१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७६ चैत ३ सोमबार १४:११:००
Read Time : < 1 मिनेट
विश्व

१९ जना अशक्तको हत्या गर्ने जापानी नागरिकलाई मृत्युदण्ड 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ चैत ३ सोमबार १४:११:००

अशक्त हेरचाहगृहमा राखिएका १९ मानिसको हत्या गर्ने एक जापानी नागरिकलाई सोमबार जापानको योकोहामा जिल्ला अदालतले मृत्युदण्डको फैसला सुनाएको छ। उनले सन् २०१६ मा टोकियोनजिकै अशक्त मानिस राखिएको हेरचाहगृहमा रहेका १९जना मानिसको हत्या गरेका थिए। साे घटनामा अरू २५ जना घाइते भएका थिए। 

कान्गावा प्रान्तको सगामिहाराको हेरचाहगृहका पूर्वकर्मचारी ३० वर्षीय सतोशी उमेत्सुले अदालतमा सुनुवाइको क्रममा हत्या गरेको स्वीकार गरेका थिए र उनले राम्रोसँग कुराकानी तथा सूचना सञ्चार गर्न नसक्ने ती अशक्त मानिसको कुनै मानवअधिकार नभएकाले हत्या गरेको बयान दिएका थिए । 

अशक्त व्यक्ति बाँच्नुको कुनै अर्थ छैन र यो आफूले समाजका लागि गरेको उनले सुनुवाइका क्रममा बताएका थिए। अभियोजन पक्षले उमेत्सुलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका थिए, तर उनको डिफेन्स टिमले उमेत्सुलाई सन् २०१५ देखि मानसिक रूपमा अस्वस्थ भएको तर्क गर्दै उमेत्सुले गरेको उक्त कार्य आपराधिक नहुने जिकिर गरेका थिए। 

उमेत्सु सुकुई यामायुरी इनमा जुलाई २६, २०१६ को बिहानै धेरै चक्कु बोकेर पुगेका थिए। हेरचाहगृहको झ्याल फुटाएर भित्र छिरे र त्यहाँ सुतिरहेका मानिसमाथि एक–एक गर्दै चक्कु प्रहार गर्न थाले । जापानिज न्युज एजेन्सी क्योदोका अनुसार मृत्यु भएका १९ जना १९ देखि ७० वर्षसम्मका थिए। जसमा घाइतेमध्ये २० जना गम्भीर थिए।

आक्रमणपछि उनी आफैँ प्रहरी चौकी गएका थिए। पक्राउ परेदेखि नै ती मानिसको हत्या गरेकोमा उनले पश्चात्ताप नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। आक्रमणको केही महिनापछि उनले संसद्लाई चिठी लेख्दै आफूलाई अधिकार भए ४ सय ७० अशक्त व्यक्तिको हत्या गर्ने बताएका थिए।

आक्रमण भएको बेला उक्त हेरचाहगृहमा एक सय ५० अशक्त मानिस राखिएको थियो । आक्रमण भएको समयमा नौजना कर्मचारी ड्युटीमा थिए।