१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ फाल्गुण ३० शुक्रबार १८:००:००
Read Time : > 2 मिनेट
अर्थ

रोजगारीका लागि ११ वर्षमा ४६ लाख नेपाली विदेशिए, ७ हजार शव नेपाल भित्रिए

Read Time : > 2 मिनेट
२०७६ फाल्गुण ३० शुक्रबार १८:००:००

देशको अर्थतन्त्रमा ठुलो योगदान पुर्याएको वैदेशिक रोजगारीको अध्यारो पाटो उत्तिकै भयावह छ । रोजगारीका लागि विदेश गएर उतै ज्यान गुमाउनेको संख्या हेर्ने हो भने यसको वास्तविक तस्बिर डरालाग्दो देखिन्छ । 

पछिल्लो ११ वर्षमा वैदेशिक रोजगारीका लागि ४६ लाख नेपाली विदेशिएकोमा यस अवधिमा ७  हजार मृत नेपालीको शव नेपाल भित्रिएको छ ।

वैदेशिक रोजगारीमा मृत्यु हुनेको संख्या बढेको मात्र छैन्, अङ्गभङ्ग हुने नेपालीको संख्या पनि भयावह नै छ । 

वैदेशिक रोजगारीको क्रममा प्रत्येक दिन दुई नेपालीले विभिन्न कारणले ज्यान गुमाउने अवस्था रहेको जनाएको छ ।त्यसको बदलामा देशले वैदेशिक रोजगारीबाट दिनको औसत २ अर्ब  रेमिट्यान्स भित्र्याउने गरेको छ ।

७ हजार भन्दा बढिको मृत्यु
आर्थिक वर्ष २०६५/६६ देखि २०७६ माघ मसान्तसम्ममा ४६ लाख ३२ हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । 

यस अवधिमा ७ हजार ९ सय ७९ जनाले विदेशी भूमिमा ज्यान गुमाउन पुगेका छन् । यस तथ्यांकमा अवैध रुपमा बसोबासमा रहँदा र अवैध तरीकाले गएर मृत्यु भएकाहरुको संख्या समावेश गरिएको छैन् । उक्त तथ्यांक पनि समावेश गरेमा यो संख्या बढ्ने वैदेशिक रोजगार बोर्डले जनाएको छ । 

आव २०६५/०६६ देखि आव २०७५/२०७६ सम्ममा ५३ खर्ब ६१ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । रेमिट्यान्स आप्रवाहलाई हेर्ने हो भने आव २०६५/०६६ मा २ खर्ब ९ करोड रुपैयाँ नेपाल भित्रिएकोमा आव २०७५/०७६ मा ८ खर्ब ७९ अर्ब रुपैयाँ वैदेशिक रोजगारीबाट नेपाल भित्रिएको छ । 

बोर्डको तथ्याङ्क हेर्दा सबैभन्दा बढी आव २०७१/७२ मा एक हजार ६ जनाको मृत्यु भएको थियो । त्यस्तै २०६५/६६ मा सबैभन्दा कम ७७ जनाको मृत्यु भएको तथ्यांक छ । 

आव २०७१/७२ मा पाँच लाख २७ हजार कामदार विदेशिएका थिए भने ०६५/६६ मा दुई लाख ११ हजार नेपाली विदेशिएका थिए । जति जति विदेशिनेको संख्या बढ्दै गयो त्यति त्यति विदेशमा मृत्यु हुनेहरुको संख्या  बढ्न पुगेको बोर्डका अधिकारीहरू बताउँछन् ।  

यसैगरी आब २०७०/०७१ मा र आब २०७१/७२ मा बराबर अर्थात ५ लाख २७ हजार ८ सय विदेशिएका थिए । 
जसमा आब २०७०/७१ मा ८ सय ७७ जनाको मृत्यु भएको थियो । 

गत आव २०७५/०७६ मा ७ सय ८२ जना नेपाली कामदारको मृत्यु भएर शव नेपाल ल्याईएको तथ्यांक छ । त्यस्तै, गत आवमा वैदेशिक रोजगार बोर्डले ७ सय ५३ जना मृतकका परिवारलाई क्षतिपुर्ति दिएको छ । 

चालु आबको हालसम्ममा ४ सय ८९ जनाले विदेशी भूमिमा ज्यान गुमाएका छन् । 

मलेसियामा सबैभन्दा धेरैको मृत्यु  
वैदेशिक रोजगारीका क्रममा सबै भन्दा धेरैले मलेशियामा ज्यान गुमाएका छन् । मलेसियामा हालसम्म २ हजार ९ सयले नेपाली कामदारले ज्यान गुमाएका छन् । 

साउदी अरेबियामा २ हजार २ सयले ज्यान गुमाएका छन् । त्यस्तै, क्रमशः कतारमा १५ सय ५०, युएईमा ७ सय, कुवेतमा २ सय ७५, दक्षिण कोरियामा १ सय २३ जनाले ज्यान गुमाएका छन् । 

त्यस्तै आव २०७५/७६ मा २ सय २९ जना नेपालीले मलेसियामा ज्यान गुमाएका छन् । चालु आवको माघसम्ममा १ सय ४० जनाले ज्यान गुमाइसकेका छन् । 

१५ सय बढी अंगभंग 
मृत्यु हुनेको संख्या मात्र होइन् विदेशमा अंगभंग हुनेको संख्या पनि ठुलो छ । 

बोर्डको तथ्याङ्कमा २०६५ देखि आव २०७५/०७६ सम्ममा एक हजार ५ सय ११ जना अंगभंग भई बोर्डबाट आर्थिक सहायता प्राप्त गरेका छन् । 

त्यस्तै, विभिन्न देशका अस्पतालमा २२ नेपाली गम्भीर घाइते भई कोमामा उपचाररत छन् । कोमामा रहेका बिरामीलाई बोर्डबाट नेपाल झिकाउन प्रयास गरिरहेको बोर्डले जनाएको छ । 

मृत्युका कारण
वैदेशिक रोजगारीमा मृत्यु हुनेमा अधिकांश हृदयघात, सडक दुर्घटना, कार्यस्थलमा दुर्घटना र आत्महत्या जस्ता कारण मुख्य रहेको बोर्डले जनाएको छ । 

साथै, त्यहाँको हावापानीको अनुकुलता नमिलेर पनि मृत्यु हुने गरेको बोर्डका सुचना अधिकारी दिलबन्दु सुवेदीले बताए । 

वैदेशिक रोजगारीमा जाने नेपालीहरूमा बढि मानसिक तनावले गर्दा पनि विभिन्न घट्नामा परी मृत्यु हुने गरेको पूर्वसचिव पूर्णचन्द्र भट्टराई बताउँछन् । यसमा सबैभन्दा बढी प्राकृतिक मृत्यु देखिएको भए पनि सरकारले यसप्रति ध्यान दिनुपर्ने उनको भनाई छ । 

सामाजिक परामर्श आवश्यक
वैदेशिक रोजगारीको क्रममा जाने नेपालीलाई उपयुक्त सामाजिक परामर्श दिनु पर्ने पूर्वसचिव भट्टराई बताउँछन् । यसको लागि कामदारले व्यवसायिक स्वास्थ्यको पनि ख्याल राख्नु पर्ने उनको भनाई छ । 

विदेशमा हुने नेपालीहरूलाई सामाजिक परामर्श आवश्यक भएकाले सरकारले विदेशमा नै तनाव भएको अवस्थामा उही नै परामर्श दिने व्यवस्था गर्नु पर्ने उनको सुझाव छ । 

विदेशमा रहेका नेपालीलाई मात्र होइन, नेपालमा रहेका उनीहरुको परिवारलाई पनि सामाजिक मनोविज्ञानमा आधारित परामर्श आवश्यक रहेको उनी बताउँछन् । 

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार बोर्डले सकेसम्म दक्ष बनाएर नेपालीलाई विदेश पठाउनेमा जोड दिएको दाबी गरे । 

दक्ष कामदार पठाउन सकेको खण्डमा मृत्युको संख्यामा पनि कमी आउने उनको भनाई छ ।