Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २८ बुधबार १५:४३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

गीता हातमा लिएर कमल थापाले पार्टी फुट्न नदिने कसम खाए 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २८ बुधबार १५:४३:००

काठमाडौंको राष्ट्रियसभा गृहमा बुधबार राप्रपा र राप्रपा संयुक्तको एकता घोषणासभामा कमल थापाले गीता हातमा राखेर पार्टी फुट्न नदिने कसम खाए । 

‘कहिले पनि पार्टी फुटाउने छैन् । तपाईहरुलाई विश्वास नलागे यो गीता हातमा राखेर कसम खान्छु राप्रपालाई कदापी फुट्न दिने छैन्’, गीता हातमा राख्दै थापाले भने । 

उनले पार्टी एकताबाट आफु सन्तुष्ट र खुसी रहेको उल्लेख गर्दै फेरी कहिले नफुट्ने संकल्प लिएर एक भएको बताए । विगतमा पार्टी विभाजनपछि भोग्नुपरेका पीडाहरु शब्दमा बयान गर्न नसकिने थापाले उल्लेख गरे । 

विगतमा पार्टी कसले र किन फुटायो भनेर आरोप प्रत्यारोप गर्नुभन्दा नयाँ संकल्प र नयाँ उत्साहका साथ अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको उनले औंल्याए । ‘स्वाभिमानी कार्यकर्ता हुने हो भने तपाईहरुले पनि संकल्प गर्नुप-यो,’ उनले भने, ‘नेताको पछाडी होइन नीतिको पछाडी र व्यक्तिको पछाडी होइन विचारको पछाडी लाग्नुपर्छ भन्ने भावनाको विकास गर्नुपर्छ ।’ 

अध्यक्ष थापाले पार्टी एकतापछि आफ्नो बोझ केही कम भएको बताए । ‘विगतमा पार्टी अध्यक्षको हैसियतमा एक्लैले बोक्नुपरेको भार अहिले साथीहरुसँग सेयर गर्ने अवसर मिलेको छ’, थापाले भने । 

उनले यो एकता विदेशी वा स्वदेशी शक्तिको प्रभाव र दबावमा नभएको स्पष्ट पारे । पार्टी कार्यकर्ता र शुभचिन्तकहरुको दबाव र प्रेरणाले पार्टी एकता भएको उनले बताए । 

‘यो एकता कुनै स्वदेशी विदेशी शक्तिको दबाव र प्रभावमा भएको होइन् । पार्टीलाई माया गर्ने कार्यकर्ता सहयोगी शुभचिन्तकहरुको दबाव र प्रेरणाको प्रभावले हो,’ उनले भने, ‘देशको वर्तमान अवस्थाले एकताको विन्दुमा पुग्नका लागि प्रेरित गरेको छ ।’

पार्टी एकतापछि देशले बलियो राष्ट्रवादी प्रजातन्त्रीक शक्ति र विकल्प प्राप्त गरेको उनले दाबी गरे । थापाले पार्टी एकतासँगै राजनीतिमा तेस्रो राजनीतिक र वैचारिक धारको उदय भएको बताए । उनले  कांग्रेस र कम्युनिस्टले बोकेको बिचार र मार्गचित्र त्रृटिपूर्ण रहेको उल्लेख गर्दै नेपाली समाजमा यी दुई पार्टीको बिचारले विभाजनको रेखा कोरेको आरोप लगाए ।