मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ चैत ३ सोमबार ०६:२०:००
Read Time : > 2 मिनेट
समाचार

प्रधानमन्त्री ओलीले शिलान्यास गरेको रातो मच्छिन्द्रनाथको पुनर्निर्माण एक वर्षदेखि अलपत्र 

श्रीलंकाले दिएको करिब तीन करोडसमेत फिर्ता

Read Time : > 2 मिनेट
२०७६ चैत ३ सोमबार ०६:२०:००

प्रधानमन्त्री केपी ओलीले चार वर्षअघि शिलान्यास गरेको ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माण अलपत्र परेको छ । मच्छिन्द्रनाथ मन्दिर १२ वैशाख ०७२ को भूकम्पले क्षतिग्रस्त भएको थियो । ओलीले अघिल्लोपटक प्रधानमन्त्री भएका वेला २ माघ ०७२ मा राष्ट्रिय भूकम्प सुरक्षा दिवसका दिन रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणको शिलान्यास गरेका थिए । तर, एक वर्षदेखि मन्दिर पुनर्निर्माणका सम्पूर्ण काम अलपत्र परेको छ । 

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनका अनुसार सार्वजनिक खरिद ऐनअन्तर्गत ठेक्का प्रक्रियामार्फत मन्दिर पुनर्निर्माण गर्दा समस्या भएको हो । उनले भने ‘सार्वजनिक खरिद ऐनअन्तर्गत काम गर्दा पुनर्निर्माण गुणस्तरीय भएन, स्थानीयले असन्तुष्टि जनाएपछि ठेकेदारले तोकिएको समयमा काम गर्न सकिएन । त्यसैले, पुनर्निर्माण अलपत्र परेको हो ।’

मेयर महर्जनका अनुसार सार्वजनिक खरिद ऐनमा सबैभन्दा कम बजेटमा काम गर्ने ठेकेदारले निर्माण जिम्मा पाउँछ । यही प्रावधानका कारण सम्पदा पुनर्निर्माण गुणस्तरहीन बनिरहेको छ । सम्पदा पुनर्निर्माणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय उपभोक्ता समितिलाई समावेश गर्नुपर्ने मेयर महर्जनले बताए ।

श्रीलंकाले फिर्ता लग्यो सहयोग रकम

रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणका लागि श्रीलंका सरकारले ०७३ चार करोड ७४ लाख ४५ हजार १६ रुपैयाँमा सहयोग गरेको थियो । मन्दिर पुनर्निर्माण गर्न थप रकम आवश्यक परेपछि श्रीलंका सरकारले आर्थिक वर्ष ०७५-७६ मा सहयोग रकम बढाएर पाँच करोड २१ लाख ८५ हजार दुई सय १५ पु-याएको थियो । तर, लामो समयसम्म पुनर्निर्माण अवरुद्ध भएपछि श्रीलंकन सरकारले डिसेम्बर ०१९ मा दुई करोड ९८ लाख पाँच हजार दुई सय १५ रकम फिर्ता लगेको छ ।

‘सार्वजनिक खरिद ऐनअन्तर्गत काम गर्दा पुनर्निर्माण गुणस्तरीय भएन, स्थानीयले असन्तुष्टि जनाएपछि ठेकेदारले तोकिएको समयमा काम गर्न सकिएन । त्यसैले, पुनर्निर्माण अलपत्र परेको हो ।’

श्रीलंकन सरकारले रकम फिर्ता लगेपछि पुनर्निर्माण प्राधिकरणले मन्दिर पुनर्निर्माणका लागि उपभोक्ता समिति गठन गर्न ललितपुर महानगरपालिकालाई पत्र पठाएको थियो ।  ०७३ सालमा श्रीलंकन सरकारले स्वयम्भूको आनन्द गुठी विहार र बुङ्गमतीको रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माण गर्न सहयोग गर्नेगरी सहमति गरेको थियो । 

असार ०७३ मा पुरातत्व विभागले परेरा, थेगिङ र तुलसी निर्माण कम्पनीलाई  मन्दिर पुनर्निर्माणको जिम्मा दिएको थियो । निर्माण कम्पनीहरूले वारेसना (पावर अफ अर्टनी) का आधारमा सुवर्ण श्रेष्ठले मन्दिर पुनर्निर्माण सुरु गरेका थिए । उनले दई वर्षभित्र पुनर्निर्माण सक्नेगरी चार करोड ७४ लाख ४५ हजार १६ रुपैयाँमा जिम्मा पाएका थिए । मन्दिर पुनर्निर्माण गर्न थप रकम आवश्यक परेपछि श्रीलंका सरकारले आर्थिक वर्ष ०७५-७६ मा सहयोग रकम बढाएर पाँच करोड २१ लाख ८५ हजार दुई सय १५ पु-याएको थियो । 

श्रेष्ठले पाएको पहिलो चरणको समयअवधि गत असार ०७५ मै सकिएको थियो । म्याद सकिए पनि पुनर्निर्माण नसकिएपछि निर्माण कम्पनीले दुई चरणमा (६ महिना÷३ महिना) नौ महिना थप पाएका थिए । यो अवधिसम्म पुनर्निर्माण भने जम्मा ४० प्रतिशत मात्रै भएको थियो । यस अवधिमा पुरातत्व विभागबाट तीन करोड ६० लाख रकम श्रेष्ठले पाइसकेका थिए । थपिएको समय पनि चैत ०७५ मा सकिएको छ ।

थपिएको समयमा पनि काम सम्पन्न नभएपछि गत चैतमा ठेकेदार, श्रीलंकन दूतावास र पुरातत्व विभागको संयुक्त बैठकले पुनर्निर्माणमा लापरवाही गर्ने ठेकेदार कम्पनीलाई हटाउने निर्णय भएको थियो । निर्णयपछि ठेकेदार श्रेष्ठले राखेको ६७ लाख जमानत रकम पनि विभागले जफत गरेको थियो । रकम जफत भएपछि श्रेष्ठले श्रीलंकन दूतावास, परेरा, थेगिङ र तुलसी निर्माण कम्पनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

त्यसपछि श्रीलंकन दूतावास र विभागको बैठकले बाँकी काम तुलसी निर्माण कम्पनीलाई जिम्मा दिने निर्णय गरेका थिए । तर, उनीहरूबाट पनि काम पुनर्निर्माणमा प्रगति हुन सकेन । विभागले मन्दिर निर्माणका आवश्यक काष्ठकला, तोरण, टुडाँललगायतका सामग्री फिर्ता माग्यो । तर, ठेकेदार  श्रेष्ठले  सामान बुझाउन आनाकानी गरेका थिए । गत असारमा ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी र ललितपुर तत्कालीन प्रहरी प्रमुख एसएसपी रपिन्द्र धानुकको पहलमा मन्दिर पुनर्निर्माणका आवश्यक सामग्री श्रेष्ठले फिर्ता गरे । श्रेष्ठको तीन महिनाअघि मृत्यु भएको छ । 

रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माण अब उपभोक्ताबाटै

अलपत्र अवस्थामा रहेको मन्दिर पुनर्निर्माणका लागि अमिर शाक्यको अध्यक्षतामा शनिबार नौ सदस्यीय उपभोक्ता समिति गठन भएको छ । समितिको उपाध्यक्षमा माणिकराज शाक्य, सचिवमा मधुकर तुलाधर, कोषाध्यक्षमा रीता महर्जन रहेका छन् । श्रीलंकन सरकारले पुनर्निर्माणबाट हात झिकेलगत्तै पुनर्निर्माण प्राधिकरणले पनि मन्दिर बनाउन उपभोक्ता समिति गठन गर्न ललितपुर महानगरपालिकालाई पत्र पठाएको थियो । यही पत्रलाई आधार मानेर ललितपुर महानगरपालिकाले समिति गठनको नेतृत्व लिएको हो । यो मन्दिर ललितपुर महानगरपालिका–२२ मा छ ।
 
जग बनाउँदैदेखि विवाद

ठेकेदारले मन्दिरको जगमा पुरानो दाँची (इँटा) को सट्टा तराईबाट ल्याएको इँटा प्रयोग गरेको थियो । स्थानीय अनिल शाक्यका अनुसार श्रीलंकन दूतावासले खटाएका इन्जिनियर, पुरातत्वका अधिकारीसँग छलफल गर्दा पनि विषय नसल्टिएपछि स्थानीयले ठेकेदारले लगाएका जग भत्काई आफैँले बनाएका थिए । जग भत्काएपछि ठेकेदार र स्थानीयबीच विवाद बढेको पाटन संग्रहालयका तत्कालीन अधिकृत काजी प्याकुरेलले बताए ।

यही वेला करिब तीन महिना काम रोकिएको थियो । त्यसपछि युनेस्कोले इँट्टा जडान गर्ने मसलाको गुणस्तरीयतामा प्रश्न गरेर केही समय पुनर्निर्माण रोकिएको तत्कालीन ओभरसियर जितेन दासले बताए । ओभरसियर दासका अनुसार श्रोत साधन जुटाउन अप्ठेरो भएकाले काममा समस्या आएको हो । उनले भने ‘करिब तीस फिट लामो एउटै काठ हुन्छ, त्यस्ता सामग्री पाउन कठिन भएकाले समस्या आएको छ ।’