मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २८ बुधबार १०:३३:००
Read Time : > 1 मिनेट
खेलकुद

बालुवाटार र न्यु भिजन सेमिफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २८ बुधबार १०:३३:००

बालुवाटार क्रिकेट क्लब र न्यु भिजन क्लब काठमाडौं जिल्ला सिनियर क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छन् । मंगलबार भएको खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) लाई चार रनले पराजित गरेको बालुवाटारले समूह बीको विजेता बन्दै प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 

न्यु भिजनले भने सेमिफाइनलमा स्थान सुरक्षित गर्न समूह एअन्तर्गतको आफ्नो अन्तिम खेलमा मंगलबार नेक्सस क्रिकेट एकेडेमीलाई दुई विकेटले पराजित ग¥यो । यससँगै प्रतियोगिताको सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको छ ।

महावीर र हिमालयन क्रिकेट एकेडेमीले यसअघि नै प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरिसकेका छन् । महावीर समूह सी र हिमालयन समूह डीबाट प्रतियोगिताको अघिल्लो चरणका लागि छनोट भएका हुन् । प्रतियोगिताको चार समूहका विजेता एक–एक टोली सेमिफाइनलमा प्रवेश गर्ने आयोजक काठमाडौं जिल्ला क्रिकेट संघले जनाएको छ । 

बुधबार हुने पहिलो सेमिफाइनल खेलमा महावीर र न्यु भिजन तथा दोस्रो सेमिफाइनल खेलमा बालुवाटार र हिमालयन क्रिकेट एकेडेमी भिड्नेछन् ।  मूलपानीस्थित मैदानमा टस जिती पहिले ब्याटिङ गरेको बालुवाटारले २५ ओभरमा नौ विकेट गुमाएर १०० रनको योगफल तय गरेको थियो । जवाफमा केसिटिसीले २४.३ ओभरमा ९६ रन मात्रै जोड्न सक्यो । 

बालुवाटारको जितमा सुवास खकुरेलले २५, सुमन उदयले २०, प्रबीन जोशीले १२, प्रशान्त पण्डितले ११ र सक्षम काफ्लेले १० रनको योगदान दिए । केसिटिसीका लागि मेहुल श्रेष्ठले २५, निर्भीक पाठकले १७ र उज्ज्वल थापाले १६ रनको योगदान दिए पनि जित सम्भव भएन । 

बलिङतर्फ बालुवाटारका सोनु तामाङ र अभिनास बस्यालले दुई–दुई विकेट लिए । केसिटिसीका तीन ब्याट्सम्यान रन आउट हुन पुगेका थिए । केसिटिसीका उज्ज्वल थापाले तीन तथा मनीषकुमार सहनी र प्रत्यक्ष घिमिरेले दुई–दुई विकेट लिए ।

यस्तै, दिनको दोस्रो खेलमा टस जिती पहिले ब्याटिङ गरेको नेक्ससले २५ ओभरमा सबै विकेट गुमाउनुअघि १२५ रनको योगफल तय गरेको थियो । प्रत्युत्तरमा न्यु भिजनले १९.२ ओभरमा ८ विकेट गुमाएर जित निश्चित गरेको हो । 

न्यु भिजनको जितमा लक्ष्मण चौधरीले सर्वाधिक २४ रनको योगदान दिए । विवेक चन्द १५ रनमा अविजित रहँदा शमशेर चन्द १५ रनमा आउट भए । चन्दन रावल र अनित बरालले समान १२ रन जोड्दा न्यु भिजनले १९ अतिरिक्त रन उपहार पाएको थियो । 

नेक्ससका लागि सम्भव श्रेष्ठले सर्वाधिक ३७ रनको योगदान गरे पनि टोलीको जित सम्भव भएन । न्यु भिजनका चन्दन रावल र शमशेरले समान दुई विकेट लिए । नेक्ससका रबिन क्षेत्रीले पनि दुई विकेट लिएका थिए ।