मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गोविन्द सुवेदी पोखरा
२०७६ चैत २ आइतबार १८:१८:००
Read Time : > 1 मिनेट
अर्थ

सिलबन्दी गर्दा हल्लाखल्ला, फुकुवा गर्दा किन गोप्य ?

Read Time : > 1 मिनेट
गोविन्द सुवेदी पोखरा
२०७६ चैत २ आइतबार १८:१८:००

बजार अनुगमन गर्दा उपभोक्ता हितविपरीतका क्रियाकलाप भएको पाइए व्यवसायीको सटरमा सिलबन्दी गरिन्छ भने गुणस्तरहीन वस्तु नष्ट गरिन्छ । प्रचार–प्रसार पनि राम्रै हुन्छ तर कारबाही भयो वा यसै छाडियो भन्ने विषय चाहिँ प्रायः गोप्य नै राखिन्छ । त्यसैले अब कारबाही भयो वा भएन भन्ने पनि यथार्थ जानकारी दिन गण्डकी प्रदेशसभाअन्तर्गतको अर्थ तथा विकास समितिले बजार अनुगमन समितिलाई निर्देशन दिएको छ ।

समितिका सभापति दीपक कोइरालाको अध्यक्षतामा भएको बैठकमा अनुगमन टोलीलाई बोलाएर यस्तो निर्देशन दिइएको हो । समिति सभापति कोइरालाले अनुगमन गरेको देखाउन मात्र अनुगमन नभई परिणाम देखिने र उपभोक्ताको हित हुने गरी अनुगमन गर्न आइतबार टोलीलाई निर्देशन दिए । ‘बजार अनुगमनका क्रममा सिलबन्दी गरिएको कुरा हाइलाइट हुन्छ तर कारबाही भएको थाहा हुँदैन,’ उनले भने, ‘यसो हुँदा चलखेलको शंका आम नागरिकमा छ । यसलाई चिर्नुहोस् ।’

अनुगमन कार्यतालिका बनाएर गर्न र त्यसको प्रतिवेदन हरेक तीन महिनामा पेश गर्नसमेत समितिले अनुगमन टोलीलाई निर्देशन दिएको छ । अहिले कोरोना संक्रमणका कारण मात्र समस्या नभई बजारमा अन्य बेलामा पनि समस्या रहेको समिति सभापति कोइरालाले बताए ।

‘आपूर्तिमा साना व्यवसायीबाटै समस्या’
गण्डकी प्रदेश बजार अनुगमन टोलीका संयोजक गोकुल शर्मा पौडेलले बजारमा ठूला व्यवसायीबाट भन्दा पनि साना व्यवसायीका कारण उपभोक्ता मर्कामा परेको पाइएको बताए । खासगरी गाउँबस्ती र बजार क्षेत्रको पनि सुकुम्बासी बस्ती वरपरका पसलहरूले यसरी उपभोक्ता ठगेको उनको भनाइ छ । त्यस्ता स्थलमा उपभोग्य मिति नाघेका वस्तु बिक्री हुने र उपभोक्ता पनि सचेत नहुँदा समस्या रहेको उनको भनाइ छ । तर यस्ता पसलमा अनुगमन गर्दा ठूलालाई छाड्ने र सानालाई कारबाही गरे भन्ने अफवाह फैलाइने गरेको उनले गुनासो गरे ।

उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले समस्या सरकार, व्यवसायी र उपभोक्ता सबैमा रहेको बताए । उपभोक्तामा त्रास, व्यवसायीमा अनुचित फाइदा लिने प्रवृत्ति र सरकारले जनतालाई आश्वस्त पार्न नसक्नाका कारण अहिले बजार प्रभावित बनेको उनको ठहर छ । ‘उपभोक्ता त्रासका कारण पाएको बेला स्टक राख्न खोज्छ । उ विश्वस्त छैन । व्यवसायी यही मौकाको फाइदा उठाउन खोज्छ,’ उनले भने, ‘सरकारले जनतालाई अभाव हुँदैन भनेर आश्वस्त पार्न सकेको छैन । अहिले बजारको समस्या यही हो ।’ अध्यक्ष कोइरालाले पोखराका ठूला खाद्यान्न गोदाममा प्रशस्त मात्रामा मौज्दात रहेको भन्दै त्यसले कम्तीमा पनि पाँच महिना सहजै बजार थेग्ने बताए ।

ठूला व्यवसायीको सूची तयार गरिँदै
गण्डकी प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्रलयका सचिव किरणराज शर्माले बजारका ठूला सप्लायर्सहरूको लिष्ट तयार गरिँदै गरेको जानकारी दिए । तिनीहरूमा रहेको मौज्दातको रेकर्ड राखेर कति परिमाणमा बजारमा आपूर्ति भयो र के भइरहेको छ भनेर निगरानी हुने उनको भनाइ छ । प्रदेशले अनुगमन गरेको भएपनि स्थानीय तहहरूले त्यस अनुरूपको संयन्त्र नबनाउँदा तल्लो तहसम्म अनुगमन हुन नसकेको उनले बताए ।