Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २९ बिहीबार ०९:३२:००
Read Time : > 1 मिनेट
खेलकुद

नेपालका प्रिन्स विश्व  वरीयताको सातौँ स्थानमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २९ बिहीबार ०९:३२:००

१० हजार चार सय अंकका साथ नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व जुनियर वरीयताको सातौँ स्थानमा 

नेपाली युवा खेलाडी प्रिन्स दाहालले विश्व जुनियर ब्याडमिन्टन वरीयतामा निरन्तर सुधार गरिरहेका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ)ले बुधबार सार्वजनिक गरेको जुनियर वरीयतामा प्रिन्स सातौँ स्थानमा उक्लिएका छन् । उनले आफ्नो वरीयतामा तीन स्थान सुधार गरेका हुन् । यसै साता जर्मनीमा भएको जुनियर इन्टरनेसनल सिरिजमा प्रिक्वार्टरफाइनलमा पुगेका प्रिन्सले निकै राम्रो वरीयता अंक बटुलेका थिए । उनी प्रिक्वार्टरफाइनलमा फ्रान्सका यानिस गाउदिनसँग २१–१८, १२–२१ र १२–२१ को सेटमा पराजित भएका थिए । यसअघि उनले पहिलो चरणमा अस्ट्रियाका लेन्नीलाई २–० ले हराए । 

त्यसपछि लगातार दुई चरणमा प्रिन्सले जर्मन खेलाडीलाई पाखा लगाउँदै प्रिक्वार्टरफाइनल स्थान सुरक्षित गरे । सो प्रतियोगितामा विभिन्न मुलुकबाट १२८ राष्ट्रका खेलाडीले सहभागिता जनाएका थिए । ताजा वरीयतामा प्रिन्सले १० हजार ४०० अंक बटुलेका  छन् । उनी सिनियर वरीयतामा ४४५औँ स्थानमा छन् । विश्व जुनियर वरीयताको शीर्ष स्थानमा रहेका फ्रान्सका क्रिस्टो पापोभले २१ हजार ८८० अंक जोडेका छन् । 

प्रिन्सले विश्व जुनियर वरीयताको सातौँ स्थानमा रहँदा असाध्यै खुसी लागेको बताएका छन् । ‘जति प्रतियोगिता जित्यो, त्यति स्कोर बढ्ने हो । अब यसपछिको यात्राबारे केही भन्न सकिन्न,’ उनले भने । प्रिन्सले यस वर्षभित्र शीर्ष तीनको लक्ष्य राखेको बताएका छन् । ‘मेरो आगामी लक्ष्य भनेको जुनियरतर्फको वरीयतामा तेस्रो स्थानसम्म पुग्नु हो ।’ शीर्ष सातमा स्थान रक्षा गर्दा प्रिन्सले २०१९/२० को सिजनमा ११ वटा अन्तर्राष्ट्रिय जुनियर प्रतियोगिता खेलेका छन् । 

यसै फागुनमा प्रिन्स वरीयताको १०औँ स्थानमा उक्लिएका थिए । त्यसवेला उनले युनेक्स डच जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका थिए । उनले पहिलो चरणमा बाई पाएका थिए । दोस्रो चरणमा रसियाका अतुर पेचेन्कीलाई २–० को सेटमा हराए । त्यसपछि अन्तिम ३२ मा उनले चाइनिज ताइपेईका हङ हुवाङलाई २–१ को सेटमा पाखा लगाए । प्रिक्वार्टरफाइनलमा उनी चाइनिज ताइपेईका हसु चेयुसँग २–० को सोझो सेटमा स्तब्ध भए । यस प्रतियोगिताबाट प्रिन्स ५२ प्रतिशत वरीयता अंक बटुल्न सफल भए ।  

कोरोनाका कारण रोकियो बैंकक यात्रा

जर्मन जुनियर इन्टरनेसनल ओपनपछि प्रिन्सले थाइल्यान्डमा हुने अर्को जुनियर प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रम तय गरेका थिए । थाइल्यान्डको बैंककमा अप्रिलमा बैंकक जुनियर इन्टरनेसनल सिरिज हुँदै थियो । तर, विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण आयोजकले प्रतियोगिता स्थगित गरेको छ । प्रतियोगितामा सहभागी हुने तयारीमा रहेका प्रिन्सले कोरोनाका कारण प्रतियोगिता रोकिएको जानकारी दिएका छन् । गत वर्ष यू–१७ उमेर समूहमा प्रिन्सले उपविजेताको उपाधि जितेका थिए ।
‘बैंककमा अप्रिलमा हुने प्रतियोगितामा भाग लिने तयारी थियो, तर कोरोनाका कारण प्रतियोगिता रोकिएको छ,’ प्रिन्सले भने, ‘अब कहिले कहिले हुन्छ थाहा छैन ।’ कोरोना भाइरसका कारण बिडब्लुएफको वार्षिक क्यालेन्डरसमेत प्रभावित भएको उनले बताए । ‘अहिले विश्वभर फैलिएको कोरोना भाइरसका कारण धेरै प्रतियोगिता स्थगित भइरहेका छन् । त्यसैले कहिले अर्को प्रतियोगिता खेलिन्छ भन्ने तय भएको छैन,’ प्रिन्सले भने ।