मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
युवराज भट्टराई
२०७६ फाल्गुण २७ मंगलबार ०८:०४:००
Read Time : > 8 मिनेट
दृष्टिकोण

यो चौथो चरणको नारीवादी आन्दोलन हो

हामीलाई थाहा छ, ग्वान्तानामोका मात्र होइन, संसारकै श्रमजीवी नारी विशिष्ट छन्, भव्य छन् र सम्मानका हकदार छन्

Read Time : > 8 मिनेट
युवराज भट्टराई
२०७६ फाल्गुण २७ मंगलबार ०८:०४:००

‘ग्वान्तनामेरा, वागिरा ग्वान्तनामेरा !’ स्पेनिस भाषाकै सबैभन्दा अत्यधिक सुनिएको गीत हो– ‘ग्वान्तनामेरा’ । ग्वान्तनामेरा शब्दले क्युवाको ग्वान्तानामोका महिला भन्ने जनाउँछ । यो क्युवाकै राष्ट्रियता बोक्ने सबैभन्दा लोकप्रिय गीत हो । क्युवेली कवि जोजे मार्टिनको शब्दमा आधारित यो गीतलाई सन् १९२९ मा जोसेतो फर्नान्डेजले कम्पोज गरेर रेडियोमा बजाएपछि यसको चर्चा चुलिएको हो । अहिलेसम्ममा त यसका सयौँ भर्सन आइसकेका छन् । यद्यपि, सन् १९६८को फिल्म लुसियाले भने यसलाई एउटा दह्रो नारीवादी गीतका रूपमा पस्केको छ ।

ग्वान्तानामो र त्यहाँका कामकाजी महिलाको तारिफ गर्दै गीत सुुरु हुन्छ । दृश्यमा ग्रामीण परिवेशमा खेती गर्दै गरेका महिला देखिन्छन् । यही हुलभित्र असिन–पसिन हुँदै काम गरिरहेकी १६–१७ वर्षीया लुसिया हुन्छिन् । गीतले भन्छ– ‘नारी–पुरुष सबैको श्रम बराबर छ । सबैले जिउने आफ्नै श्रम र सीपले हो ।’ त्यहाँ श्रम छ, शारीरिक थकान छ, तर वेला–वेला लुसियाको मुहारबाट निष्कलंक मुस्कान र अट्टहास हाँसो फुत्किरहन्छ । असिन–पसिन हुँदै शीरमा एउटा पोको बोकेर लुसिया बजार जन्छिन् । छेवैमा एउटा ट्रक रोकिन्छ । उनकै सहउमेरको ड्राइभरले उनलाई लिफ्ट दिन्छ । गीतले भन्छ– ‘श्रमले हामीलाई धन दिन्छ, सास फेर्ने बतास दिन्छ, घामको न्यानो दिन्छ, चरम आनन्द र साँचो प्रेम दिन्छ ।’ छिट्टै उनीहरू प्रेममा परिहाल्छन्, सबैथोक भइहाल्छ ।

‘हाम्रा हजुरबुबाहरू गलत थिए, नारीलाई दास बनाउँथे, तर हिजोआज सब बदलिएको छ, हामीले त्यस्तो गर्नुहुँदैन ।’ यसरी पितृसत्तालाई चुनौती दिँदै गीत अघि बढ्छ । यता, लुसियाले पनि प्रेमीसँग घरजम सुरु गर्छिन् । श्रम बेचेर खाने श्रमजीवीलाई ढोङ र आडम्बर देखाउनुपर्दैन । प्रेमी–प्रेमिकाको लेखाजोखा गरिरहनुपर्दैन । त्यहाँ जात, धर्म र धन हेरिरहनुपर्दैन । बस् मन मिल्यो त सब मिल्यो । गीतले भन्छ– ‘सबैलाई शिक्षा चाहिन्छ ।’ लुसिया पनि पढ्न–लेख्न चाहन्छिन् । त्यसैले उनी एक आगन्तुकसँग लेखपढ सिक्न थाल्छिन् ।

गीतले भन्छ– ‘ईष्र्याले मानिसलाई दिग्भ्रमित पार्छ, यसले पीडा निम्त्याउँछ ।’ नभन्दै उनको श्रीमान्मा इष्र्या जाग्छ, लुसियाप्रति अविश्वास गर्छ । पढेपछि राम्रो हुन्छ भन्ने उसले बुझ्दैन । लुसिया उसको शंकाको सिकार बन्छिन् । अब उनको प्रेमी काममा जाँदैन, रक्सी खाँदै बस्छ । लुसियाले उसलाई छाड्छिन् । हतास र चिन्तित लुसियालाई अरू महिलाले ढाडस दिन्छन् । उनी सधैँ काममा तल्लीन हुन्छिन् । आफ्नो श्रममा बाँच्ने महिलाले उत्पीडनकारी सम्बन्ध सजिलै लत्याउन सक्छन् । श्रम छ, सीप छ, काम गर्ने उत्साह छ, परिश्रमी हात छन् । त्यसैले त लुसिया स्वतन्त्रतापूर्वक बाँच्न सक्छिन् । त्यतिवेला यो बन्दै गर्दा विश्वमा दोस्रो चरणको नारीवाद थियो । यो गीतले नारी–पुरुषको समानताको मात्र वकालत गर्दैन, अबको श्रम बजारको सबैभन्दा ठूलो हिस्सा लुसियाजस्तै नारी हुन् भन्ने नजिर पनि स्थापित गरिदिन्छ ।

स्वावलम्वी बने पनि लैंगिक हिंसा रोकिएन 
अहिलेको पुँजीवादी तथा औद्योगिक युगमा महिला, विश्वको सबैभन्दा ठूलो श्रमशक्ति हुन् । त्यसो त सबै युगमा नारी नै प्रमुख श्रमशक्ति थिए, तर सम्पत्तिमाथि तिनको पहुँच थिएन । अहिले आयमा पनि तिनको पहुँच पुगेको छ । यद्यपि आज पनि लैंगिक विभेद र हिंसाको ग्राफ तल झर्न सकेको छैन, बरु उकालिँदै छ । सार्वजनिक श्रमशक्तिमा महिलाको गतिलो उपस्थितिले तिनलाई धेरैहदसम्म स्वावलम्बी र आत्मनिर्भर त बनाएको छ, तर यो सार्वजनिक स्थल कम जोखिमपूर्ण भने छैन । यो कहिल्यै लैंगिक विभेद र हिंसामुक्त स्थल हुन सकेन । 

नारीहिंसाको कहालीलाग्दो तस्बिर हेर्न यही ग्वान्तनामेराको देश क्युवाको छिमेकी मुलुक मेक्सिकोतिर लागौँ, जहाँ प्रत्येक दिन सरदर १० जना नारी मारिन्छन् । तिनलाई विनाकुनै कारण नारी भएकै आधारमा जुनसुकै पुरुषले जहीँ–कहीँ मारेर मिल्काउन सक्छन् । सन् १९९३ देखियता मेक्सिकोमा जहीँ–तहीँ जथाभावी महिलामाथि आक्रमण गर्दै हत्या गर्न थालियो । मेक्सिकोको सिउडाड जुवारेज त नारीसंहार (फेमिसाइड)को राजधानी नै बन्न पुग्यो । सन् २०१७मा आइपुग्दा मारिने र बेपत्ता हुने महिलाको संख्या त्यहाँ मात्र तीन हजार नाघेको थियो । 

त्यहाँको फेमिसाइडमा प्रायः निश्चित वर्गका किशोरी र महिलालाई लक्षित गरिन्छ । प्रायजसो पीडित तल्लो वर्गका सस्तो ज्यालादारीमा काम गर्ने युवती हुन्छन् । यहाँको ‘फेमिनोसाइड’का हत्यारा र मारिने महिलाबीच कुनै सम्बन्ध नै हुनुपर्दैन । पुरुषसत्ताको मनोविज्ञान नै यसको प्रमुख कारण हो । हुल्लडबाज पुरुषको समूहको एउटै उद्देश्य हुन्छ– एक्लै—दुक्लै भेएिका जुनसुकै महिलालाई कुट्ने, पिट्ने, बलात्कार गर्ने, सरसामान छ भने लुटपाट गर्ने र मारिदिने । कतिपय घटनामा केही गर्नु नपरे पनि मार्नका लागि मारिदिने सुनसान इलाकामा लगेर लासलाई छाडिदिने गर्छन् ता कि लास आफैँ सडोस् । 

सिउडाड जुवारेजमा भइरहेको यो फेमिसाइडको थुप्रै सामाजिक, सांस्कृतिक, आर्थिक र लैंगिक कारण भएको विज्ञ बताउँछन् । पहिलो त यो लागुऔषध तस्करीकोे अखडा हो । तसर्थ अधिकांश फेमिसाइड ड्रग्सको सुरमा हुने गर्छन् । प्राज्ञ मर्सिडिज ओलिभराका अनुसार ‘यी लागुऔषध तस्करले राज्य र प्रशासनको खिल्ली उडाउन र चुनौती दिन निहत्था नारीमाथि अत्याचार लाद्ने गर्छन् ।’ नारीवादीका अनुसार पनि ‘पुरुषप्रधान समाजले नारीमाथि नै आफ्नो शक्ति लाद्न तिनीहरूमाथि दमन, नियन्त्रण र उत्पीडन गर्ने गर्छ । 

शोधकर्ता जेसिका लिभिङस्टोन भन्छिन्, ‘हामी जब त्यहाँका पीडितलाई हेर्छाैं– प्रायजसो पीडित साना उद्योगमा सस्तो ज्यालामा काम गर्ने किशोरी र युवती हुने गर्छन् । जब महिला सानातिना कामको खोजीमा एक ठाउँबाट अर्काे ठाउँमा जान्छन्, त्यसले स्वावलम्बी महिलालाई सँगसँगै संवेदनशील महिला पनि बनाइरहेको हुन्छ ।’ किन कामकाजी महिला नै बढी निशानामा पर्छन् त ? लेखक क्याथ्रिन पान्टालियो उल्लेख गर्छिन्, ‘जब महिलाको सार्वजनिक श्रम शक्तिमा गतिलो उपस्थिति हुन थाल्यो उनीहरू पनि आर्थिक स्रोतका लागि पुरुषसँग प्रतिस्पर्धा गर्न थाले, तब यसले बेरोजगार पुरुषको संख्या बढाइदियो । र, त्यसैले ईष्र्यालु पुरुष नारीप्रति आक्रामक हुन थाले ।’ 

परम्परागत पुरुषसत्ताले महिला र पुरुषलाई फरक–फरक लैंगिक भूमिका दिएको छ । उनीहरू महिला सार्वजनिक क्षेत्रको श्रम शक्ति भएको हेर्न सक्दैनन् र तर्साउँदै–धम्क्याउँदै, डर देखाउँदै पुरातन घरायसी भूमिकामा फर्काउन चाहन्छन् । यसका लागि ‘माचिस्मो’ (पुरुषत्वलाई इंगित गर्ने स्पेनिस शब्द)ले नारी दमन, बलात्कार र हत्याको सहारा लिन्छ । त्यस्तै, ओलिभियाका अनुसार, ‘जब कामकाजी महिला एउटा श्रम शक्तिका रूपमा उदाउँछन् ‘हाइपर मस्क्युलिनिटी’ले यसलाई ठूलो चुनौतीका रूपमा लिन्छ ।’ जहाँसम्म मेक्सिकोको कुरा छ, लिभिङस्टोन भन्छिन्, ‘महिलाहरू स्वतन्त्र र स्वावलम्बी बन्दै छन् भने पुरुष आफ्नो नियन्त्रण गुमाउँदै छन् । यसैले नै उनीहरू तल्लो वर्गका कामकाजी महिलाको ‘फेमिनोसाइड’मा उत्रिएका छन् ।’ 

महिला आत्मनिर्भर बन्दैमा नारीहिंसा रोकिने देखिँदैन । सिउडाड जुवारेजमा आपराधिक गतिविधि हुनु सामान्य मानिन्छ । योभन्दा दर्दनाक स्थिति त हड्सन र इन्सेनाडाजस्ता अमेरिकी सहरमा छ । कतिपय अनुसन्धानलाई मान्ने हो भने यी सहरमा सिउडाड जुवारेजको भन्दा पनि अधिक संख्यामा फेमिसाइड हुने गर्छ । अनुसन्धान प्रतिवेदन भन्छन्, अमेरिकामा पनि झन्डै ६८ प्रतिशत बलात्कारका घटना प्रशासनमा दर्तै हुँदैनन् । अधिकांश बलात्कारीले एक दिन पनि जेल जानुपर्दैन । यसबाट प्रस्ट हुन्छ, संसारको कुनै कुनो महिलाका लागि सुरक्षित छैन । के यी तथ्यांकले आफैँमा आधुनिक समाजलाई गिज्याउँदैनन् र ? 

अर्जेन्टिनाको नारीवादी आन्दोलन शताब्दीकै सबैभन्दा ठूलो आन्दोलन थियो, जसले प्रत्यक्ष रूपमा लैंगिक  हिंसासँग सरोकार राखेको थियो । यसलाई ‘फोर्थ वेभ’ नारीवादी आन्दोलनका रूपमा हेरिन्छ । ‘नी उना मेनस’ आन्दोलन उरुग्वे, पेरू र चिली सबैतिर पुग्यो । १३ अगस्टमा पेरूको राजधानीमा हजारौँहजारले ¥याली निकाले । पेरूको पत्रिका ‘ला रिपब्लिका’का अनुसार यो पेरूको इतिहासकै सबैभन्दा विशाल प्रदर्शन थियो ।

त्यसो त मेक्सिकोको फेमिसाइड अझै रोकिएको छैन । मेक्सिकन नारी अभियन्ता तथा लेखक प्रिसिला म्याड्रिड भ्यालेरो लेख्छिन्, ‘मेक्सिकोको दशकौँदेखिको नारीसंहार र राज्यको कानुनी उदासीनता देखेर मेक्सिकन महिला निरास छन् । ९० प्रतिशत फेमिसाइडका हत्यारालाई कानुनी कारबाही हुँदैन ।’ यसको ताजा उदाहरण हो– आफ्नै पार्टनरद्वारा हत्या गरिएकी इन्ग्रिड एस्कामिलाको न्यायका लागि मेक्सिकन महिलाले ‘जस्टिसिया पाराइन्ग्रिड’ नामको विशाल प्रदर्शन । यस्ता प्रदर्शन यतिमै रोकिनेवाला भने छैनन् । लाखौँ महिला, अधिकार र सामाजिक न्यायका लागि ‘नी उना मेनस’ ‘नट वनलेस ओमन’ ‘जस्टिसिया पाराइन्ग्रिड’जस्ता ह्यासट्यागसहित दक्षिण अमेरिकाभर सडक तताइरहेका छन् ।
मेक्सिकोमा हाल ‘हामीविनाको एक दिन’ नाराका साथ यही मार्च ९ मा ठूलो र भव्य आन्दोलन चलाइयो । त्यस दिन मेक्सिकन महिलाले इन्टरनेट नचलाउने, कार्यालय नजाने र घरबाहिर ननिस्कने आन्दोलनको रूपरेखा कोरेका थिए । भ्यालेरोका अनुसार नारीले प्रदर्शन गरेको नरुचाउने सत्ताले नारीको मौनतालाई नै सुनोेस् भनेर यसो गरिएको थियो । यो सांकेतिक विरोधको एउटा विशाल क्यानभास थियो । 

यो दशक महिलाहिंसाविरुद्धको दशक  
यो दशकमा सबैभन्दा विशाल प्रदर्शन नारीहिंसाविरुद्ध केद्रित भए । यीमध्ये पनि सबैभन्दा विशाल अभियान अर्जेन्टिनाबाट सुरु भएको ‘नी उना मेनस’ नै थियो । ११ मे २०१५मा १४ वर्षीया किशोरी सियारा पाजको उनकै साथी भनाउँदोले पाशविक हत्या गर्‍यो । घटनालगत्तै ‘नी उना मेनस’ भन्ने ह्यासट्याग सिंगोे अर्जेन्टिनाभरि भाइरल बन्यो । स्पेनिस टर्म ‘नी उना मेनस’को खास अर्थ थियो– ‘कुनै महिलालाई यस्तो नगरियोस् !’ ‘नी उना मेनस’लाई मुख्य नारा बनाएर  विशाल प्रदर्शन गरिए । जुन ३मा ब्युनर्स आर्यसको प्रदर्शनमा मात्र दुई लाखभन्दा बढी सहभागी भए । त्यसै दिन अर्काे पनि ह्यासट्याग ‘भिभासनोस क्यारेमस’ अर्थात् ‘हामी जिउँदै रहन चाहन्छौँ’ भन्ने मुख्य नारा घन्काउँदै सिंगो अर्जेन्टिनाभरि व्यापक प्रदर्शन गरियो । 

 

यो नारीवादी आन्दोलन शताब्दीकै सबैभन्दा ठूलो आन्दोलन थियो, जसले प्रत्यक्ष रूपमा लैंगिक हिंसासँग सरोकार राखेको थियो । यसलाई तल्लो स्तरबाट गरिएको ‘फोर्थ वेभ’ नारीवादी आन्दोलनका रूपमा पनि हेरिन्छ । लैंगिक हिंसाविरुद्धको यो आन्दोलनमा महिला–पुरुष, अधिकारकर्मी, लेखक–कलाकार र बौद्धिक तप्काको जोडदार समर्थन थियो । ‘नी उना मेनस’ उरुग्वे, पेरू र चिली सबैतिर पुग्यो । १३ अगस्टमा त पेरूको राजधानी लिमाको ‘प्यालेस अफ जस्टिक’अगाडि ‘नी उना मेनस’को ह्यासट्यागसहित हजारौँहजार पेरूभियनले र्‍याली निकाले । पेरूको पत्रिका ‘ला रिपब्लिका’का अनुसार यो पेरूको इतिहासकै सबैभन्दा विशाल प्रदर्शन थियो । 

 

सन् २०१६को अक्टोबरमा त ‘नी उना मेनस’ अर्काे स्तरमा पुगिसकेको थियो । मारडेल पार्टा भन्ने सहरमा १६ वर्षीया किशोरी लुसिया पेरेजको बलात्कारपछि हत्या गरियो । यसको विरोधमा ‘नी उना मेनस’का अभियन्ता र समर्थकले एकदमै फरक र प्रभावकारी ढंगले आमहडतालमार्फत विरोध जनाए । सबैले विरोधलाई सर्वव्यापी बनाए । पेरेजको बलात्कार र हत्या गरिएको दिनलाई ‘मिर्काेनेस नेग्रो’ अर्थात् ‘कालो बुधबार’को नाम दिइयो । अन्ततः अर्जेन्टिनाबाट सुुरु भएको ‘नी उना मेनस’ ढडेलो सल्किएजस्तै दक्षिण अमेरिकाभर सल्कियो । उरुग्वे, ग्वाटेमाला, एल साल्भाडोर, मेक्सिको, पाराग्वे, पेरू, बोलिभिया, चिलीजस्ता स्पेनिस भाषा बोलिने दक्षिण अमेरिकी मुलुकको कुनै पनि ठूला सहरका गल्ली यसबाट अछुता रहन सकेनन् । युरोपको स्पेनमा पनि यो प्रदर्शन आइपुग्यो । अन्ततः यसको एक हप्तापछि पोर्चुगिज भाषा बोलिने ब्राजिलको राजधानी रियो दी जेनेरियोमा समेत व्यापक प्रदर्शन भयो । यो कालो बुधबारका विरुद्ध महिलाले लेखेको जिउँदो इतिहास थियो ।  

८ मार्च २०१७मा ‘नी उना मेनस’ले युरोप र अमेरिकालगायत विश्वका अधिकांश चेतनशील र न्यायप्रेमीका मनमा दियो बाल्न सफल भयो । अमेरिकामा भएको प्रदर्शनका अगुवाले पनि प्रस्ट खुलाएका थिए कि उनीहरू पनि ‘नी उना मेनस’बाट प्रभावित थिए । त्यसो त ‘नी उना मेनस’ सन् २०१२मा भएको भारतको ‘जस्टिक फर निर्भया’बाट प्रभावित भएको मानिन्छ । भारतलाई महिलाका लागि संसारकै एउटा असुरक्षित मुलुकको रूपमा लिइन्छ भनिरहनुपर्दैन । त्यहाँ एकतिहाइ विवाहित महिला हिंसाको सिकार हुने गर्छन् भने दुईतिहाइ बलात्कारका घटना कानुनी दायरामा आउनै सक्दैनन् ।

प्रत्येक वर्ष १० लाख बालिकाको भ्रूण हत्या गरिन्छ । यी तमाम विभेदविरुद्ध भारतीय महिलाले पटक–पटक प्रदर्शन गर्दै आएका छन् । तर, ती प्रदर्शन बृहत् हुन सकेका थिएनन् । प्राध्यापक अल्का कुरियान लेख्छिन्, ‘सन् २०१२मा आततायी दिल्ली बलात्कार र हत्याको विरुद्ध गरिएको ‘जस्टिक फर निर्भया’को देशव्यापी प्रदर्शनलाई भारतीय महिला आन्दोलनकै कोसेढुंगा मानिन्छ । यही अभियानमा मुलुकले पहिलोपटक नारीशक्तिलाई देखेको थियो ।’

त्यसो त नेपालको ‘निर्मलाका लागि न्याय’ले पीडितलाई न्याय दिलायो या दिलाएन, तर यो अभियान पनि विश्वको चौथो चरणको नारीवादी आन्दोलनकै हिस्सामा दर्ज भइसकेको छ । यति मात्र होइन, अमेरिकाबाट सुरु भएको ‘मी टू’ यो दशककै अर्को व्यापक नारीवादी आन्दोलन थियो । यसका बाछिटा नेपालसम्म नपुग्ने कुरै थिएन । यी सबै चौथो चरणको नारीवादका मानक हुन् ।

अहिले हामी चौथो चरणको नारीवादमा छौँ 
सन् २००९मै नारीवादी लेखिका जेसिका भ्यालेटीले लेखिसकेकी थिइन्, ‘सायद चौथो चरणको नारीवाद मुखैमा आइसकेको छ ।’ अहिले यो चरणका विशिष्ट मानक देखिसकिएका छन् ।’ यसअघिका नारीवादी अभियान मुख्यतया सम्भ्रान्त वर्गका महिलामा सीमित थियो भने मुद्दा मुख्यतः नारी अधिकारकेन्द्रित थिए । तर, ठीकउल्टो अहिलेको अभियानमा विशेषतः कामकाजी, निम्न तथा मध्यमवर्गीय महिला छन् र तिनका एजेन्डा पनि व्यापक छन् ।

मेक्सिकोको सिउडाड जुवारेजमा हुल्लडबाज पुरुष समूहको एउटै उद्देश्य हुन्छ, एक्लै–दुक्लै भेटिएका जुनसुकै महिलालाई कुट्ने, पिट्ने, बलात्कार गर्ने, सरसामान लुटपाट गर्ने र मारिदिने । कतिपय घटनामा केही गर्नु नपरे पनि मार्नका लागि मारिदिने र सुनसान इलाकामा लगेर लासलाई छाडिदिने गर्छन् ता कि लास आफैँ सडोस् ।

उदाहरणका लागि साहिनबागका निम्न वर्गका कामकाजी महिलालाई लिन सकिन्छ । त्यहाँ आन्दोलनको नेतृत्व महिलाले लिएका छन् । प्रदर्शनमा स्कुले किशोरीदेखि ९० वर्षका हजुरआमासमेत छन् । यो अधिकारका लागि मुस्लिम महिलाले भारतजस्तो पितृसत्ताले गाँजेको मुलुकमा गरिएको ऐतिहासिक आन्दोलन हो । तिनको आन्दोलन शिष्ट छ । उनीहरू

र्‍याली निकाल्छन्, शान्तिपूर्वक धर्ना दिन्छन्, गानाबजाना गर्छन् र पुस्तक पढ्छन् । मुख्यतया ज्यालादारी काम गर्ने मुस्लिम नारीको यो प्रदर्शन साँच्चिकै रचनात्मक र सिर्जनशील छ । तिनको आन्दोलन नारी अधिकारमा मात्रै केन्द्रित छैन । मूलतः उनीहरू राजनीतिक वृत्तबाट आफ्नो अधिकारको वकालत गरिरहेका छन्, जसले आमनागरिकको अधिकारलाई समेटेको छ । साहिनबागको प्रदर्शनलाई विश्वले अहिले चौथो चरणको नारीवादी आन्दोलनकै एउटा पाटोका रूपमा अथ्र्याएको छ । 

 

सामाजिक सञ्जाल र इन्टरनेटका कारण पनि यो चौथो चरणको नारीवाद विश्वको हरेक कुनामा एकैपटक जोडिन पुगेको छ । अहिले एक ठाउँको नारी आन्दोलन सजिलै राजनीतिक सीमालाई नाघेर अर्को मुलुकमा पुग्ने गरेको छ । गएको ९ जनवरीमा कलकत्तामा चिलीको नारीवादी गीत ‘बाटोमा बलात्कारी छ’लाई बांग्ला भाषामा प्रस्तुत गरियो, यो त्यसैको परावर्तन थियो । यो गीत प्रहरी, प्रशासन, न्यायालय र सरकारले बेवास्ता गरिरहेको महिला हिंसाविरुद्ध बनाइएको हो । यो गीत पहिलोपटक गत नोभेम्बरमा स्यान्टियागोमा प्रस्तुत गरिएको थियो । तर, छोटो अवधिमै यो विश्वका हरेक कुनामा पुगिसकेको छ ।

अहिलेकोे नारीवाद सामाजिक न्याय र लैंगिक समानताका लागि विश्वको हरेक वर्ग, क्षेत्र र भूगोलको कुनाबाट जुर्मुराइरहेको छ । जनवरी २०१९मा झन्डै ९० मुलुकमा समान ज्याला, प्रजनन अधिकार र लैंगिक हिंसा अन्त्यको माग राख्दै नारीहरू एकैपटक प्रदर्शनमा उत्रिएका थिए । त्यस्तै, लेवनान, सुडान, ब्राजिल, कोलम्बिया र इराकमा भएका अन्य राजनीतिक प्रदर्शनको अग्रमोर्चामा समेत महिला छन् । 

अघिल्ला तीन चरणका नारीवादको निश्चित परिभाषा छैन । किनकि विश्वस्तरमा तिनको एकरूपता पाइँदैन । तर, अहिलेको नारीवादी आन्दोलन धेरै अर्थमा अघिल्ला तीनभन्दा विशिष्ट छ । यो अभियान विश्वव्यापी त छँदै छ, नारीवादी अभियन्ताले यो पनि बुझेका छन् कि अन्य वर्ग, समुदाय र सीमान्तीकृतमाथि उत्पीडन भइरह्यो भने महिला मात्रैको मुक्तिको अर्थ हुँदैन । किनभने हामीले खोजेको समानता र न्याय नै हो । साहिनबागको प्रदर्शनले भन्छ– महिलाहरू नारी अधिकारका लागि मात्र लड्दैनन्, सिंगोे मानव अधिकारका लागि लड्छन् । उनीहरू सबै किसिमका विभेद, अन्याय र दमनविरुद्ध लड्छन् । ग्रेटा थनबर्गको अभियानले भन्छ– अहिलेका किशोरी सिंगोे पृथ्वीका लागि लड्छन्, पर्यावरणका लागि लड्छन् । त्यसैले क्यानेडियन लेखक रुथ फिलिप भन्छिन्, ‘यो चौथो चरणको नारीवादका आर्थिक, राजनीतिक र पर्यावरणीय एजेन्डा पनि छन् । यो बहुआयामिक छ ।’

जे भए पनि यो नारीवाद महिलाहिंसाविरुद्धको लडाइँबाट सुरु भएको हो । ब्रिटिस पत्रकार किरा कोचराने र प्राज्ञ प्रुडेन्स च्याम्बरलिन लेख्छन्, ‘चौथो चरणको नारीवाद नारी न्यायका लागि हो, यौन दुव्र्यवहार र महिलाहिंसाविरुद्ध हो, कार्यस्थलमा हुने दुव्र्यवहारविरुद्ध हो र यो बलात्कार संस्कृतिविरुद्ध हो ।’ पहिलो चरणको नारीवादले हाम्रा हजुरआमाहरूलाई मताधिकार दिलायो, दोस्रोले केही हदसम्म हाम्रा आमाहरूलाई शिक्षा दियो, तेस्रोले हाम्रा दिदीबहिनीलाई गतिलो सार्वजनिक श्रमशक्तिको रूपमा उभ्यायो । अहिलेको हाम्रो चौथो चरणको नारीवादी आन्दोलन निःसन्देह हाम्रा छोरीहरूको सुरक्षित भविष्यका लागि हो । हामीलाई थाहा छ, ग्वान्तानामोका मात्र होइन संसारकै श्रमजीवी नारी विशिष्ट छन्, भव्य छन् र सम्मानका हकदार छन् ।