मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २ आइतबार ११:२०:००
Read Time : > 1 मिनेट
नयाँCity

रहेनन् साहित्यकार डा. डिपी भण्डारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २ आइतबार ११:२०:००

साहित्यकार डा. डिपी भण्डारीको ८५ वर्षको उमेरमा शनिबार निधन भएको छ । निमोनिया, श्वासप्रश्वास र हाइपरटेन्सनको समस्याबाट ग्रसित उनलाई २१ फागुनमा काठमाडौं धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । शनिबार बिहान ११.४५ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी केही समययता बिर्सिने समस्याबाट पनि पीडित थिए ।

निमोनिया, श्वासप्रश्वास र हाइपरटेन्सनको समस्याबाट ग्रसित साहित्यकार डा. भण्डारीलाई २१ फागुनमा काठमाडौं धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । शनिबार बिहान ११.४५ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

डा. भण्डारीका दाइ बद्रीनाथका अनुसार उनी डोटीको जोरायल गाउँपालिकाको निरोली गाउँमा भदौ १९९२ मा जन्मेका थिए । उनकी पत्नीको केही वर्षअघि निधन भएको थियो । डा. भण्डारीका दुई छोरा छन् । ‘उनी डोटीबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति थिए,’ बद्रीनाथले नयाँ पत्रिकासँग भने । ६ दाजुभाइमध्ये डा. भण्डारी कान्छा थिए । लामो समयदेखि उनी काठमाडौं पुरानो बानेश्वरमा बस्दै आएका थिए ।

बौद्धिक लेखक तथा प्राध्यापक भण्डारीले करिब ३५ वर्ष त्रिभुवन विश्वविद्यालयको अंग्रेजी केन्द्रीय विभागमा प्राध्यापन गरेका थिए । डा. भण्डारीसँग साढे तीन दशकभन्दा ज्यादा संगत गरेका प्राध्यापक डा. अभि सुवेदी भन्छन्, ‘उहाँ एकदमै गम्भीर र दार्शनिक प्रकृतिको हुनुहुन्थ्यो ।’ डा. सुवेदी त्रिवि अंग्रेजी विभागको प्रमुख छँदा डा. भण्डारीले अवकाश लिएका थिए । ‘शिक्षा र जीवन दर्शनका सहज र संकटपूर्ण सम्बन्धमाथि मैले धेरै वर्ष उहाँसँग काम गरेको थिएँ,’ डा. सुवेदीले भने ।

भण्डारीका ‘मृगस्थली’ (०५७), ‘निरो बाँसुरी बजाइरहेछ’ (०६०), ‘रोटी र फूल’ (०६३) र ‘त्यो धरती, त्यो आकाश’ (०६८) कृति प्रकाशित छन् । उनको पुस्तक ‘त्यो धरती, त्यो आकाश’मा राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेका छन्, ‘भण्डारीले निबन्धको अराजक चिन्तनमा रोमानी शक्तिले रञ्जित मानवतावाद देखेका छन् ।’ डा. भण्डारी नेपाली र अंग्रेजी भाषाका पत्रपत्रिकामा लामो समय स्तम्भकार पनि थिए ।

भण्डारीको अन्त्येष्टिमा प्रा.डा. अभि सुवेदी, श्रीधर लोहनी, निबन्धकार शेखर खरेल, पूर्वमन्त्री तथा कांग्रेस नेता वीरबहादुर बलायरका साथै आफन्तजनको उपस्थिति थियो । भण्डारीकै चाहनाअनुसार कुनै तामझामविना पशुपति आर्यघाटको विद्युतीय शवदाहगृहमा शनिबार उनको अन्त्येष्टि गरिएको छ ।