१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका पाल्पा
२०७६ फाल्गुण २८ बुधबार ०८:०४:००
Read Time : < 1 मिनेट
समाचार

बालमैत्री गाउँपालिका  घोषणा गर्ने तयारीमा रहेको बगनासकालीमै बालविवाह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका पाल्पा
२०७६ फाल्गुण २८ बुधबार ०८:०४:००

बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारीमा रहेको बगनासकालीमै बालविवाह भएको छ । बगनासकाली–१ चिर्तुङधारा गाप्टुङकी १७ वर्षीय फनिसरा गाहार र सोही वडा देउरालीका २१ वर्षीय दानबहादुर गाहाको गत ५ माघमा धुमधामका साथ विवाह भएको हो । 

गाउँपालिका कार्यालयबाट चार सय मिटर टाढा घरमा भएको विवाहबारे पूर्वजानकारी हुँदासमेत रोक्नेतर्फ कुनै कदम नचालिएको चिर्तुङधारा बाल क्लबका सदस्य सन्दीप ढुंगानाले बताए । बालविवाहको निम्तो भए पनि आफूहरू नगएको उनले बताए । ‘निम्ता आएको थियो, तर बालविवाहमा जानुहुँदैन भन्ने जानेका कारण म र मेरा कोही पनि साथी गएनौँ,’ उनले भने, ‘हामीले त व्यक्तिगत रूपमा पनि विवाह नगर्न सुझाब दिएका थियौँ, तर मानेनन् ।’

बालमैत्री स्थानीय शासनका फोकलपर्सन मनोज आचार्यलाई स्थानीयले पटक–पटक फोन गरेर जानकारी गराउँदा पनि बालविवाह रोक्न पहल नगरेको सरोकारवालाको गुनासो छ । आचार्यले बालविवाह रोक्ने अधिकार आफूलाई नभएको बताए । ‘बालविवाह हुँदै छ भन्ने खबर पाएको हुँ । स्थानीयले खबर पनि गर्नुभएको हो,’ आचार्यले भने, ‘ठिकै त छ नि भनेर मैले गाउँपालिका अध्यक्ष वा अन्य कसैलाई पनि भनिनँ । जसले मलाई फोन गरे उनले विवाह रोकेको भए पनि त हुन्थ्यो नि ।’ 

बगनासकाली गाउँपालिकाले गत महिना नै सबै विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गरेको छ । आगामी चैतमा बालमैत्री स्थानीय शासन गाउँपालिका घोषणा गर्ने तयारी गाउँपालिकाको छ । तर, बालविवाहले गाउँपालिकाको तयारीमै प्रश्न खडा गरेको छ । 

बालविवाहबारे थाहै भएन : गाउँपालिका अध्यक्ष
गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले बालविवाहबारे आफूलाई थाहै नभएको बताएका छन् । ‘त्यो बिहेबारे केही थाहा थिएन, एउटा अन्तरक्रिया कार्यक्रममा सहभागीले प्रश्न गरेपछि मात्रै थाहा पाएको हुँ,’ बस्यालले भने, ‘कर्मचारीले जानकारी नै नगराए पनि त्यसको दोष मैले लिनुपर्छ । उनीहरूको बिहे दर्ता हुँदैन, हामीले दिने सबै किसिमका सिफारिससमेत रोक्छौँ ।’