मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ फाल्गुण २८ बुधबार ०७:२६:००
Read Time : > 1 मिनेट
समाचार

दलितसँग विवाह गरेको भन्दै माइतीपक्षबाट युवती अपहरण

नौ दिनदेखि युवती सम्पर्कविहीन, विवाह गर्ने युवकलाई ज्यान मार्ने धम्की

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण २८ बुधबार ०७:२६:००

तल्लो जातसँग विवाह गरेको भन्दै माइती पक्षले अपहरणको शैलीमा श्रीमान्बाट खोसेर लगेकी युवती नौ दिनदेखि बेपत्ता भएकी छिन् । सिरहाको लहान नगरपालिका–२२ बर्छवाका मुकेश विश्वकर्माकी पत्नी मधुकुमारी यादवलाई १८ फागुनमा माइती पक्षले जबर्जस्ती लगेको थियो । त्यसयता युवतीको अवस्था अज्ञात छ । 

तल्लो जातसँग विवाह गरेको भन्दै आफ्नी पत्नीलाई बर्छवास्थित घरबाटै जबर्जस्ती खोसेर लगेको २३ वर्षीय मुकेश विश्वकर्माले बताए । ‘म आफ्नै घरमा थिएँ, १८ फागुनको राति विष्णुदेव यादवसहितको समूह आएर मेरी श्रीमतीलाई जबर्जस्ती उठाएर लग्यो,’ मुकेशले नयाँ पत्रिकासँग भने, ‘प्रतिवाद गर्दा ज्यान मार्ने धम्की दिए । त्यसयता मेरी श्रीमती बेपत्ता छिन् ।’

लक्ष्मीपुर पतारी गाउँपालिका–२ स्थित जनता डोमी प्राविधिक विद्यालयमा पढिरहेका मुकेश र लक्ष्मीपुर पतारीकी २१ वर्षीया मधुकुमारीले गत ५ मंसिरमा लहानस्थित राम मन्दिरमा विवाह गरेका थिए । यस्तै, २९ माघमा सिरहा जिल्ला अदालतले दुईबीच पति–पत्नीको नाता कायमको फैसला गरेको थियो ।

 प्रहरी भन्छ– ‘खोज्दै छौँ’
घटनापछि २० फागुनमा आफूले श्रीमती खोजबिनका लागि जिल्ला प्रशासन कार्यालय सिरहामा निवेदन दिए पनि फेला नपरेको उनले बताए । प्रहरीले भने युवतीको खोजी गरिरहे पनि फेला पर्न नसकेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी विनोद घिमिरेले जिल्ला प्रशासनमार्फत आएको पत्रसहित केटीको खोजी गर्न इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीलाई पत्राचार गरिएको बताए । ‘प्रहरी निरन्तर गाउँ पुगिरहेको छ,’ उनले भने, ‘तर, फेला नपरेकाले बुझाउन पाएका छैनौँ ।’

 लगातार ज्यान मार्ने धम्की
विवाहपछि विभिन्न खाले धम्की व्यहोरेका मुकेशलाई श्रीमती हराएको भन्दै जिप्रकामा निवेदन दिएपछि पनि ज्यान मार्ने धम्की आइरहेको छ । ‘मञ्जुरीमै विवाह गरेको भए पनि मलाई लगातार धम्की आउने गरेको थियो । ती सबै सहँदै आएको थिएँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘१८ फागुनको घटनापछि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएँ । त्यसपछि गाउँनजिकै पर्ने सीतापुर बजारमा चलाएको गहना पसलमा शनिबार बिहान दुईजना आएर धम्क्याए । पसल चलाउन, बजार आउजाउ गर्न र गाउँमा बस्न पनि असुरक्षा महसुस हुन थालेको छ ।’