापन हिलारी क्लिन्टनलाई उम्मेदवार बनाउन चाहन्थ्यो । क्रान्तिकारी एजेन्डाका साथ स्यान्डर्स फरक छाप बनाउँदै थिए । क्लिन्टनसँग अन्तिमसम्म प्रतिस्पर्धा गरे पनि स्यान्डर्सले पार्टीको टिकट हत्याउन नसकेपछि स्यान्डर्सलाई अति प्रेम गर्ने दुई लाख मतदाताले उल्लिखित तीन राज्यमा ट्रम्पलाई सघाउँदाको परिणामस्वरूप चामत्कारिक नतिजा आयो । 

सुरुका प्राइमरी चुनावबाट स्यान्डर्स नै ट्रम्पविरुद्ध भिड्ने संकेत नदेखिएको भने होइन । तर, स्यान्डर्सलाई कसैले रोक्न नसक्ने अड्कलबाजी भइरहेकै वेला बाइडेनले चौथो प्राइमरी राज्य साउथ क्यारोलिनामा चमत्कार गर्न सफल भए । उनले झन्डै ३० प्रतिशतको मतान्तरले स्यान्डर्सलाई पराजित गरे । अनि, संस्थापनसमर्थित एवं मध्यमार्गी खेमाका सबै उम्मेदवार बाइडेनलाई नेता स्विकार्न तयार भए ।

पिट बुट्टिजज र सिनेटर एमी क्लोबुचारले उम्मेदवारी होडबाट हात झिके । अघि नै मैदान छाडिसकेका पूर्वहाउस अफ रिप्रिजेन्टेटिभ बेटो ओ’रर्क, कमला ह्यारिस, कोरी बुकरलगायत पनि बाइडेन मोर्चामै सामेल भए । मार्च तीनमा सिजनको सबैभन्दा ठूलो प्राइमरी निर्वाचन हुँदै थियो– १४ राज्यको चुनाव हुने ‘सुपर ट्युस्डे’ । सहज जित निकाल्ने अपेक्षामा गरिएका स्यान्डर्सका लागि नचिताएको नजिता आयो– १० वटा राज्यमा बाइडेनको जित । स्यान्डर्सले २०१६मा जितेका मासाचुसेट्स, मेनजस्ता राज्य पनि बाइडेनले खोसिदिए । 

‘मिनी सुपर ट्युस्डे’ नाम दिइएको मार्च १०को ६ राज्यको प्राइमरी निर्वाचनले भने बाइडेनलाई डेमोक्रेटिक उम्मेदवारका रूपमा सुनिश्चित गर्‍यो । ‘मिनी सुपर ट्युस्डे’मा स्यान्डर्सले सन् २०१६मा जित हासिल गरेको मिचिगनमा बाइडेनले साढे १६ प्रतिशत बिन्दुको मतान्तरसहित जित निकाले । ‘मिनी सुपर ट्युस्डे’मा सबैभन्दा सानो राज्य नर्थ डकोटाबाहेक सबै बाइडेनले हत्याए ।

डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतीय टिकट पाउन आउँदो जुलाईमा विस्कनसनमा हुने पार्टीको राष्ट्रिय महाधिवेशनमा एक हजार नौ सय ९१ जना प्रतिनिधिको समर्थन आवश्यक पर्छ । आधाहाराहारी राज्यको प्राइमरी निर्वाचन सम्पन्न हुँदा बाइडेनले झन्डै नौ सयसहित स्यान्डर्सभन्दा एक सय ५० भन्दा बढी प्रतिनिधि हात पारिसकेका छन् । बाइडेन अब रोक्न नसकिने गरी अघि बढेका छन् ।

अहिले बाइडेन र सन् २०१६मा हिलारीको उम्मेदवारीबीच एजेन्डाका हिसाबले होइन कि मतदाताको उत्साहका दृष्टिले धेरै फरक छ । सन् २००८ को प्राइमरी चुनावका तुलनामा २०१६ मा न्यून मत खसेको थियो । तर, डेमोक्रेटिक पार्टी वेलैमा लेखाजोखा नगरी ट्रम्पजस्तो अलोकप्रिय उम्मेदवारलाई सजिलै जित्ने एकोहोरो रटानमा ढुक्क रहे । तर, प्राइमरीमै नदेखिएको उत्साह नोभेम्बरको फाइनल चुनावमा पनि फर्किएन । स्यान्डर्सका केही समर्थक ट्रम्पतिर लाग्दा काला जातिका मतदाताको मतदान केन्द्रमा उपस्थिति कम भइदियो ।

अश्वेतमा हिलारीको अलोकप्रियता डेमोक्रेटिक संस्थापनले भेउ नपाउनु नै हारको मुख्य कारक बन्यो । यसपालि भने साउथ क्यारोलिना प्राइमरीले अश्वेतको एकछत्र रोजाइ बाइडेन हुने संकेत गरिसकेको छ । डेमोक्रेटिक प्राइमरी मतदातामा पनि देशभर गरी झन्डै ६० प्रतिशत काला जातिका छन् । तिनको जोडदार सहयोगविना फाइनल चुनाव जित्न सम्भव छैन । सन् १९९४मा बिल क्लिन्टन र २००८मा बाराक ओबामाको जितको सूत्र यही थियो । सोही कारण बाइडेन सुरुदेखि नै उनीहरूलाई फकाउन लागिपरेका थिए र अन्ततः सफल भए । 

अश्वेतमा ट्रम्प अलोकप्रिय छन् । ट्रम्पलाई हराउन सक्ने उम्मेदवारको खोजीमा रहेका मतदाताले सजातीय नभए पनि नजिकको भावनात्मक नाता बोक्ने बाइडेनलाई पत्याए । तिनको यो आकर्षण हरेक राज्यको प्राइमरी मतदानमा देखिइरहेको छ । अश्वेत मात्र होइन हिस्पानिक र श्वेत डेमोक्रेटको पनि अहिलेका लागि एउटै एजेन्डा छ– ट्रम्प बहिर्गमन । सोही कारण ओइरिएर प्राइमरीमा भाग लिइरहेका छन् । प्राइमरी चुनावमा भोट हाल्न आएका डेमोक्रेटिक मतदाताले एजेन्डाभन्दा ट्रम्पलाई हराउन सक्ने उम्मेदवार चयनमा ध्यान दिएको विभिन्न सर्वेक्षणले देखाएका छन् ।

प्राइमरी भएको न्यु ह्यामसरबाट नै डेमोक्रेटिक मतदाताको बढ्दो उपस्थितिको संकेत मिलेको थियो । यो राज्यमा यसपालि तीन लाखभन्दा बढीले डेमोक्रेटिक मतपत्रमा भोट हाले । यसअघि सन् २००८मा दुई लाख ८६ हजारले डेमोक्रेटिक प्राइमरीमा मतदान गरेर रेकर्ड कायम गरेका थिए । २०१६मा यो दुई लाख ५४ हजारमा झर्‍यो ।

ट्रम्पलाई मन नपराउने गोराहरूमा देखिएको यो उत्साह अश्वेत बहुलराज्यमा कस्तो रहला भन्ने चिन्ता डेमोक्रेटिक वृत्तमा कायमै थियो । तर, साउथ क्यारोलिना प्राइमरीसँगै यो चिन्ता पनि हरायो । उक्त राज्यमा पाँच लाख ३९ हजार मत डेमोक्रेटिक मतपत्रमा पर्‍यो । यो संख्या सन् २००८मा बाराक ओबामाको उम्मेदवारीले उत्साह जगाएको प्राइमरीको भन्दा आठ हजारले बढी हो । सन् २०१६मा साउथ क्यारोलिनामा तीन लाख ७० हजारले मात्र डेमोक्रेटिक मतपत्रमा भोट हालेका थिए ।

डेमोक्रेटिक मतदाताले प्राइमरी निर्वाचनप्रति उत्साहजनक सहभागिता जनाउँदा पार्टीपंक्तिमा नयाँ ऊर्जा सञ्चार भएको हो, मतदान केन्द्रमा जान नसक्ने या नचाहने मतदाताले घरबाटै भोट हालेर हुलाकमार्फत पठाइरहेका छन्

भोट ‘स्विङ’ हुने राज्यको रूपमा रहेको नर्थ क्यारोलिनामा डेमोक्रेटिक प्राइमरी भोट दुई लाखले बढेर १३ लाख पुगेको छ । सन् २००८मा ओबामाले जितेको यो राज्य सन् २०१२मा रिपब्लिकन उम्मेदवार मिट रोम्नीले खोसेका थिए । २०१६मा पनि ट्रम्पले रिपब्लिकन जित निरन्तरता दिए । यसपालि नर्थ क्यारोलिनामा फेरि डेमोक्रेटले झन्डा गाड्न सक्छ ।

लामो समय रिपब्लिकनको एकछत्र प्रभाव रहे पनि पछिल्लो समय डेमोक्रेटिक संगठन बढ्दै गएको अर्को ठूलो राज्य टेक्सासमा २१ लाखभन्दा बढी मत यसपालि डेमोक्रेटिक मतपेटिकामा खसेको छ । सन् २०१६को तुलनामा डेमोक्रेटिक प्राइमरी भोट यो राज्यमा सात लाखले बढेको हो । यस्तै, डेमोक्रेटका लागि सहज रहेको राज्य भर्जिनियामा पनि पार्टीको प्राइमरी मत सात लाख ८३ हजारबाट १३ लाखमा पुगेको छ ।

टेनेसीको प्राइमरी मत पनि तीन लाख ७१ हजारबाट पाँच लाख १३ हजारमा उक्लिएको छ । डेमोक्रेटका लागि अर्को खुसीको खबर ‘मिनी सुपर ट्युस्डे’ले दियो । सन् २०१६मा डेमोक्रेटबाट ट्रम्पले खोसेको मिसिगनमा यसपालि डेमोक्रेट प्राइमरीमा भन्डै चार लाख मत बढेको छ । बाइडेनको उपस्थितिप्रति उत्साहित मतदाताका कारण यसपालि नोभेम्बरमा मिसिगन ट्रम्पबाट खोसिने सम्भावना प्राइमरीको नजिताले प्रगाढ गरिदिएको छ । 

कोरोना भाइरसका कारण अमेरिका आक्रान्त भइसक्दा पनि डेमोक्रेटिक मतदाताले प्राइमरी निर्वाचनप्रति उत्साहजनक सहभागिता जनाउँदा पार्टीपंक्तिमा नयाँ  ऊर्जा सञ्चार भएको हो । मतदान केन्द्रमा जान नसक्ने या नचाहने मतदाताले घरबाटै भोट हालेर हुलाकमार्फत पठाइरहेका छन् । भाइरसबाट प्रभावित वासिंग्टनमा घरबाटै मतदानमा सहभागी भएर पनि उत्साहजनक भोट खसेको छ ।

डेमोक्रेटका लागि सहज वासिंग्टन राज्यमा सन् २०१६को प्राइमरीमा आठ लाख भोट खसेको थियो । मिसिसिपी, मिजौरीजस्ता अश्वेत बहुलराज्यमा पनि डेमोक्रेटिक मतपत्रमा उत्साहजनक मत खसेको छ । प्रतिकूलताकाबीच प्राइमरी निर्वाचनमा डेमोक्रेटिक उम्मेदवारका लागि भोट बढ्नुले सन् २०१६ भन्दा यो निर्वाचन ट्रम्पका लागि चुनौतीपूर्ण हुने देखाएको छ । ट्रम्पप्रति डेमोक्रेटिक मतदाताको क्रोध कोरोना भाइरसलाई उनले सुरुमा गरेको नजरअन्दाजले झनै बढाइदिएको छ ।

भाइरसको जोखिम देशैभर देखिएपछि आगामी चरणका लागि तय भइसकेको चुनावीसभा डेमोक्रेटिक उम्मेदवारले स्थगित गरेका छन् । यस्तोमा घरबाट भोट हालेर हुलाकबाट पठाउने क्रम झनै बढ्नेछ । अर्को साता हुने फ्लोरिडा, ओहायो, एरिजोना, इलाइनोइस, जर्जियाजस्ता ठूला राज्यमा घरबाट गरिने मतदान कस्तो रहने हो, त्यसले नोभेम्बरको प्रतिस्पर्धालाई थप तरल बनाउँदै लैजानेछ ।