मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ चैत २ आइतबार १०:१८:००
Read Time : < 1 मिनेट
खेलकुद

बजेट अभावले जुम्लामा निर्माणाधीन प्यारापिट अधुरै 

Read Time : < 1 मिनेट
२०७६ चैत २ आइतबार १०:१८:००

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रयोगमा ल्याउने गरी कर्णाली प्रदेशको जुम्लामा बनिरहेको भलिबलको प्यारापिट बजेट अभावका कारण अगाडि बढ्न सकेको छैन । जिल्ला खेलकुद विकास समितिको भलिबल मैदानमा प्यारापिट निर्माण कार्य आर्थिक अभावकै कारण रोकिने अवस्थामा पुगेको जनाइएको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)अनुसार प्यारापिट निर्माणका लागि एक करोड लाग्न सक्छ । 

श्रमदानसहित २६ लाख बजेटमा निर्माण कार्य सुरु भयो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा खेल मैदानमा प्यारापिट निर्माण सुरु भए पनि बजेट अभावले निर्माण कार्य अधुरो अवस्थामा रहेको समितिले जनाएको छ । मन्त्रालयको बजेटमा प्यारापिटको जग निर्माणदेखि पिलर मात्र ठड्याउन काम भयो । अहिले बजेट नभएपछि काम रोकिएको खेलकुद विकास समिति जुम्लाका प्रमुख बरमबहादुर महतले जानकारी दिएका छन् । 

‘यही चैत अन्तिम साता राष्ट्रपति खेलकुद प्रतियोगिता हुँदै छ, तर अहिले निर्माणाधीन भलिबल मैदानको प्यारापिट रकम अभावले रोकिएको छ,’ महतले भने, ‘मैदान अधुरो भएकाले खेलाउन सक्ने अवस्था नै छैन ।’ सुरुमा थोरै बजेटबाट काम सुरु गरेको उनले बताए । बिस्तारै बजेट सकिँदै जाँदा काममा बाधा पर्न गयो ।

थप बजेटका लागि जिल्ला विकास समितिले विभिन्न पक्षसँग बजेट माग्यो । यस क्रममा  संघीय, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी बजेट निकाल्ने प्रयास असफल भएको महतले बताए । राष्ट्रिय खेलकुद परिषद् र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयसँग समन्वय भइरहेकाले थप बजेट विनियोजन हुने र निर्माणाधीन प्यारापिटको निर्माण कार्य सम्पन्न हुने अपेक्षा उनको छ । प्यारापिट नभएका कारण प्रतियोगिता हेर्न आउने दर्शकलाई बस्न निकै समस्या हुने गरेको छ ।