मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विकास बस्नेत, वाइल्डलाइफ फोटोग्राफर
नवीन प्यासी काठमाडाैं
सागर चन्द काठमाडाैं
२०७६ चैत ३ सोमबार ०९:३३:००
Read Time : > 2 मिनेट
नयाँCity

वसन्तका चरा : चराचुरुंगीको भाषा, प्रेम र जीवन

Read Time : > 2 मिनेट
नवीन प्यासी, काठमाडाैं
सागर चन्द, काठमाडाैं
२०७६ चैत ३ सोमबार ०९:३३:००

‘एसियन वाइल्डलाइफ फोटोग्राफर्स क्लब’ले विकास बस्नेतलाई जनवरी २०२० को ‘फोटोग्राफर अफ दी मन्थ’ उपाधि दियो । बस्नेत पाँच वर्षयता चराचुरुंगीको जीवनशैली अध्ययन र फोटोग्राफीमा व्यस्त छन् । वाइल्डलाइफ फोटोग्राफीलाई उनी ध्यानको संज्ञा दिन्छन् । वसन्त ऋतुलाई चराचुरुंगीको मैथुनिक काल मानिन्छ । त्यसैले यस ऋतुलाई प्रेम र यौवनावस्थाको समय पनि भनिन्छ । चराचुरुंगीका अनेक चालढालका तस्बिर कैद गर्ने बस्नेतसँग चरा–जगत्का विभिन्न कोण खोतल्दै गरिएको संवाद :

भ्रम-निवारण

वसन्त ऋतुको सुरुवातसँगै न्याउलीको आवाजले ‘रनवन’ गुन्जिन्छ । न्याउलीको त्यो आवाजलाई विरहको गीत भन्ने गरिन्छ । तर, बस्नेत यो बुझाइमा खोट देख्छन् । भन्छन्, ‘त्यो विरहको होइन, प्रेमको गीत हो । खासमा त्यो गीत ‘मेटिङ कल’ (संसर्गको आह्वान) हो ।’ उनका अनुसार न्याउलीले जोडी खोज्ने समय हो, वसन्त ऋतु । ‘संसर्गको आह्वान गर्दा कसैले विरहको गीत गाउँछ त ?’ उनी भन्छन्, ‘मानिसले आफ्ना भावना र अनुभव चरामा लाद्यो ।’

वसन्त ऋतुसँगै चर्चा हुने गर्छ, चखेवाका जोडीको । दिनभर सँगै बस्ने र राति छुट्टिने जोडीका रूपमा चखेवालाई बुझ्ने गरिन्छ । त्यस अ(सा)मान्य ज्ञानप्रति विमति राख्दै बस्नेत भन्छन्, ‘चखेवा आफ्नो जोडीप्रति बफादार हुँदोरहेछ । राति छुट्टिने र दिउँसो सँगै बस्ने भन्ने मान्छेले बनाएको कथा मात्र हो ।’ यस्तै, ‘भालेको वीर्य खाएर गर्भवती हुने चरा कुन हो ?’ विद्यालय र कलेजका हाजिरीजवाफ प्रतियोगितामा बारम्बार सोधिने यो प्रश्नको जवाफ आउँछ, ‘मयूर’ । बस्नेत झोँक्किन्छन्, ‘वीर्य खाएर पनि गर्भ बस्छ त !’

चराको बानी–व्यवहार

सभ्यताको विकास हुँदै गर्दा मान्छेले जोडी बनाउन÷फकाउन गीत बनाए । रोधी, देउडा, दोहोरी, चाँचरीलगायत गीत र भाका मायाप्रेमकै अभिव्यक्तिका रूपमा विकसित भए । बस्नेतको भनाइमा मान्छेभन्दा पहिल्यै चराले यो सीप विकास गरिसकेका थिए । मेटिङका समयमा भालेले पोथी र पोथीले भालेलाई आकर्षित गर्न मधुर स्वर निकाल्छन् । ‘कतिपय चरा आफ्नो मधुर स्वरले पोथी बोलाउँछन् अनि आफ्नो कला देखाउँछन्,’ बस्नेत भन्छन् ।

चखेवालाई दिनभर सँगै बस्ने र राति छुट्टिने जोडीका रूपमा बुझ्ने गरिन्छ । तर, चखेवा आफ्नो जोडीप्रति बफादार हुन्छ । राति छुट्टिने र दिउँसो सँगै बस्ने मान्छेले बनाएको कथा मात्र हो ।

उनको भनाइमा सातदेखि आठवटा पोथी मयूरको समूहमा दुई–तीनवटा भाले हुन्छन् । भालेले पोथी बोलाउँछन् । पोथी मयूर आएपछि भालेले आफ्नो नृत्य कौशल देखाउँछन् । जुन भालेले सबैभन्दा सुन्दर नृत्य देखाउँछ र जसको प्वाँखको डिजाइन अरूभन्दा पृथक हुन्छ, त्यही भालेसँग संसर्ग गर्न पोथी तयार हुन्छे ।

‘पोथीलाई आकर्षित गर्नुपर्ने भएकैले भाले चराले अतिरिक्त शारीरिक गुण विकास गर्नैपर्छ,’ बस्नेत चराको शारीरिकशास्त्र सम्झाउँछन् । उनको भनाइमा तोप चराको भालेले गुँड बनाउँछ । आधा गुँड तयार गरेपछि पोथीलाई निरीक्षणमा बोलाउँछ । पोथीलाई गुँड मन परेपछि मात्र ऊ संसर्गका लागि तयार हुन्छे । पोथीले मन पराइन भने भालेले अर्को गुँड बनाउन थाल्छ । ‘त्यसैले रहेछ जंगलमा तोप चराका अधुरा गुँड फेला पर्ने,’ बस्नेत भन्छन् ।

चराको यौन–जीवनबारे बस्नेतको व्याख्या छ– ‘विभिन्न अध्ययनअनुसार एउटा पोथीलाई गुँडमा राखिसकेपछि भाले फेरि अर्को पोथीको खोजीमा लाग्छ । धेरै पोथीमा आफ्नो जिन ट्रान्सफर गर्दै भालेले वंश बढाउँछ । त्यो क्रमागत विकासको मुख्य पाटो हो ।’ उनको भनाइमा मुरली चराले पोथी फकाउन ‘कर्टसी अफ फिडिङ’को तरिका अपनाउँछ । संसर्गका लागि भालेले पोथीलाई टन्न चारो खुवाउनुपर्छ । अनि मात्र पोथी संसर्गका लागि तयार हुन्छे ।

पोथीका लागि भालेहरूबीच हुने संघर्षलाई ‘नेचुरल सेलेक्सन’को संघर्ष पनि भनिन्छ । उनको बुझाइमा त्यही संघर्षका लागि हुने क्रमिक विकासको घाटा पनि बेहोर्नुपर्छ, चराहरूले । जस्तो– मयूरले पोथी आकर्षित गर्न आफ्नो शरीरलाई चम्किलो बनाउँदै जान्छ । त्यस्तो चम्किलो शरीर सिकारी जनावरले सजिलै देख्न सक्छन् । अजंगको शरीरका कारण अरू चराझैँ फुत्त उड्न सक्दैन, भाले मयूर । र, सिकारी जनावरको पञ्जामा पर्छ ।

बचेरालाई छिटो भोजनमा अभ्यस्त गराउँछन्, चुराचुरुंगीले । त्यसको मुख्य कारण शत्रुबाट बच्न तयार होस् भन्ने उद्देश्य देखिने बस्नेत बताउँछन् । ‘बचेरा हुर्केर उडाउने वेलामा चराचुरुंगीले गर्ने अभ्यास लोभलाग्दो हुन्छ,’ उनी भन्छन्, ‘त्यसका लागि माउले गुँडभन्दा वरै चारो राख्छन् । चारो खान बचेरा गुँडबाट बाहिर निस्कन्छन् र उड्ने अभ्यास सुरु गरिहाल्छन् ।’

चराको संसार पारिवारिकभन्दा सामुदायिक प्रकृतिको ठम्याएका छन्, बस्नेतले । सारसमा भने पारिवारिक जीवनशैली देखे, उनले । ‘सारस आफ्नो प्रेमी÷प्रेमिकाप्रति जीवनभर नतमस्तक रहन्छ,’ उनी भन्छन्, ‘एक–अर्काको मृत्युपछि अर्को प्रेमी÷प्रेमिकाको खोजी गर्दैनन् ।’