१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
कृष्ण रिजाल काठमाडाैं
२०७६ फाल्गुण २८ बुधबार ०९:१७:००
Read Time : > 1 मिनेट
अर्थ

आयातमा आधारित राजस्व संकलन निरन्तर ओरालो

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
२०७६ फाल्गुण २८ बुधबार ०९:१७:००

आयातमा आधारित राजस्व संकलन साढे ३ प्रतिशतले घटेको छ । कुल व्यापारसँगै आयात पनि घटेपछि त्यसमा आधारित राजस्व संकलनसमेत घटेको हो । चालू आवको माघ मसान्तसम्ममा सरकारले आयातमा आधारित राजस्व २ अर्ब २ करोड ६३ लाख रुपैयाँ संकलन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा ७ अर्ब ४ लाख रुपैयाँले कमी हो । गत आव ०७५/७६ को माघ मसान्तसम्ममा आयातमा आधारित राजस्व २ अर्ब ९ करोड ६७ लाख रुपैयाँ संकलन भएको थियो । 

भन्सार विभागका अनुसार माघसम्ममा कुल आयात ३ दशमलव ६ प्रतिशतले घटेर ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँमा झरेको छ । गत आवको सोही अवधिमा आयात २६ प्रतिशतले बढेर ८ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ पुगेको थियो । कुल आयात नै २९ अर्ब ६७ करोड रुपैयाँले घटेपछि त्यसमा आधारित राजस्व संकलन पनि घटेको हो । 

संशोधित अनुमान भेट्न पनि कठिन चालू आर्थिक वर्षमा सरकारले भन्सार बिन्दुमा आधारित राजस्व ४ खर्ब ७३ अर्ब ५१ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो । तर, समग्र करको लक्ष्यसँगै सरकारले भन्सारमा आधारित राजस्व संकलनको लक्ष्यसमेत घटाएको छ । चालू आवको बजेटको अर्धवार्षिक समीक्षा गर्दै सरकारले भन्सार बिन्दुमा आधारित राजस्व ४ खर्ब १८ अर्ब १५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ । तर, कुल व्यापार र आयात निरन्तर ओरालो लागिरहेको अहिलेको अवस्थामा राजस्व संकलनको संशोधित लक्ष्यसमेत भेट्न कठिन हुने देखिन्छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण विश्वकै व्यापार ओरालो लागिरहेको छ ।

घट्दो आयातको प्रभाव राजस्व संकलनमा, भन्सार बिन्दुमा उठ्ने राजस्व संकलनको संशोधित अनुमान पनि भेट्न कठिन

नेपालको उत्तरतर्फका नाका बन्द छन् । कुल व्यापार र आयात घटिरहेको छ । यस्तो अवस्थामा भन्सार बिन्दुमा आधारित राजस्व संकलन लक्ष्यअनुसार संकलन गर्न कठिन हुने भन्सारकै कर्मचारीहरू बताउँछन् ।

आन्तरिक राजस्व करिब २८ प्रतिशत बढ्यो
समीक्षा अवधिमा आन्तरिक राजस्व संकलन भने करिब २८ प्रतिशतले बढेको छ । यस अवधिमा आन्तरिक राजस्व (अन्य, गैरकरसमेत गरी) ३ खर्ब ४१ अर्ब ४१ करोड रुपैयाँ संकलन भएको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो राजस्व २ खर्ब ४५ अर्ब ७३ करोड रुपैयाँ संकलन भएको थियो । यस अवधिमा सबैभन्दा बढी आयकर ३१.७ प्रतिशतले बढेर १ खर्ब २७ अर्ब ७५ करोड रुपैयाँ संकलन भएको हो । आयातमा भएको कमीले भन्सार बिन्दुमा संकलन हुने राजस्व घटे पनि आन्तरिक राजस्व परिचालनमा उल्लेखनीय वृद्धि भएको मन्त्रालयले जनाएको छ । स्थायी लेखा नम्बर लिने करदाताको संख्यामा भएको उत्साहजनक वृद्धिसँगै कराधारमा विस्तार भएको मन्त्रालयको विश्लेषण छ । 

सरकारी नीतिकै कारण भन्सार राजस्व घटेको हो : सुमन दाहाल 
महानिर्देशक, भन्सार विभाग

सरकारले आन्तरिक उत्पादन बढाउने, आयात प्रतिस्थापन गर्ने तथा कतिपय अनावश्यक र विलासिताका वस्तुको आयात रोक्ने नीति लिएको छ । सोही नीतिअनुसार नै भन्सार राजस्वमा कमी आएको हो । यसबीचमा विलासिताका वस्तुको आयातलाई निरुत्साहित गर्‍यौँ, फ्लेबर जुसलगायत स्वास्थ्यलाई असर गर्ने वस्तु तथा खाद्य पदार्थको आयात रोक्यौँ, यसले गर्दा भन्सार राजस्व घटेको हो । यसबाट निराशा हुनेभन्दा पनि उत्साहित हुनुपर्छ । भन्सार राजस्व घट्नु भनेको पेट घटेर ह्यान्डसम हुनु हो ।