मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ७ सोमबार ०८:२१:००
Read Time : < 1 मिनेट
साहित्य

धम्बोझीमा धम्बोझीमाथि छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ७ सोमबार ०८:२१:००

पत्रकार तथा लेखक सरोजराज अधिकारीको चौथो पुस्तक ‘धम्बोझी’माथि शनिबार नेपालगन्जस्थित धम्बोझीमै छलफल भएको छ । पुस्तकले समेटेका विषयवस्तु र नेपालगन्जको सेरोफेरोमा केन्द्रित छलफलमा राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, नेपाल टेलिभिजन कोहलपुरका प्रमुख विजय वर्मा र पुस्तकका लेखक सरोजराज अधिकारी सहभागी थिए । कार्यक्रमको सहजीकरण साहित्यकार ऋचा लुइँटेलले गरिन् ।

छलफलमा आयोग प्रवक्ता अन्सारीले मधेसीको सहनशीलतालाई परम्परागत राजनीतिक दलले पटक–पटक बिथोल्न खोजेकाले मधेसमा आन्दोलन भएको बताइन् । ‘मधेसीमाथि सत्ता सञ्चालकले विभेद गरेका कारण पहिचानका लागि मधेस विद्रोह भएको हो,’ उनले भनिन्, ‘रैथाने मधेसीको नेतृत्व अस्वीकार गर्ने, बाहिरबाट आएकाले उनीहरूमाथि शासन गर्ने परिपाटीका कारण मधेसमा पटक–पटक आन्दोलन हुने गरेको हो ।’ नेपालगन्जकी उपमेयर थापामगरले पुस्तक पढिरहँदा केही पात्र आफैँजस्तो लागेको र आफू हुर्केको नेपालगन्जको परिवेश आँखामा नाचिरहने बताइन् । ‘पुस्तकमा समावेश नेपालगन्जिया भाषाले थप मिठास थपेको छ,’ उनले भनिन्, ‘यो सामाजिक न्यायका पक्षमा लेखिएको सशक्त पुस्तक हो ।’

मधेस मामिलाका जानकारसमेत रहेका विजय वर्माले पुस्तकमा उल्लेख भएझैँ रैथाने मधेसीलाई सत्तापक्षले गैरनेपालीको नजरले हेर्ने गरेको बताए । ‘अहिले पनि मधेसीलाई नागरिकता पाउन मुस्किल छ । मेरा बाबुबाजेले त नागरिकता पाएपछि फोटो फ्रेममा सजाएर राख्नुहुन्थ्यो । सार्वजनिक ठाउँमा उभ्याएर ५० जना साक्षीबाट प्रमाणित गराइन्थ्यो,’ उनले भने । लेखक अधिकारीले मधेस आन्दोलनको प्रमुख इपिसेन्टर नेपालगन्जको पहिचान बनेको धम्बोझीलाई विम्ब बनाएर राज्यले मधेसमाथि गरेको विभेद र सामाजिक न्यायको संघर्षमाथि पुस्तक केन्द्रित रहेको बताए ।