मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २८ बुधबार ०६:२०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

‘प्रधानमन्त्री सामान्य अवस्थामा आउन  ६ महिनादेखि एक वर्षसम्म लाग्छ’

प्रधानमन्त्री ओलीको अस्पताल बसाइ लम्बियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २८ बुधबार ०६:२०:००

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी ओलीलाई सामान्य व्यक्तिसरहको अवस्थामा फर्किन समय लाग्ने चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहले प्रधानमन्त्रीलाई सामान्य मानिसले जस्तै जिउन ६ महिनादेखि एक वर्षसम्म लाग्ने बताएकी हुन् । 

उपचारमा संलग्न चिकित्सकले प्रधानमन्त्रीको अवस्थाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा डा. सिंहले भनिन्, ‘उमेर र दोस्रो प्रत्यारोपणले उहाँ (प्रधानमन्त्री)लाई सामान्य जीवनमा फर्कन केही समय लाग्छ । ६ महिनादेखि एक वर्षमा प्रधानमन्त्रीले सामान्य जीवन बिताउन सक्नुहुन्छ ।’ 

प्रधानमन्त्रीको तत्काल डिस्चार्ज पनि नहुने भएको छ । डिस्चार्ज गर्न सकिने अवस्था रहे पनि भिडभाडमा जान नहुने भएकाले केही दिन अस्पतालमै राख्ने निर्णय भएको पनि डा. सिंहले बताइन् । ‘प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आइरहेको छ । यद्यपि, हामी कन्फर्म र कन्फिडेन्स नभएसम्म डिस्चार्ज दिँदैनौँ,’ उनले भनिन् । 

परिवारका सदस्यले पनि घर लगेपछि राख्ने सुरक्षित स्थानको तयारी बाँकी रहेकाले तत्काल डिस्चार्ज नगरिदिन आग्रह गरेको चिकित्सकको भनाइ छ । ‘घर लगेपछि सुरक्षित राख्ने स्थानको तयारी बाँकी छ । परिवारबाट विशेष अनुरोधसहित केही दिन अस्पतालमै राख्न भन्नुभएको छ । त्यही अनुरोधअनुसार पनि हामीले निर्णय लिएका हौँ,’ डा. सिंहले भनिन् ।

प्रधानमन्त्रीलाई अहिलेसम्म आइसियूमै राखिएको छ । डा. पवन चालिसेका अनुसार प्रधानमन्त्रीलाई बुबाले समेत भेट्न पाएका छैनन् । भेटघाट रोक्नकै लागि आइसियूमै राखिएको उनले बताए । ‘आइसियूबाट सीधै घर पठाउँदा भेटघाट बढ्ने र संक्रमणको खतरा हुने भएकाले पनि सावधानी अपनाउन परिवारका सदस्यले थप केही दिन अस्पतालमै राख्न खोज्नुभयो,’ डा. चालिसेले भने । संक्रमण रोक्न बालुवाटारमा प्रधानमन्त्री बस्ने कोठाहरूको व्यवस्थापन सकिएपछि डिस्चार्ज हुने चिकित्सकहरूले बताएका छन् । 

यसअघि बुधबार बिहानसम्म डिस्चार्ज गर्ने तयारीमा चिकित्सकहरू थिए । गत बुधबार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको थियो । मंगलबार सातौँ दिन उनको रक्तचाप, सुगरलगायत स्वास्थ्य सामान्य रहेको चिकित्सकले बताएका छन् । मिर्गौला दाता समीक्षा संग्रौला ज्ञवालीको स्वास्थ्य पनि सामान्य रहेको अस्पतालले जनाएको छ । उनलाई अस्पतालले डिस्चार्ज नदिए पनि परिवारका सदस्यलाई भेट्न भने दिएको छ । उनका श्रीमान् कमल ज्ञवालीका अनुसार समीक्षाको स्वास्थ्य सुधार भएको छ ।