मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ चैत ३ सोमबार ०६:१९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

कोरोनाविरुद्ध साझा रणनीति बनाउने सार्कका शीर्ष नेताको सहमति

मोदीद्वारा एक करोड डलरको आपत्कालीन कोष घोषणा

Read Time : > 1 मिनेट
२०७६ चैत ३ सोमबार ०६:१९:००

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा आइतबार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का शीर्ष नेताले भिडियो सम्मेलनमार्फत कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउने सहमति गरेका छन् । विश्वको पाँच भागको एक भाग जनसंख्या रहेको दक्षिण एसियामा कोरोना भाइरसले चिन्ताजनक रूप नलिए पनि भविष्यमा हुन सक्ने जोखिमको सामना साझा रूपमा गर्नुपर्ने उनीहरूको मत छ । 

सार्कका शीर्ष नेताहरूले स्वास्थ्यमन्त्रीहरूबीच भिडियो सम्मेलनमार्फत संवाद हुनुपर्ने र एक साताभित्र सबै देशले तोक्ने सम्पर्क अधिकारीबीच निरन्तर छलफल हुनुपर्नेमा जोड दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले दक्षिण एसियाका कुनै पनि देशले कुनै पनि वेला प्रयोग गर्ने गरी कोभिड–१९ आपत्कालीन कोषमा एक करोड अमेरिकी डलर सहायता घोषणा गरेका छन् । प्रधानमन्त्री केपी ओलीले कोषमा नेपालले पनि योगदान गर्ने प्रतिबद्धता जनाएका छन् । सार्कका अरू नेताले पनि आपसी सहयोग र सहकार्यमा जोड दिएका छन् । 

प्रधानमन्त्री मोदीले दिल्लीबाट सञ्चालन गरेको भिडियो कन्फरेन्स एक घन्टा ३५ मिनेट चलेको थियो । त्यसलाई मोदीसहित प्रधानमन्त्री ओली, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री डा. लोटे छिरिङ, श्रीलंकाका राष्ट्रपति गोटाबया राजापाक्षे, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह, अफगानिस्तानका राष्ट्रपति असरफ घानीले सम्बोधन गरेका थिए । पाकिस्तानका प्रधानमन्त्री इमरान खान भने भिडियो सम्मेलनमा सहभागी भएनन् । उनको सट्टा स्वास्थ्य राज्यमन्त्री डा.जाफर मिर्जा सहभागी थिए । प्रधानमन्त्री मोदीले मिर्जालाई पब्लिक हेल्थका विज्ञ भनेर सम्बोधन गरे, मन्त्रीको हैसियतबारे उल्लेख गरेनन् । 

मिर्गौला प्रत्यारोपणपछि ओलीको पहिलो सम्बोधन
भारतीय प्रधानमन्त्री मोदी र पाकिस्तानका स्वास्थ्य राज्यमन्त्री मिर्जाले सम्बोधन गर्नुअघि प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका थिए । दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले पहिलोपटक सार्वजनिक रूपमा बोलेका हुन् । प्रधानमन्त्री ओलीले यो क्षेत्र कोरोनाको उच्च जोखिममा रहेको भन्दै समुदायमा आधारित स्वास्थ्य जनचेतना जगाउनुपर्ने बताए ।

उनले परम्परागत औषधि सेवन गर्नुपर्ने र हात मिलाउन बन्द गर्दै नमस्तेको अभिवादन गर्नुपर्ने बताए । ‘यो क्षेत्रमा साझा रणनीति बनाएर अघि बढ्नुपर्छ । सीमा क्षेत्रहरूमा अस्पताल बनाउनुपर्छ । औषधिलगायतको आपूर्ति सहज बनाउने सुनिश्चित गर्नुपर्छ,’ ओलीले भने । उनले सार्क इमर्जेन्सी मेडिकल सेन्टर स्थापना गर्नुपर्नेमा पनि जोड दिए । नेपालमा कोरोना भाइरसको रोकथाम तथा आवश्यक कदमका लागि उच्चस्तरीय समन्वय समिति गठन गरेको र सरकारी प्रयासहरूको आफैँले प्रत्यक्ष अनुगमन गरिरहेको पनि प्रधानमन्त्री ओलीले बताए । 

भारतले सकेको सहयोग गर्छ : मोदी
भारतका प्रधानमन्त्री मोदीले कोरोनाविरुद्ध लड्न दक्षिण एसियाबीच विश्वमा उदाहरणीय हुने गरी सहकार्य गर्नुपर्ने बताए । ‘हाम्रो साझा रणनीतिले मात्रै यो समस्याको सामना गर्न सकिन्छ । एक–अर्काको ज्ञान, अभ्यास, अनुभव, विज्ञता र साधनस्रोतको पनि उपयोग गर्नुपर्छ,’ उनले भने । मोदीले छिमेकी देशबाट सहयोगका लागि आग्रह आएको भन्दै सकेको सहयोग गर्ने वचनबद्धता व्यक्त गरे । विश्वको जनसंख्याको उल्लेख्य संख्या रहेको दक्षिण एसियाका जनताको स्वास्थ्य सुनिश्चित गर्न कुनै पनि कसर बाँकी नराखिने मोदीले बताए ।

पाकिस्तानका स्वास्थ्य राज्यमन्त्री मिर्जाले दक्षिण एसिया क्षेत्रभित्र न्यून सहकार्य रहेको भन्दै सार्क सचिवालयमार्फत क्षेत्रीय सहकार्यको ढाँचा तय गर्नुपर्ने बताए । सचिवालयमार्फत स्वास्थ्यमन्त्री र सम्बन्धित अधिकारीलाई जोड्नुपर्ने र सहयोग जुटाउन पनि उनले प्रस्ताव गरे । मिर्जाले भारत प्रशासित जम्मु–कस्मिरमाथिको प्रतिबन्ध हटाउनुपर्ने र कोरोना भाइरस पीडित त्यहाँका बासिन्दालाई सबैले सहयोग गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।