१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सिद्धबाबाको वैकल्पिक मार्ग सालझण्डी–पटौती–तम्घास–ढोरपाटन सडक ।
टोपलाल अर्याल गुल्मी
२०७६ फाल्गुण २८ बुधबार २०:३५:००
Read Time : > 2 मिनेट
समाचार

सालझण्डीबाट पटौतीहुँदै सिद्धबाबाको विकल्प खोज्दै गुल्मेली

Read Time : > 2 मिनेट
टोपलाल अर्याल गुल्मी
२०७६ फाल्गुण २८ बुधबार २०:३५:००

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबामा अहिलेसम्म धेरै जनाले ज्यान गुमाइसकेका छन् । केही साताअघि मात्र पनि माथिबाट खसेको ढुंगाले लागेर तम्घासका बाबुकाजी भनिने महेन्द्र श्रेष्ठको ज्यान गएको थियो । 

कांग्रेस नेता हरि न्यौपानेको पनि कारमा ढुंगा खसेपछि सिद्धबाबामै इहलीला समाप्त भएको थियो । त्यस्तै निर्माण व्यवसायी रामप्रसाद पन्त र उपप्राध्यापक कृष्ण मरासिनीले पनि सिद्धबाबामा भएको दुर्घटनामै ज्यान गुमाएका थिए ।

यी त केही प्रतिनिधि घटना मात्रै हुन् । सिद्धबाबामा कैयन परिवारले अभिभावक र आफन्त गुमाएका छन् । तर यति धेरै मानवीय तथा भौतिक क्षति भइसक्दा पनि सिद्धबाबाको दीर्घकालीन समाधानको प्रयास भने हुन सकेको छैन । 

गुल्मेलीका लागि अहिले सालझण्डीदेखि पटौती, खज्र्याङ, तम्घासहुँदै ढोरपाटन पुग्ने सडक विकल्प बनेको छ । तम्घासबाट ७४ किलोमिटरमा पूर्व–पश्चिम राजमार्ग पुगिने भएकाले दुरी पनि २२ किलोमिटर कम हुने गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए । उनले वैकल्पिक सडक छोटोसँगै ग्रेड मिलेको र चौडासमेत भएको बताए ।

राजनीतिको घेरामा सडक
गुल्मीबाट सबैभन्दा छिटो तराई जोडिने र सुरक्षित मानिएको सालझण्डीदेखि तम्घासहुँदै ढोरपाटन जोड्ने सडकको काम यतिबेला खासै अगाडि बढ्न सकेको छैन । ०७० सालमा रणनीतिक सडकका रूपमा अगाडि बढाइएको सडकका लागि पछिल्लो दुई वर्षयता अत्यन्तै कम बजेट विनियोजन भएको छ ।

यो सडकलाई ०७० को चुनावमा कांग्रेस नेता चन्द्र भण्डारीले चुनावी एजेण्डा बनाएका थिए । उनी चुनाव जितेपछि राम्रै बजेट विनियोजन गराउन सफल पनि भए । तर अहिले यो सडकमा नेकपाका सांसदहरूले खासै चासो दिएका छैनन् ।

उद्योग वाणिज्य संघको पहलमा जिल्ला समन्वय समिति गुल्मीले आयोजना कार्यान्वयन कार्यालय, प्रदेश र केन्द्रमासमेत ध्यानाकर्षण गराएको छ । तर यो सडक संघ र प्रदेशको प्राथमिकतामा पनि परेन । विकासमा राजनीतिक प्रतिशोध लिने प्रवृत्ति देखिएको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले बताए ।

प्रदीप ज्ञवालीले अघि सारेको विमानस्थल योजनामा तत्कालीन सांसद चन्द्र भण्डारीले बेवास्ता गरेका थिए । त्यसैले भण्डारीले अघि सारेको योजनालाई पनि संघ तथा प्रदेशका मन्त्री एवं सांसदहरूले वास्ता नगरेको स्थानीयको बुझाइ छ ।

न सांसद बोल्छन् न मन्त्री
नेकपाको केन्द्रमा गुल्मीका दुई जना नेताको राम्रो पहुँच छ । प्रदीप ज्ञवाली त अहिले परराष्ट्रमन्त्री नै छन् । गोकर्ण बिष्ट पनि पूर्वमन्त्री हुन् । तर दुवै नेताले आफूहरूले अघि बढाएको अन्य योजनामा बजेट पारे पनि यो सडकमा भने वास्ता गरेका छैनन् । र, दुवै जनाले यो सडकको विषयमा कहीँकतै केही अभिव्यक्ति दिएका पनि छैनन् ।

प्रदेश ५ को सामाजिक विकासमन्त्री सुदर्शन बराल छन् । तर उनी पनि यो सडक अघि बढाउने विषयमा चुपचाप छन् । प्रदेश ५ का विशेषाधिकार समिति संयोजक तथा सांसद कमलराज श्रेष्ठ यो सडक सबै हिसाबले महत्वपूर्ण भएको भन्दै प्रदेश वा केन्द्रबाट पूरा गर्नुको विकल्प नभएको बताउँछन् ।

उनले गत वर्ष मुख्यमन्त्री शंकर पोख्रेलको ध्यानाकर्षण गराएर चार करोड विनियोजन गराइएको भए पनि निर्माण व्यवसायीले समयमा काम नगर्दा केही समस्या भएको बताए । सांसद श्रेष्ठले आगामी आर्थिक वर्षमा उल्लेख्य बजेट विनियोजन गराउन आवश्यक पहल गरिने बताए ।

आयोजनाको काम खाल्डा पुर्नु मात्र
पर्याप्त बजेट नहुँदा आयोजनाको यतिबेला खासै काम छैन । बजेट अभाव भएकै कारण आयोजनाले काम गर्न सकिरहेको छैन । ‘पहिलो सडकखण्ड सालझण्डी–पटौतीमा अहिले कुनै बजेट छैन,’ सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाका प्रमुख जयलाल मरासिनीले भने, ‘सामान्य बजेटमा खाल्डा पुर्ने काम मात्र भइरहेको छ ।’

उनले पछिल्लो समय खाल्डा पुर्ने काम पनि स्थानीयको अवरोधका कारण रोकिएको बताए । त्यस्तै पटौती–खज्र्याङ खण्डमा पनि बजेट छैन । गत वर्ष पटौतीदेखि दुर्गाफाँटसम्म साढे दुई किलोमिटर मात्र काम गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख बिनोद चौधरीले बताए ।