१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ चैत १ शनिबार ०८:२६:००
Read Time : > 1 मिनेट
खेलकुद

आहारारा गोल्डकप : मनाङ र पुलिस तेस्रोपटक फाइनलमा भिड्दै

Read Time : > 1 मिनेट
२०७६ चैत १ शनिबार ०८:२६:००

मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लब आहारारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा शनिबार तेस्रोपटक आमने–सामने हुँदै छन् । पोखरा रंगशालामा जो विजेता बने पनि सर्वाधिक च्याम्पियन हुनेछ । प्रतियोगिताको १८औँ संस्करणको यात्रामा पुलिस र मनाङले समान पाँचपटक उपाधि उचालिसकेका छन् । मनाङ र पुलिसबीचको फाइनल समीकरण तेस्रो संस्करणपछि सम्भव भएको हो । प्रतियोगिताको दोस्रो संस्करणमा मनाङले पुलिसलाई ३–१ र तेस्रो संस्करणमा ३–२ ले हराउँदै उपाधि जितेको थियो । 

१५ संस्करणपछि मनाङ र पुलिसबीचको उपाधि भिडन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा छ । फाइनलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तान र प्रशिक्षकले उपाधिमाथि दाबेदारी प्रस्तुत गरेका छन् । पुलिसका प्रशिक्षक अनन्तराज थापाले फाइनल आफ्नो पक्षमा पार्न धेरै मिहिनेत गर्नुपर्ने बताएका छन् । ‘फाइनलमा धेरै मिहिनेत गर्नुपर्छ, उपाधि कसले जित्छ भन्न सकिन्न,’ पुलिसका प्रशिक्षक थापाले भने । 

टोलीमा युवा खेलाडीको बाहुल्य रहेकाले उपाधि जित्न थप मिहिनेत गर्नुपर्ने प्रशिक्षक थापाको भनाइ छ । ‘पुलिसमा युवा खेलाडीको बाहुल्य छ, धेरै मिहिनेत गरेर उपाधि जित्ने लक्ष्य हामीले लिएका छौँ,’ थापाले भने, ‘मनाङको कमजोरीअनुसार रणनीति बनाउँछौँ, फाइनलमा जसले बढी मौकाको सदुपयोग गर्छ, जित उसैको हुनेछ ।’ यता पुलिसका कप्तान भरत शाहले जितका लागि आफूहरू उच्च मनोबलका साथ मैदानमा उत्रिने बताए । 

मनाङका प्रशिक्षक फुजाले उपाधि उचाल्ने रणनीतिका साथ खेल्ने बताए । पुलिस उत्कृष्ट लयमा रहेकाले उपाधि जित्न मिहिनेत गर्नुपर्ने मनाङका प्रशिक्षक फुजाले बताए । ‘पुलिस उत्कृष्ट फर्ममा छ, उनीहरूका खेलाडीले मौका मिस गर्दैनन्,’ फुजाले भने । त्रिभुवन आर्मीजस्तो राम्रो टोलीलाई पराजित गरी फाइनलमा आएकाले मनाङको स्ट्रेन्थ बलियो भएको उनले बताए । 

मनाङका कप्तान कमल श्रेष्ठले पुलिस राम्रो टोली रहेकाले स्पिड र पावर गेम रणनीति बन्न सक्ने बताएका छन् । ‘सिजनका दुई खेलमा पुलिसलाई पराजित गरिसक्यौँ, मनाङका खेलाडी उच्च मनोबलका साथ खेल्नेछन्,’ श्रेष्ठले भने । प्रतियोगितामा दुवै टोली बाई पाएर सीधै क्वार्टरफाइनलमा प्रवेश गरेका थिए ।  पुलिसले क्वार्टरफाइनलमा आयोजक सहारालाई टाइब्रेकरमा ४–२ र सेमिफाइनलमा थ्री स्टार क्लबलाई  ३–० ले हराएको थियो । मनाङले क्वार्टरफाइनलमा झापा फुटबल क्लबलाई १–० र सेमिफाइनलमा आर्मीलाई ३–२ गोलअन्तरले पराजित गर्दै फाइनलयात्रा तय गरेको थियो । चालू सिजनमा मनाङले पुलिसलाई ए डिभिजन लिग फुटबल प्रतियोगितामा २–० र बुढासुब्बा कपमा ३–१ गोलले पराजित गरेको थियो । 

मनाङ पुलिसमाथिको जित जारी राख्ने उद्देश्यसहित मैदानमा उत्रिनेछ । प्रतियोगिताका विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले अप्रिला स्कुटर, उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ पाउनेछन् । यसैगरी, सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।