मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ फाल्गुण २९ बिहीबार १०:००:००
Read Time : > 1 मिनेट
प्रदेश

दुई वर्षमा भीमफेदी–कुलेखानी सुरुङमार्ग सम्पन्न गर्ने तयारी

वैशाखमा बोलपत्र आह्वान गर्दै बागमती प्रदेश सरकार

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण २९ बिहीबार १०:००:००

हेटौँडा–काठमाडौंको दूरीलाई कम गर्न भीमफेदी–कुलेखानी सुरुङमार्गका लागि  बागमती प्रदेश सरकारले टेन्डर आह्वान गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ को नीति तथा कार्यक्रममा समेटिएको सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो गौरवको आयोजनामा समेटेको छ । १३ अर्ब खर्चिने प्रारम्भिक अनुमान गरेको प्रदेश सरकारले बर्सेनि १० अर्ब बढी बजेट छुट्याएर दुई वर्षभित्र निर्माण सक्ने योजना बनाएको छ ।  

चैत मसान्तभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) प्राप्त हुने र वैशाखभित्र टेन्डर आह्वान गर्ने तयारी भएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिए । ‘डिपिआरको काम लगभग सकिने चरणमा छ,’ उनले भने, ‘डिपिआर तयार हुनासाथ टेन्डर आह्वान हुनेछ ।’  उनका अनुसार १ करोड बजेट छुट्याइएको डिपिआरका लागि इटेको नेपाललगायत ६ वटा कम्पनीलाई जिम्मा दिइएको छ । सुरुङमार्ग बनाउन ड्रोनबाट अध्ययन गर्ने, माटो, चट्टान परीक्षण, इआइए, आइईलगायत काम सकिएको छ ।

सुरुङमार्गसँगै सडक स्तरीकरण

सुरुङमार्ग निर्माणसँगै हेटौँडा–काठमाडौं सडकलाई स्तरीकरण गर्ने भौतिक पूर्वाधार विकास मन्त्रालयको योजना छ । मन्त्रालयका सचिव भट्टका अनुसार भैँसे–भीमफेदी १३ किमि, भीमफेदी–कुलेखानी ३.५ किमि सुरुङमार्गपछि सिस्नेरी–दक्षिणकालीसम्म ३२ किमि सडक स्तरीकरण गरिनेछ । भैँसे–भीमफेदी १३ किमिका लागि ६५ करोड र सिस्नेरी–दक्षिणकाली ३२ किमि सडक स्तरीकरणका लागि ८० करोड बजेट छुट्याइएको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।

 निर्देशनालयका अनुसार हाल सिस्नेरी–दक्षिणकाली ३२ किमिमध्ये ६ किमि सडक स्तरीकरण भइरहेको छ । यी सडक दुई लेन बनाएर स्तरीकरण गरिने योजना छ । सडक स्तरीकरणका लागि चालू आर्थिक वर्षमै टेन्डर आह्वान गर्ने तयारी रहेको निर्देशनालयका निमित्त निर्देशक सहदेवबहादुर भण्डारीले जानकारी दिए ।

‘सुरुङमार्ग तीव्र गतिमा निर्माण हुन्छ’

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भीमफेदी–कुलेखानी सुरुङमार्ग तीव्र गतिमा निर्माण हुने बताएका छन् । नयाँ पत्रिकासँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले सुरुङमार्गलाई प्रदेश सरकारले गौरवको आयोजनामा समावेश गरेर प्राथमिकताका साथ अघि बढाएको बताए । ३.५ किलोमिटरको सुरुङमार्ग निर्माण दुई वर्षभित्र सकिने उनको दाबी छ । 

‘सुरुङमार्ग निर्माणका लागि टेन्डर आह्वानको तयारी अन्तिम चरणमा पुगिसकेको छ,’ उनले भने, ‘सकेसम्म वैशाखको पहिलो हप्ता वा विलम्ब भए वैशाखभित्रै टेन्डर आह्वान गरेर कामलाई तीव्रता दिइनेछ ।’ सुरुङमार्ग निर्माणपछि प्रदेश राजधानी र संघीय राजधानीसँगै प्रदेशका अन्य जिल्लासमेत छिटो र सहजै पुगिने बताए । उनले हेटौँडा मात्र नभई प्रदेशको समग्र विकासमा सुरुङमार्गको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे ।