मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
संकटाविरुद्ध बल प्रहार गर्दै त्रिभुवन आर्मी क्लबका दीपक गुरुङ । तस्बिर : नयाँ पत्रिका ।
२०७६ फाल्गुण २८ बुधबार १०:५७:००
Read Time : > 1 मिनेट
खेलकुद

आहा रारा गोल्डकप : आर्मीसँग संकटा लगातार पराजित

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण २८ बुधबार १०:५७:००

विभागीय टोली त्रिभुवन आर्मी क्लब १८औँ आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा संकटा क्लबलाई ३–० गोलले पराजित गर्दै आर्मीले प्रतियोगितामा अन्तिम चारको यात्रा निश्चित गरेको हो । 

यो सिजन मोफसलको प्रतियोगितामा आर्मीले संकटालाई लगातार दोस्रोपटक पराजित गरेको हो । यसअघि इलाममा भएको माई भ्याली गोल्डकपमा पनि आर्मीले संकटाको यात्रा २–१ ले टुंग्याइदिएको थियो । सहिद स्मारक ए डिभिजन लिगको भेटमा भने यी दुई टोलीले बराबरी खेलेका थिए ।

आर्मीले अब फाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पोखरामा आर्मीले खेलको सुरुवातबाटै दबाब कायम गरेको थियो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप दुई गोल थप्दै उपाधितर्फको यात्रा तय गरेको हो ।

आर्मीलाई खेलको १५औँ मिनेटमै सुदिल राईले १–० को सुरुवाती अग्रता दिलाएका थिए । सुदिलले नवयुग श्रेष्ठले दिएको पास सदुपयोग गरेका हुन् । सुरुवातमै गोल व्यहोरेपछि संकटा दबाबमा परेको थियो । आर्मीले भने संकटाको पोस्टमा लगातार आक्रमण बुनेको थियो । 

फलस्वरूप आर्मीले दोस्रो हाफमा थप दुई गोल थप्यो । यसपटक गोल गर्ने पालो नवयुगको रह्यो । विवेक बस्नेतको कर्नरलाई भरत खवासले हेडिङ गरेका थिए । सो बललाई संकटाका गोलरक्षकले नियन्त्रणमा लिन नसकेको अवस्थामा खेलको ७१औँ मिनेटमा नवयुगले गोल गरेका थिए ।

त्यसपछि खेलको ७५औ मिनेटमा विवेकले गोल गरेपछि आर्मीको जित ३–० ले पक्का भएको थियो । विवेक खेलको ६७औँ मिनेटमा सुदिलको स्थानमा मैदान प्रवेश गरेका थिए । टोलीको पराजयपछि संकटाका प्रशिक्षक सल्यान खड्कीले खेलाडीले प्राप्त अवसर सदुपयोग गर्न नसक्दा पराजय व्यहोर्न परेको प्रतिक्रिया दिए । ‘हामीले पनि खेलमा केही राम्रा अवसर पाएका हौँ । यद्यपि, ती अवसर सदुपयोग हुन सकेन,’ उनले भने, ‘त्यसमाथि हामी पहिलो गोल व्यहोरेसँगै दबाबमा प¥यौँ । उनीहरू थप सशक्त रूपमा उत्रिए ।’ 

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले जितमा खुसी व्यक्त गरे । ‘पोखराको मैदान हाम्रा खेलाडीका लागि नौलो नै हो, त्यसैले उनीहरूलाई मैदानमा सेट हुन केही समय लाग्यो,’ प्रशिक्षक नवीनले भने, ‘यद्यपि, लिगपछि हामीले पहिलोपटक पहिलो रोजाइका खेलाडीलाई मैदानमा उतारेका थियौँ । त्यसैले खेल राम्रै भयो । जित सहज नै भयो ।’