१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका कास्की
२०७६ चैत १ शनिबार ०७:२६:००
Read Time : < 1 मिनेट
प्रदेश

गण्डकी प्रदेश सभा  तेस्रो दिन पनि अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कास्की
२०७६ चैत १ शनिबार ०७:२६:००

प्रतिपक्षी दलको अवरोधले गण्डकी प्रदेश सभाको बैठक शुक्रबार पनि अवरुद्ध भएको छ । प्रतिपक्षी दलले आफ्ना माग पूरा नभएको भन्दै बुधबारदेखि नै सभा अवरोध गर्दै आएका छन् । 

सरकारले प्रतिपक्षी दललाई बेवास्ता गरेको, दुईतिहाइको दम्भ देखाएको, मुख्यमन्त्रीले प्रतिबद्धता र वाचा पूरा नगरेको भन्दै बैठक सञ्चालनमा अवरोध गर्दै आएका हुन् । शुक्रबार बैठक सुरु हुनासाथ प्रतिपक्षी कांग्रेस सांसदहरू आ–आफ्ना स्थानबाट उठेर अवरोध गरे । प्रतिपक्षी दलका मागको जवाफ दिन बिहीबार नै सभामा उपस्थित हुने भनिएका मुख्यमन्त्री शुक्रबार पनि नआएपछि ्अवरोध जारी राखेको कांग्रेस सांसदहरूले बताए । 

पोखरामै रहेका मुख्यमन्त्री तीन दिनदेखि सभा अवरुद्ध हुँदा पनि उपस्थित नभएको भन्दै उनको आलोचना भएको छ । नेकपाकै एक सांसदले भने, ‘मुख्यमन्त्री पोखरामै हुनुहुन्छ । बैठकलाई सम्बोधन गरेर अवरोध खुलाउनुपर्ने हो, किन बेवास्ता गर्नुभएको हो, थाहा भएन ।’ मुख्यमन्त्रीका स्वकीयसचिव सूर्य गुरुङले भने व्यस्तताका कारण मुख्यमन्त्री बैठकमा उपस्थित हुन नपाएको बताए । 

सरकारले वार्षिक कार्यक्रम प्रकाशित गर्दा कांग्रेस सांसदले दिएका एउटा पनि योजना नसमेटिएको, सबै सांसदलाई समान रूपमा हेर्छु भन्ने प्रतिबद्धता मुख्यमन्त्रीले पूरा नगरेको, प्याकेजका कार्यक्रम र पोको बजेट कार्यान्वयन गर्दा प्रतिपक्षको प्रतिनिधि राखेर विनियोजन गर्ने भने पनि बेवास्ता गरेको, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट विनियोजन गर्दा विवाद भएका स्थानका बजेट मुख्यमन्त्रीले कार्यविधि मिचेर बाँडेको जस्ता गुनासा प्रतिपक्षी दलका छन् ।