मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ पौष २ सोमबार २१:३५:००
Read Time : > 1 मिनेट
समाचार

समायोजनाबारे कर्मचारी अन्योलमा : दल निकट ट्रेड युनियन कर्मचारी सरकारविरुद्ध खनिए

आधिकारिक ट्रेड युनियन भन्छ, सरकारलाई सहयोग गछौँ  

Read Time : > 1 मिनेट
२०७५ पौष २ सोमबार २१:३५:००

कर्मचारी समायोजन ऐनले गरेका विभिन्न व्यवस्थामा असहमति जनाउँदै सबै सेवाका कर्मचारी सरकारविरुद्ध खनिएका छन् । ऐनमा रहेका छुटाछुटै व्यवस्थाप्रति निजामती कर्मचारी र साविकका स्थानीय निकायका कर्मचारीले असहमति जनाएका हुन् । साविकका स्थानीय निकायका कर्मचारीहरूले समायोजन हुँदा निजामती कर्मचारीसरह सुविधा पाउनुपर्ने माग राखेका छन् । उनीहरूले तह वृद्धि र ग्रेड वृद्धिको माग गर्दै सोमबार कामकाज नै ठप्प गरे । यस्तै, उनीहरूले थप आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेका छन् । एउटै ऐनअन्तर्गत समायोजन हुँदा निजामती कर्मचारीलाई सुविधा दिने र आफूहरूलाई विना सुविधा समायोजन गर्न लागेकोमा उनीहरूको आपत्ति छ । मन्त्रालयले भने तोकिएको समयभित्र स्थानीय निकायका कर्मचारी समायोजन भइसक्ने जनाएको छ । त्यसपछि संघका कर्मचारी समायोजन प्रक्रिया अघि बढाइने छ । 

निजामती कर्मचारीको माग, संघमा फर्कने बाटो चाहिन्छ

निजामती सेवाका कर्मचारीले स्थानीय तह वा प्रदेशमा समायोजन भएपछि निश्चित समयमा संघमा फर्कन सक्ने व्यवस्था हुनुपर्ने माग राखेका छन् । ऐनले समायोजन भएपछि त्यही सेवाभित्र मात्र सरुवा र बढुवा हुने व्यवस्था गरेको छ । तर, कर्मचारीहरूले निश्चित मापदण्ड पूरा गरेपछि संघमा आउन सक्ने विकल्प खुल्ला गर्नुपर्नेमा जोड दिएका छन् । ऐनले समायोजन भएका कर्मचारीहरूले निश्चित कोटाभित्र लोकसेवा परीक्षा प्रतिस्पर्धा गरेर संघमा आउन सक्ने व्यवस्था गरेको छ । सामान्य नागरिक लोकसेवा परीक्षाबाट निजामतीमा आउने सक्ने जस्तै व्यवस्था गरेर वृत्तिविकासमा अवरोध गरिएको उनीहरूको आरोप छ । मन्त्रालयले भने समायोजनलाई समायोजनकै रूपमा बुझ्न आग्रह गरेको छ । 

अध्यादेशबाट फर्किदैनौँ : सचिव थपलिया

संघीय तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले भने ऐनलाई कठोरतासहित कार्यान्वयनमा लैजाने प्रस्ट पारेका छन् । उनले समायोजनका सबै समस्या सम्बोधन गर्ने गरी अध्यादेशमै प्रावधान राखेको बताए । जायज गुनासो सुन्न सहसचिवको संयोजकत्वमा गुनासो सम्बोधन गर्ने समिति बनाएको भन्दै उनले गुनासो राख्न आग्रह गरेका छन् । ‘हामी अध्यादेशले गरेको व्यवस्थामा व्याख्या गरेर निकास दिन्छौँ । तर अध्यादेशको व्यवस्थाबाट बाहिर फर्किदैनौँ,’ सचिव थपलियाले भने । उनले कुनै पनि बहानामा ऐन कार्यान्वयन गर्नबाट नचुक्ने प्रस्ट पारे ।

सरकारलाई सहयोग गछौँ : ढकाल

विभिन्न दल निकट ट्रेड युनियनले विज्ञप्ति नै निकालेर ऐनले गरेका व्यवस्थामा असहमति जनाएका छन् । उनीहरूले केही व्यवस्थाहरू सच्याउनुपर्ने र नसच्याए आन्दोलनमा उत्रन चेतावनी दिएका छन् । साविकका स्थानीय निकायसँग सम्बन्धित ट्रेड युनियनहरूले सोमबारदेखि आन्दोलनको घोषणा गरिसकेका छन् । तर निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले भने समायोजनमा सहयोग गर्ने जनाएको छ । आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले समायोजन ऐनमा कुनै असहमति नरहेको बताए । समायोजन चाँडोभन्दा चाँडो टुंग्याउनुपर्ने उनको भनाइ छ । ‘केही असहमति मिलाउनुपर्छ । समायोजन गर्न ढिला गर्नु हुँदैन,’ ढकालले भने । उनले समायोजन भएर स्थानीय तह र प्रदेशमा जाने कर्मचारीलाई संघमा आउने वातावरण बनाउनुपर्ने धारणा बताए ।