मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रोहितराज पराजुली कास्की
२०७६ चैत १ शनिबार २१:२३:००
Read Time : > 1 मिनेट
खेलकुद

मनाङ १८औँ आहा–रारा गोल्डकपको च्याम्पियन

Read Time : > 1 मिनेट
रोहितराज पराजुली कास्की
२०७६ चैत १ शनिबार २१:२३:००

विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लबले १८औँ संस्करणको आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता २०७६ को उपाधि हात पारेको छ ।

पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनलमा टाइब्रेकरमा पुलिसलाई ४–३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि जितेको हो । मनाङ आहा–राराको १८औँ संस्करणसम्म आइपुग्दा १० पटक फाइनल पुगेर ६ पटक उपाधि जित्दै धेरैपटक उपाधि उचाल्ने टोलीमा आफ्नो नाम लेखाउनसमेत सफल भएको छ । यस्तै नौपटक फाइनल पुगेको पुलिसले पाँचपटक उपाधि उचालिसकेको छ ।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि दुवै टोलीबाट कुनै गोल नभएपछि टाइब्रेकरमार्फत उपाधिका लागि छानोफानो भएको थियो । १८औँ संस्करणसम्म आइपुग्दा मनाङ र पुलिसको उपाधिका लागि यो तेस्रोपटकको भेट हो । तीनवटै भेटमा मनाङ पुलिसलाई पराजित गरी उपाधि जित्न सफलसमेत भएको छ । हारसँगै सम्पन्न लिग र बुढासुब्बा कपमा भएको पराजयको बदला लिनबाट समेत पुलिस चुकेको थियो ।

टाइब्रेकरमा मनाङका अन्जन बिष्ट, पुजन उपरकोटी, सुरज बिके र रन्जन बिष्टले गोल गर्दा दोस्रो नम्बरमा आएका निशान लिम्बूको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले विफल पारिदिएका थिए । मनाङको जितमा निर्णायक गोल पाँचौँ नम्बरमा आएका रन्जनले गरेका थिए । पुलिसका लागि भोला सिलवाल, हेम तामाङ र बुद्ध बल तामाङले गोल गर्दा तेस्रो नम्बरमा आएका तेज तामाङ र पाँचौँ नम्बरमा आएका अजित भण्डारीको प्रहार खेलका म्यान अफ दि म्याचसमेत बनेका विपक्षी गोलरक्षक अशोक बरालले विफल पारिदिएका थिए ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको उपाधिसँगै मनाङले १० लाख एक हजार र पुलिसले पाँच लाख एक हजार नगदसहित शिल्ड, मेडल र प्रमाण–पत्र पुरस्कार पाए । विजेता टिम तथा खेलाडीलाई राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, राखेप सदस्य राजेशकुमार गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

यिनीहरू भए उत्कृष्ठ
प्रतियोगितामा पुलिसका अजित भण्डारीले उत्कृष्ठ खेलाडी बन्दै अप्रिला स्कुटर हात पारेका छन् । त्यस्तै मनाङका अन्जन बिष्टले उत्कृष्ठ स्ट्राइकर, मनाङकै नितिन थापाले उत्कष्ठ मिडफिल्डर, मनाङकै सुरज बिकेले उत्कृष्ठ डिफेन्डर र मनाङकै अशोक बरालले उत्कृष्ठ गोलकिपर बन्दै जनही १५ हजार रुपैयाँ र ट्रफी हात पारे ।

त्यस्तै सर्वाधिक दुई÷दुई गोल गर्ने पुलिसका भरत शाह र निरकुमार राई, मनाङका अन्जन बिष्ट, थ्रीस्टारका सुसन श्रेष्ठ र सहाराका त्रिदेभ गुरुङले जनही २५ हजार र ट्रफी तथा उत्कृष्ठ प्रशिक्षक मनाङका फुजा तोपेले नगद १५ हजार प्राप्त गरेका छन् । थ्रीस्टारले नगद १० हजारसहित फेयर प्लेको ट्रफी प्राप्त गरेको छ ।