१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
महाप्रबन्धक,आइएमबिज, नेपाल अफिस
२०७६ फाल्गुण २७ मंगलबार ११:०५:००
Read Time : > 3 मिनेट
अन्तर्वार्ता

गुणस्तरअनुसार सामसङका स्मार्टफोन महँगा होइनन् : प्रणयरत्न स्थापित

सात प्रश्न

Read Time : > 3 मिनेट
२०७६ फाल्गुण २७ मंगलबार ११:०५:००

सामसङ नेपाल कोरियाको सामसङ कम्पनीको नेपालका लागि प्रतिनिधि कम्पनी हो । नेपालमा बिक्री हुने सामसङ मोबाइल सामसङ नेपालको अनुगमन र सहजीकरणमा आइएमएस ग्रुप र हिम इलेक्ट्रोनिक्समार्फत बिक्री हुने गरेको छ । सामसङ नेपाल सन् २०१४ मा स्थापना भएको हो । नेपालको बढ्दो बजारसँगै स्मार्टफोनको प्रतिस्पर्धा पनि बढ्दो नै छ । नेपालमा सामसङ मोबाइलको अवस्था तथा बिक्रीपछिको सेवालगायत विषयमा सामसङ नेपालका महाप्रबन्धक प्रणयरत्न स्थापितसँग नयाँ पत्रिकाका सुदीपकुमार ढुंगानाले गरेको कुराकानी 

सामसङ नेपालको उपस्थितिको ६ वर्षमा नेपालमा स्मार्टफोनप्रतिको मोहलाई कसरी हेर्नुभएको छ ? 
आजका दिनमा स्मार्टफोन सबैको चाहना मात्र होइन, आवश्यकता नै भइसकेको छ । स्मार्टफोनविना मानिसको व्यवसायदेखि दैनिक जीवनसमेत नचल्ने अवस्था आइसकेको छ । वैदेशिक रोजगारीमा जानेका लागि परिवारसँग जोडिनसमेत यो अत्यावश्यक भइसकेको छ । त्यसैले गएको ५/६ वर्षमा यसको माग उल्लेख्य बढ्दै गएको छ । यसैलाई ध्यान दिएर सामसङले सस्तो फिचर फोनदेखि फ्ल्यागसिप डिभाइससमेत बजारमा ल्याएको छ । पछिल्लो फ्ल्यागसिप डिभाइस भनेको एस ट्वान्टी प्लस हो । हरेक वर्गको ग्राहकलाई लक्षित गरेर हामीले फोन ल्याएका छौँ र बिक्री सन्तोषजनक नै छ । 

बजार बढ्दै जाँदा प्रतिस्पर्धा पनि बढ्छ नि ? अनि अस्वस्थ प्रतिस्पर्धा भयो भन्ने गुनासा सुनिन थाल्छ । कस्तो अनुभव गर्नुभएको छ ?
इलेक्ट्रोनिक्समा सामसङले गरेको जुन व्यवसाय विश्व बजारमै अत्यधिक प्रतिस्पर्धा भएको व्यवसाय हो । त्यसलाई हामीले सहज रूपमा स्विकारेका छौँ । हामी पारदर्शी रूपमा काम गर्छौँ । कुनै पनि बजारमा स्वस्थ प्रतिस्पर्धा हुँदा यसले सबैलाई राम्रो गर्छ । कम्पनीहरू पनि प्रतिस्पर्धाका कारण गुणस्तरीय सामान सस्तोमा दिन दबाबमा रहन्छन् । उपभोक्ताका लागि पनि फाइदाजनक हुन्छ । अहिले विभिन्न ब्रान्डले नेपालमा कार्यालय खोल्ने र वितरक नियुक्त गर्ने क्रम बढ्दो छ । नेपालमा सामसङ प्रतिष्ठित ब्रान्ड हो । स्वस्थ प्रतिस्पर्धाले हामिलाई राम्रो नै गरेको छ । 

मोबाइल बजारमा स्वस्थ प्रतिस्पर्धा छैन भन्नेहरू धेरै छन् नि ?
स्वस्थ प्रतिस्पर्धा भन्नाले मूल्यलाई विशेष ध्यान दिनुपर्छ । एउटा वितरक वा खुद्रा व्यापारीको पनि कुरा आउँछ । हाम्रो वितरण सञ्जालमा वितरक पनि साझेदार हुन्छन् । यसमा सबैले सर्भाइभ हुनेखालको नाफा खानुपर्छ । व्यवसाय जोगाउने गरी नाफा खानुपर्छ । त्यस्तै नेपालमा ग्रे मार्केट ठूलो छ । भारतको सीमा खुला हुने हुनाले यसमा समस्या छ । भारतका व्यापारीले भन्सार छलेर सामान पठाएको पनि पाइएको छ । हामी १३ प्रतिशत भ्याट र साढे दुई प्रतिशत भन्सार शुल्क तिर्छौँ ।

अवैध आयातले यसमा पनि समस्या परेको छ, जसका कारण स्वस्थ प्रतिस्पर्धा गर्न अप्ठेरो भएको मात्र होइन । राजस्वमा पनि ठूलो चुहावट भएको छ । राजस्व चुहावट हुनु भनेको विकासको बाटो नै रोकिनु पनि हो । त्यस्तै अवैध आयातले यहाँका ग्राहक पनि ठगिएका छन् । सबैभन्दा पहिले बाहिरबाट आएका सामान गुणस्तरीय हुँदैनन् । भारतबाटै कतिपय पुराना सामानलाई रिफर्विस अर्थात् मर्मत गरेर नयाँजस्तै बनाएर पठाएको पनि मलाई थाहा छ । दीर्घकालमा यसले कसैलाई पनि फाइदा गर्दैन । सरकारले यसलाई सम्बोधन गरोस् भन्ने हाम्रो पनि चाहना हो । 

नेपालीको क्रयशक्ति र सामसङ मोबाइलको मूल्यलाई कसरी तुलना गर्नुहुन्छ ?
सामसङ यस्तो कम्पनी हो, जसको दुई हजार रुपैयाँको फिचर फोनदेखि लिएर पछिल्लो प्रविधि भएको फ्ल्यागसिप फोनसमेत उत्पादन गरेको छ । ग्राहकको चाहना र मागअनुसार हरेक वर्गका ग्राहकको आवश्यकताअनुसार हामीले उत्पादन बजारमा ल्याएका छौँ । नेपालको परिप्रेक्षमा जुन मोडेल र मूल्यको माग बढी हुन्छ, त्यही हामी बजारमा ल्याउँछौँ । महँगो भयो भन्नेलाई सस्तो पनि छ । राम्रो खोज्नेलाई राम्रो पनि छ । तर, गुणस्तरमा भने हामी सम्झौता गर्दैनौँ । 

बढी माग हुने र धेरै नेपालीले किन्न सक्ने फोन कुन मूल्यको हुन्छ ? 
नेपालमा मात्र होइन, सबै ठाउँमा मान्छे अहिलेभन्दा एक कदम अघि बढ्न चाहन्छ । जस्तो, ५/६ वर्षअघिसम्म १० हजार रुपैयाँसम्म पर्ने फोनको माग बढी थियो । त्यो वेला स्मार्टफोनको प्रयोग कम थियो । उपयोग र आवश्यकता कम थियो । गेम खासै थिएन । तर, अहिले फरक छ । अहिले २० देखि ३५ हजार रुपैयाँसम्मका फोनको माग बढी छ । सबै कम्पनी अहिले त्यसैअनुसारका फोन बढी ल्याइरहेका छन् । 

सामसङ नेपालले हालै नेपाली बजारमा ल्याएको एस २० र एस २० प्लसमा अत्याधुनिक प्रविधियुक्त क्यामरा, उच्च क्षमताको प्रोसेसर तथा नयाँ प्रविधिको डिस्प्ले रहेको छ

अन्य फोनको तुलनामा सामसङ महँगो छ भन्ने सुनिन्छ । अझ भन्नुपर्दा सामसङले ब्रान्डको पैसा बढी लिन्छ भन्नेहरू पनि छन् नि ? 
प्रविधिमा नयाँ आविष्कारको ठूलो अर्थ रहन्छ । कच्चा पदार्थभन्दा पनि यो प्रविधि ल्याउन कति खर्च गरिएको छ भन्ने कुराले त्यसको मूल्यमा पनि प्रभाव पर्छ । सामसङले एक वर्षमा १५ अर्ब रुपैयाँभन्दा बढी रकम रिसर्च एन्ड डेभलपमेन्ट अर्थात आर एन्ड डीमा खर्च गरेको छ । आर एन्ड डीको कुरा गर्दा सामसङको एक्जङ्स भन्ने आफ्नै प्रोसेसर बनाउने कारखाना छ । ब्याट्री पनि आफैँ बनाउने कारखाना छ ।

क्यामरा मोड्युल सामसङले आफैँ बनाउँछ । मेमोरी चिप बनाउँछ । त्यस्तै बजारमा एकदमै नौलो उत्पादनको रूपमा पट्याउन मिल्ने डिस्प्ले ल्याउँदै छ । यस्ता कुरा आविष्कार गर्न वर्षौंदेखि अनुसन्धान भइरहेको हुन्छ र यसमा मनग्य खर्च पनि भइरहेको हुन्छ । त्यो आविष्कार र विकासका लागि खर्च गरेर मात्र पुग्दैन । त्यसको उत्पादन गरेर बजारमा ल्याउँदासम्म धेरै बढी खर्च हुने हुनाले कमसल ब्रान्डका तुलनामा केही महँगो देखिएको हो ।

उदाहरणका लागि हामी सुपर एमोलेड डिस्प्ले भनेर भन्छौँ । अन्य ब्रान्डमा आइपिएसको डिस्प्ले पाउँछौँ । तर, सामसङले सुपर एमोलेड डिस्प्ले प्रयोग गर्छ । जुन घाममा हेर्दासमेत प्रस्ट देखिन्छ । यो प्रविधि सामसङले पत्ता लगाएको हो । यस्ता कतिपय कुरा हुन्छन् । जुन ग्राहकलाई थाहा हुँदैन । लगानीअनुसार मूल्य निर्धारण भएको हुन्छ । गुणस्तरअनुसार सामसङ महँगो छैन भन्ने हामी दाबा गर्छौँ । 

तपाईंंहरूले भर्खर ल्याउनुभएको एस ट्वान्टी प्लस निकै महँगो देखियो । यसको विशेषताचाहिँ के ? 
यो हेर्दा केही महँगो देखियो होला । यसको मूल्य १ लाख १९ हजार ४९९ रुपैयाँ र १ लाख ७ हजार ४ सय ९९ रुपैयाँ पर्छ । मैले पहिले नै भनेको छु । हामी गुणस्तर र सहुलियतपूर्ण मूल्यमा विश्वास गर्छौँ । विशेषताअनुसार यो फोन महँगो होइन भन्ने मेरो धारणा छ । यसमा भएको क्यामरा यसको मुख्य विशेषताभित्र पर्छ । यसले ८ के भिडियो खिच्न सक्छ । ८ के भिडियो खिच्न सक्ने यो विश्वकै पहिलो स्मार्टफोन हो । यो निकै बढी रिजोलुसनमा हुन्छ । धेरै वर्षदेखि सामसङले ८ के प्रविधिको विकास गरी टेलिभिजन बनाएर बिक्री गर्दै आएको हो । अहिले हामीले यो मोबाइलमा पनि ल्याएका छौँ । त्यस्तै यसमा एक्जङ्स ९९० भन्ने प्रोसेसर छ । यो निकै नै छिटो चल्छ । 

त्यस्तै नयाँ पुस्ता खेलमा बढी आकर्षित छ । यसमा गेम खेल्न धेरै सहज हुन्छ । यसमा १२० हर्जको डिस्प्ले छ । त्यो भनेको स्क्रिनको रिफ्रेस दर हो, जसले गर्दा गेम खेल्दा डिस्प्लेमा कुनै समस्या वा तस्बिर बिग्रने हुँदैन । त्यस्तै अर्को भनेको टच लेटेन्सी हो । यसमा एकदमै छिटो खेल्नुपर्ने खेलमा हाम्रो औँलाअनुसार डिस्प्ले चल्दैन । तर, यसमा यो समस्या छैन । यसको टच लेटेन्सी भनेको ४६.६ मिलि सेकेन्ड हो । यसको टच रेट स्याम्पलिङ २४० हर्ज छ । यसमा प्रयोग भएका विशेषतालाई हेर्ने हो भने यसलाई महँगो भन्न मिल्दैन ।