Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
प्रहरीले विप्लव समूहबाट नियन्त्रणमा लिएका हतियार र दस्तावेज
२०७६ फाल्गुण २९ बिहीबार १९:०९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

किशोरी अपहरणपछि विप्लवले भोगेको क्षति

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण २९ बिहीबार १९:०९:००

गाई चराउन गएकी १४ वर्षीय किशोरी करिना मोक्तानलाई अपहरण गर्न खोज्दा विप्लव माओवादीका १३ कार्यकर्ता प्रहरीको नियन्त्रणमा परेका छन् । घटना बुधबार दिउँसोको हो, सिन्धुलीको दुधौलीका करिना दुधौली–३ र धनुषाको गणेशमान चारनाथ धाम–५ को सीमामा रहेको चुरे क्षेत्रस्थित गाईगोठमा गएकी थिइन् । गोठमा आएको थाहा पाएपछि विप्लव माओवादीका कार्यकर्ताहरूले करिनालाई अपहरण गरे ।

करिना अपहरणमा परेको खबर धनुषा प्रहरीले बुधबार साँझ नै पाएको थियो । करिनालाई अपहरणपछि विप्लव समूहले उदयपुरतर्फ लगेको खुलेपछि प्रदेश २ प्रहरीले करिनालाई अपहरणमुक्त गराउन विशेष टोली नै परिचालन गरेको प्रदेश प्रहरी प्रमुख डिआइजी प्रद्युम्न कार्कीले बताए ।

प्रदेश प्रहरीबाट परिचालित टोली अपहरणकारीको पिछा गर्दै उदयपुरको कटारी–१ स्थित खसीबारीको जंगलमा पुग्दा दुवै पक्षको जम्काभेट भयो । उदयपुर प्रहरी र प्रदेशबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो ३ बजे उक्त स्थानलाई घेरा हालेर करिनालाई सकुशल अपहरणमुक्त गर्यो ।

करिनालाई अपहरणमुक्त गर्ने क्रममा प्रहरीलाई महत्वपूर्ण सफलता प्राप्त भएको प्रदेश २ प्रहरी प्रमुख कार्कीले बताए । ‘करिनालाई हामीले घटनाको २४ घन्टाभित्रै अपहरणमुक्त गर्न सफल भएका छौँ,’ उनले भने, ‘त्यस क्रममा विप्लव समूहका १३ कार्यकर्तालाई नियन्त्रणमा लिइएको छ भने केही हतियार र महत्वपूर्ण दस्तावेजसमेत बरामद गर्न सफल भएका छौँ ।’

प्रहरीले नियन्त्रणमा लिएका १३ जनामध्ये आठ जना पुरुष र पाँच जना महिला छन् । उनीहरूलाई उदयपुरबाट धनुषा ल्याइँदै गरेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताए । प्रहरीले उनीहरूको साथबाट तीनवटा पेस्तोल, नौ थान गोली, ११ वटा प्रेसर कुकर बम, सकेट बमसहित केही महत्वपूर्ण दस्तावेज बरामद गरेको छ ।

यसरी भएको थियो अपहरण

मोक्तान परिवार सिन्धुलीको दुधौलीका स्थायी बासिन्दा हुन् । उनीहरूको गाईगोठ भने दुधौली र धनुषाको गणेशमान चारनाथ धाम सीमा क्षेत्रमा पर्छ । बुधबार मोक्तान परिवार दुधौलीमै थियो भने करिना विद्यालयबाट फर्किएपछि गोठ गएकी थिइन् ।

प्रदेश २ प्रहरी प्रमुख कार्कीले दिएको जानकारी अनुसार करिना गाईवस्तु गोठमा बाँधेर दुधौली फर्कने क्रममा थिइन् । उनले भने, ‘करिनालाई विप्लव समूहका कार्यकर्ताले बाटोबाटै अपहरण गरेको पाइएको छ ।’ सामान्य परिवारका करिनालाई विप्लव समूहले भूमिगत कार्यकर्ता बनाउने उद्देश्यले अपहरण गरेको पनि प्रारम्भिक अनुन्धानबाट खुलेको डिआइजी कार्कीले बताए ।