मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
लेखनाथ न्यौपाने
२०७६ फाल्गुण २९ बिहीबार ०८:३६:००
Read Time : > 6 मिनेट
दृष्टिकोण

नेकपा अर्थात् भौतिकवादविरोधी

भौतिकवादी विश्वदृष्टिकोणबाट प्रशिक्षित हुनुपर्ने पंक्ति जब दैनिक जीवनमा ईश्वरलाई आदर्श मान्न पुग्छ, तब त्यो कम्युनिस्ट पार्टीको हालत कस्तो होला ?

Read Time : > 6 मिनेट
लेखनाथ न्यौपाने
२०७६ फाल्गुण २९ बिहीबार ०८:३६:००

प्रकृति र समाजका सबै घटना, पात्र र प्रवृत्तिबारे सही र गलत छुट्याउने विश्वदृष्टिकोण नै गलत भएपछि त्यस दृष्टिकोणले ‘सहीको पक्षपोषण र गलतविरुद्धको संघर्ष’ भन्ने वाम मान्यताकै अन्त्य गरिदिने रहेछ । भौतिकवादी विश्वदृष्टिकोणका आधारमा चल्ने कम्युनिस्ट नै वाम दृष्टिकोणबाट चिप्लिएपछि, परिणामतः उनीहरूले स्वर्ग र नर्कका कुरा गर्न थाल्छन् । पुनर्जन्ममा विश्वास गर्न पुग्छन् । उत्पीडित र गरिब हुनु पनि अघिल्लो जुनीको फल सम्झन्छन् । त्यसपछि अन्तिम ढंगले आफ्नो पतनको बाटो आफैँ खन्छन् । यसरी आजको नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवृत्ति भौतिकवादी विश्वदृष्टिकोणविरुद्ध उभिएको देखिन्छ ।  

 विश्वमा ब्रह्माण्ड, ब्रह्माण्डका सम्पूर्ण वस्तु (जीवित र निर्जीव), घटना, पात्र र प्रवृत्तिलाई बुझ्ने दृष्टिकोण एउटै छैन । यस विषयमा संसार दुई वर्गमा विभाजित छ । एउटा दृष्टिकोणले भन्छ– ‘यो ब्रह्माण्ड दैविक शक्ति अथवा ईश्वरले सृष्टि गरेको हो र उसैले सञ्चालन गर्छ ।’ यो दृष्टिकोणले पृथ्वीका सबै घटना, पात्र र प्रवृत्तिलाई ईश्वरीय देन ठान्छ, जुन विषय आजसम्म प्रमाणित छैन । अर्को दृष्टिकोण छ– जसले अप्रमाणित वा ईश्वरीय शक्तिलाई अस्वीकार गर्छ ।

कुनै पनि वस्तुको निर्माण र ध्वंश वा गठन र विघटन त्यस वस्तुको आन्तरिक गतिले निर्धारण गर्छ भन्ने दृष्टिकोण राख्छ । दृष्य, प्रमाणित र अस्तित्ववान् वस्तुमा मात्र विश्वास गर्ने र यिनै वस्तुका आधारमा चेतना निर्माण हुन्छ भन्ने बुझाइ अथवा अदृष्य, अप्रमाणित र अस्तित्व नभएका वा ईश्वर र ईश्वरीय शक्तिमा विश्वास नगर्ने दृष्टिकोण छ, जसलाई भौतिकवादी विश्वदृष्टिकोण भनिन्छ । संसारभरका कम्युनिस्ट वा वाम शक्तिले भौतिकवादी विश्वदृष्टिकोणको आधारमा वस्तु एवं घटनालाई बुझ्ने र चेतना निर्माण गर्ने पद्धति अंगीकार गर्छन । यस अर्थमा भौतिकवादविरुद्ध (ईश्वरीय शक्तिमा विश्वास गर्ने)को विश्वदृष्टिकोण राख्ने र त्यस आधारमा गतिविधि गर्ने पार्टी वा पात्र कम्युनिस्ट हुन सक्दैन ।

यसप्रकारको विश्वदृष्टिकोणमा वर्ग र वर्ग पक्षधरता अन्तर्निहित हुन्छ । यस सन्दर्भमा सरल भाषामा लेनिन भन्छन्– ‘यसले मानिसलाई एक यस्तो अखण्ड विश्वदृष्टिकोण प्रदान गर्छ, जुन कुनै पनि प्रकारको अन्धविश्वास, प्रतिक्रियावादी प्रवृत्ति र पुँजीवादी उत्पीडनको कुनै पनि पक्षपोषणको कट्टर विरोधी छ ।’ समाजवाद हुँदै साम्यवादको यात्रा तय गरेको भन्ने आजको सत्तासीन पार्टीको नाम कम्युनिस्ट नै छ । यसले आफ्नो मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद, लेनिनवाद भनेको छ । आफ्नो विधानमा सर्वहारा, श्रमिकहरूको मुक्तिका लागि काम गर्ने पार्टी भनेरसमेत परिभाषित गरेको छ । यी विषयमा विश्वास गर्नुअघि नेकपाका नेता—कार्यकर्ताको विश्वदृष्टिकोण भौतिकवादी छ कि छैन भनेर हेर्न आवश्यक हुन्छ । 

विश्वदृष्टिकोणका आधारमा नेकपाको मूल प्रवृत्ति अभौतिकवादी देखिन्छ । अदृष्य र अप्रमाणित वस्तुकेन्द्रित भएर व्यवहारमा अभिव्यक्त हुने नेता—कार्यकर्ताको संख्या सघनतामा छ । यो पंक्तिले ईश्वर स्विकार्छ र ईश्वरीय शक्तिमा विश्वास गर्छ । भौतिकवादी विश्वदृष्टिकोणबाट प्रशिक्षित हुनुपर्ने पंक्ति जब दैनिक जीवनमा ईश्वरलाई आदर्श मान्न पुग्छ, तब त्यो कम्युनिस्ट पार्टीको हालत कस्तो होला ? जस्तो आजको नेकपाको छ । यहाँ गम्भीर प्रश्न उठ्छ कि हामीले आफूलाई कुन विश्वदृष्टिकोणका आधारमा कम्युनिस्ट भनिरहेका छौँ ? अझ गज्जबको विषय त यो छ कि बुर्जुवासँग चुनावी प्रतिस्पर्धा गरेर समाजवादमा पुग्ने र साम्यवाद स्थापना गर्ने भनिरहेका छौँ ।

आजको सत्तासीन पार्टीको नाम कम्युनिस्ट नै छ । यसले आफ्नो मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद भनेको छ । आफ्नो विधानमा सर्वहारा, श्रमिकहरूको मुक्तिका लागि काम गर्ने भनेरसमेत परिभाषित गरेको छ । यी विषयमा विश्वास गर्नुअघि नेकपाका नेता—कार्यकर्ताको विश्वदृष्टिकोण भौतिकवादी छ कि छैन भनेर हेर्न आवश्यक छ ।

समाजवादमै पुग्ने भएपछि जसरी पनि चुनाव जित्नुपर्ने बाध्यतामा पर्ने नै भइयो । चुनाव जित्नका लागि पन्डादेखि गुन्डासम्म सबै कम्युनिस्ट पार्टीभित्र हुल्नुपर्ने अभियान चलाउनैपर्‍यो । मत बटुल्नका लागि पुरेत, पुजारी र शंखघण्ट संघजस्ता भ्रातृसंगठन निर्माण गर्ने दैनिकीमा अभिव्यक्त भइरहेका छौँ । यो प्रकृतिको दृष्टिकोण र चुनावी राजनीतिले वर्ग, वर्ग पक्षधरता र वर्गीय मुक्तिजस्ता मार्क्सवादका आधारभूत प्रस्तावनाको हामी आफैँले दैनिक हत्या गरिरहेका छौँ । तर, पनि हामी मार्क्सवादी , लेनिनवादी सिद्धान्त मान्ने कम्युनिस्ट भनिरेहका/भइरहेका छौँ । यस्तो विरोधाभासपूर्ण दैनिकीमा फसेको आजको नेकपाको भविष्य कस्तो होला ? अनुमान गर्न गाह्रो छैन । 

मार्क्सवाद  नपढी मार्क्सवादी भएका हामी । कम्युनिस्ट घोषणापत्र नहेरी कम्युनिस्ट बनेका हामी । समाजवादी विचार र आचरणको जग नहाली समाजवादी यात्रा तय गर्ने हामी । हामी दैनिक व्यवहारमा कसरी अभिव्यक्त भइरहेका छौँ त ? यो व्यवहारले कुन विश्वदृष्टिकोणको पक्षपोषण गरिरहेको छ ? भन्ने विषय छिचोलेरै छलफल नगर्ने हो भने नेकपा तीव्रतामा बुर्जुवाकरण भएर पुँजीवादी राजनीतिक पार्टीमा बदलिने पक्का छ ।

भर्खरै सहिद सप्ताह (फागुन १४—२१) सकिएको छ । यद्यपि, पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गरिसकिएको र सत्तारोहण गरिएकाले सहिद सप्ताहको झन्झटमा प्रवेश गर्न जरुरी छैन भन्ने अनौपचारिक निर्णयमा नेकपा पुगेको देखियो । सहिद सप्ताह पार्टीका एकाध जनवर्गीय संगठन वा पूर्वसमूह झल्कने आयोजकले एक दिन साँझ बत्ती बालेर प्रार्थना गर्ने कर्मकाण्ड (अंशमा मूल्यवान् काम पनि भएका छन्)बाहेक अरू विचारको बहस, सांस्कृतिक रूपान्तरणको अवस्था वा जनसेवा र श्रमशिविरजस्ता मूल्यबोधका कार्यक्रम गर्न जरुरी नै ठानिएन र अबउप्रान्त जरुरी पनि ठानिने छैन ।

उल्टो के गर्न थाल्यौँ भने ‘राजनीतक आन्दोलनमा संलग्न भएर सहिद भएकाको मृतआत्माले शान्ति पाएनन्, स्वर्ग जाने बाटो नै अवरुद्ध भयो’ भन्दै वर्षौंपछि कुशको शव बनाएर घाटमा दाहसंकार, काजक्रिया र सामूहिक पिण्ड दान गरेर मरेका आफन्तलाई स्वर्ग पुर्‍याउने अभियानमा हामी र हाम्रा परिवार देखिन थाले । यस्ता कैयौँ घटना सार्वजनिक भइरहेका छन् । एउटा उदाहरण, गत वर्ष हवाई दुर्घटनामा ज्यान गुमाएका पार्टीका केन्द्रीय सदस्य रवीन्द्र अधिकारीलाई पार्टीले स्वर्गीय भनेर सम्बोधन गर्दै छ । परिवारको आग्रहमा मृतआत्माको शान्तिका लागि भनेर पुनः काजक्रिया थालिएको विषय बाहिर आइसक्यो ।  

मुलुकका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष अस्पतालमा हुनुहुन्छ । उहाँको सामान्य ढंगले स्वास्थ्य लाभको कामना गर्नु सकारात्मक पक्ष मान्न सकिन्छ । तर, उहाँको स्वास्थ्य लाभको नाममा सडकमा जे–जस्ता काम मुख्यतः युवा विद्यार्थीबाट भइरहेका छन्, ती सबै अस्वाभाविक, चाकरी बजाउने खालका र देउता खुसी बनाएपछि उपचार सफल हुन्छ भन्ने ढंगका छन् । यस्ता गतिविधि कुन विश्वदृष्टिकोणद्वारा निर्देशित छन् ? भन्ने विषय सार्वजनिक महत्वको हो ।

कम्युनिस्ट आन्दोलनमा युवा विद्यार्थी समुदाय नयाँ क्याडर उत्पादन गर्ने कारखानाका रूपमा बुझिन्छ । तर, यसले दृष्टिकोण निमार्णका लागि खास क्लास चलाउँदैन । सही दृष्टिकोण कसरी निर्माण हुन्छ ? भनेर कुनै बहस चलाउँदैन । मार्क्सवादको आधारभूत ज्ञान प्राप्तिमा आफूलाई आतुर बनाउँदैन । तर, ऊ दौडिरहेको छ । कुन पद ठूलोे र लाभको हो, त्यो भकुर्न ऊ दौडन्छ । लाभको पदमा म, म नभए मेरो गीत गाउने मान्छेलाई चाहिन्छ भन्दै ऊ दौडन्छ । आफूले गरेका गल्तीमा पनि ताली हान्ने र तेल घस्नेलाई बढुवा गर्नका लागि ऊ दौडन्छ । अब दौड यतिमा मात्र सीमित भएन कि मार्क्सवादका विद्यार्थी माइतीघर (पशुपति वा स्वयम्भू) मण्डलालगायत देशैभरका चोकमा प्रार्थनासभा र क्याम्पसमा शान्तिपूजा गरेपछि प्रधानमन्त्रीको शल्यक्रिया सफल हुन्छ भन्ने ठाउँमा पुगेको छ । यसरी हेर्दा अखिल, अब अखिलजस्तो रहेन । विश्वदृष्टिकोणका आधारमा अखिल ईश्वरीय आशीर्वाद, दान र वरदानमा बदलियो । 

विवाहको मौसममा अखिलका नेता—कार्यकर्ताको अर्को चित्र देखिन्छ । मार्क्सवादका विद्यार्थीको विवाह लगनको दिनबाहेक अर्को दिन गर्नैहुँदैन । दुलही (अखिलकी नेत्री)लाई सुनले ढाकिएन भने सामाजिक हैसियत कमजोर हुन्छ भन्ने बुझाइ बलशाली बन्दै छ । हामी विवाहलगत्तै थर फेर्छौं, चुरापोतेमा रमाउँछौँ र निधारदेखि थाप्लोसम्म सिन्दुर लगाएर मख्ख हुन्छौँ । तर, पनि हामी भौतिकवादी दर्शनका विद्यार्थी र अखिलका नेता भएको भ्रममा रमाइरहन्छौँ । आमा र हजुरआमा अथवा भाउजू र माइजूलाई ‘शिवलिंगको पूजा गर्नु भ्रम हो’ भन्ने विषय बुझाउने दिशातिर होइन कि उहाँसँगै शिवलिंगको पूजा गर्ने पंक्तिमा उभिन्छौँ । यसरी नयाँ समाज र संस्कृति निर्माणको उद्देश्यबाट हामी चिप्लिन्छौँ र पुरानै समाजको रुढिगत कुरीतिमा फर्कन्छौँ ।

चुनाव जित्नका लागि पन्डादेखि गुन्डासम्म सबै कम्युनिस्ट पार्टीभित्र हुल्नुपर्ने अभियान चलाउनैपर्‍यो । मत बटुल्नका लागि पुरेत, पुजारी र शंख–घण्ट संघजस्ता भ्रातृसंगठन निर्माण गर्ने यो दृष्टिकोण र चुनावी राजनीतिले हामी वर्ग, वर्ग पक्षधरता र वर्गीय मुक्तिजस्ता मार्क्सवादका आधारभूत प्रस्तावनाको दैनिक हत्या गरिरहेका छौँ ।

सही र गलतबीचमा सीमारेखा कोर्न नसक्ने कार्यकर्ता पार्टी आन्दोलनमा बाक्लिँदै गर्दा सहीको ठाउँमा गलत, आलोचनात्मक चेतको ठाउँमा गुलाम, भौतिकवादी विश्वदृष्टिकोणको ठाउँमा ईश्वर र ईश्वरीय शक्तिको विश्वासमा चुर्लुम्म डुब्छौँ । यसरी कार्यकर्ता तहको दृष्टिकोण र व्यवहारमा धमिलोपन बाक्लिँदै गर्दा माथिको मुहान कस्तो छ ? भनेर हेर्न जरुरी हुन्छ । ‘भैँसी पूजारी’ भनेर मुहानमाथि भएको आक्रमणले हैरान भएका कार्यकर्ता नेताले नै श्रीमतीको स्वास्थ्यका लागि गलेश्वर मन्दिरमा आरती लगाएपछि भैँसी पूजा होइन भन्ने तर्कमा स्वतः फितलो भए ।

हामी आफ्नो जन्मदिन बडेमानका केक काटेर धुमधामसँग भोजभतेरसहित मनाउँछौँ र कार्यकर्ताले त्यही सिकून् भन्ने ठान्छौँ । विवाहको रजत वा स्वर्ण वर्ष भन्दै भोजभतेरसहित जोरैबाजा बजाएर मनाउँछौँ र कार्यकर्ताले यो पनि गर्न मिल्ने रहेछ भनेर सिक्छन् । पार्टीका केन्द्रीय सदस्य बाआमा मर्दा सेतो कपडासहित १३ दिनसम्म क्रियाकर्ममा बस्छौँ र कार्यकर्ताले यसैलाई नजिर बनाउँछन् । जुन गतिविधि कम्युनिस्टको भौतिकवादी विश्वदृष्टिकोणसँग मेल खाँदैन । 

कम्युनिस्ट पार्टीको तर्फबाट मन्त्रीसमेत बनेका पार्टी केन्द्रीय सदस्यले अकुत सम्पत्ति कमाउँछ । त्यसलाई वैधानिक बनाउने नाममा अर्को भयंकर गल्ती गर्छ र मिडियामा खुलेआम भन्छ, ‘विवाहमा श्रीमतीको माइतीले दाइजो दिएका हुन् ।’ कम्युनिस्टले पनि दाइजो लिन मिल्ने रहेछ भनेर कार्यकर्ता र जनताले दाइजो लिन सिक्छन् । लगभग विस्थापित भइसकेको दाइजो प्रथा कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यबाटै पुनस्र्थापना गर्ने कामको नेतृत्व हुन्छ भने हाम्रो हालत के भइरहेको होला ? रुद्री पूजा, पितृपिण्ड, ग्रहशान्ति हुँदै बर्सेनि जनैपूर्णिमामा जनै फेर्नेसम्मका अन्धविश्वासका गतिविधि जब कम्युनिस्ट पार्टीको केन्द्रमा सघनतामा देखिन्छ, तब त्यसले तल कार्यकर्ता र जनतासम्म नकारात्मक ढंगले विस्तारित रूप लिन्छ । परिणाम कम्युनिस्ट आन्दोलन क्रमशः भौतिकवादी विश्वदृष्टिकोणबाट विचलित भएर देउरालीमा फूलपाती चढाउने ठाउँमा पुगेर विसर्जन हुन्छ ।

समाजमा पर्ने नकारात्मक प्रभाव अर्को हुन्छ । समाजमा कम्युनिस्ट पार्टीको प्रभाव बढ्दै जाने र लोकप्रिय मत प्राप्त गर्ने, तर यही समाजमा पूर्णिमामा शालीनदी नुहाएर महिनाभरि स्वस्थानी कथामा लठ्ठिने जनताको संख्या पनि बढ्ने अवस्था सिर्जना हुनु केको परिणाम हो ? दृष्टिकोणका हिसाबले यी दुई घटना विपरीत हुन् । समाजमा कम्युनिस्ट पार्टीको प्रभाव बढ्दा स्वस्थानी कथामा विश्वास गर्ने जनताको संख्या घट्नुपर्ने अथवा स्वस्थानी कथामा विश्वास गर्ने जनताको हिस्सा बढ्दै जाँदा कम्युनिस्ट पार्टीको प्रभाव घट्नुपर्ने, तर दुवै एकै समयमा बढ्नुको अर्थ कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता आफैँ भौतिकवादी विश्वदृष्टिकोणमा विश्वास गर्दैनन् भन्ने हो । विश्वदृष्टिकोणमा यस्तो कमजोर पंक्तिले जनाताबीचमा कम्युनिस्ट विचार र नयाँ संस्कृति प्रचार गर्न र प्रभाव बढाउन सक्दैनन्/सकेका छैनौँ भन्ने प्रमाण हो । जब कम्युनिस्टले जनताबीचमा वैचारिक र सांस्कृतिक काम गर्दैनौँ, त्यो जनता अस्थिर, अस्थायी र क्षणभरमै अर्को पार्टीको समर्थक वा सदस्यको रूपमा देखापर्छ । 

वैचारिक रूपमा प्रस्ट कार्यकर्ता र जनता अप्ठ्यारो अवस्थामा पनि आफ्नो वैचारिक आस्थाप्रति अविचलित देखिन्छ । तर, नयाँ समाज र संस्कृति निर्माणको अभिभारा बोकेका त्यो समाजका कम्युनिस्ट जब आफैँ जनताजस्तै रुढिवादी बन्छौँं अथवा वैचारिक सांस्कृतिक विचलनमा पर्छौं, तब जनताबाट कट्न हुँदैन भन्ने नाममा पुरानो समाजमा फर्कन्छौँ । सामाजिक हुनुपर्छ भन्ने नाममा पुरातन संस्कृतिमा हराउँछौँ र सकिन्छौँ । 

हामी कम्युनिस्ट नेता मन्दिर वा गुम्बा निर्माण समितिको अध्यक्ष बन्न खुब रमाउँछौँ । उपभोक्ता समितिको अगुवा हुन पनि निकै इच्छुक देखिन्छौँ, तर त्यही ठाउँमा पुस्तकालय, वाचनालय वा बहस डबली स्थापना गर्ने काममा बेमतलबी र उदासीन बन्छौँ । यो ढंगले हामी कसरी कम्युनिस्ट हुन्छौँ ? कम्युनिस्ट पार्टीको बाक्लो प्रभाव र जनमत भएको समाजमा धामीझाँक्री, बोक्सी र छुवाछुतको समस्या पनि उत्तिकै मात्रामा बाक्लो हुनुको अर्थ हामी कम्युनिस्टले जनताबीचमा कहिलेकाहीँ भोट हाल्ने संगठनसम्म बनायौँ, तर त्यो संगठनलाई वैचारिक, सैद्धान्तिक र सांस्कृतिक विषयमा प्रशिक्षण गरेर बलशाली बनाउँदै बनाएनौँ वा विशुद्ध चुनावी पार्टी भएकाले आवश्यक ठानेनौँ । 

जब चेतनास्तर (दृष्टिकोण)मा कम्युनिस्ट पार्टीका नेता—कार्यकर्ता जनताजस्तै हुन्छौँ, तब हामीले जनताको नेतृत्व र समाज रूपान्तरणको अगुवाई गर्न किमार्थ सक्दैनौँ । विचारमा सही नभएपछि नेतृत्व गर्ने नैतिक धरातल समेत आफैँ गुमाउँछौँ । यस सन्दर्भमा माओलाई गहिरोसँग पढ्नुपर्छ । उनी भन्छन्, ‘जुन दर्शन, जुन वर्ग तथा समुदायप्रति पक्षधर छ र तिनको सेवा गर्छ, त्यो दर्शनलाई त्यही वर्ग तथा समुदायले गम्भीरतापूर्वक आत्मसात् गर्न जरुरी छ । यस अर्थमा मार्क्सवादी दर्शनको अध्ययन कुनै विद्वान्, पार्टीका नेता—कार्यकर्ताले मात्र होइन, सिंगो समुदाय र मानव समुदायको विशाल हिस्साले गर्नुपर्छ । यसरी मात्र सबैखाले गलत चिन्तन र प्रवृत्तिमाथि विजय प्राप्त गर्न सकिन्छ ।’